`

दिल्लीतिर नेताहरूको लर्को, के पाक्दै छ दिल्ली दरबारमा ?

Nepal One HD २२ पुष २०८२ १५:०६
समाचार

काठमाडौं । नेपालमा राजनीतिक उथलपुथल भइरहँदा नेताहरुको दिल्ली दौडाहा स्वाभाविक भन्दा धेरै नै देखिन्थ्यो । यसपटकको जेन-जी विद्रोहमा भने यस्तो दृश्य देखिएन । विद्रोह भएर अन्तरिम चुनावी सरकार बनेको महिनौंसम्म नेताहरुको भारत आउजाउ देखिएको थिएन ।

पुस पहिलो साता पूर्वप्रधानमन्त्री डा. भट्टराईले यो क्रम तोडे । पुस ६ मा भारत पुग्दा डा. भट्टराई जेन–जी विद्रोहपछि भारत भ्रमण गर्ने उच्च तहका पहिलो नेता बनेका थिए ।

घरेलु राजनीतिको यो अस्पष्ट चित्रबीच भट्टराई भारत भ्रमणमा जानु अर्थपूर्ण थियो । उनको सचिवालयका अनुसार डा. भट्टराईले मुम्बइमा टेक फेस्ट र नयाँ दिल्लीमा इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रमलाई सम्बोधन गर्ने औपचारिक कार्यक्रम मात्रै थियो । तर, ९ पुसमा फर्किएका भट्टराईले नेपालका लागि पूर्व भारतीय राजदूतहरू र भारतीय उच्च अधिकारीहरूसँग छलफल गरेका थिए ।

भट्टराईले खोलेको बाटो पछ्याउँदै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक प्रचण्ड २० पुसमा दिल्ली उडे । उड्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको संवाद भयो ।

उनको त्यो एकल भेट करिब डेढ वर्षपछि थियो । १७ जेठ २०८१ मा कांग्रेस–एमालेबीच सात बुँदे समझदारी भएर त्यसकै जगमा सोही महिनाको अन्तिममा ओली सरकार बन्यो । त्यसबेला ओलीले जाँदा सँगै स्वर्ग जाने हो, सत्ता सहकार्य जारी रहन्छ भन्दै ढाँटेको भन्दै दाहाल निकै रुष्ट थिए । त्यसपछि दाहाल ओली भेट्न गएका थिएनन् ।

दिल्ली पुगेको साँझ प्रचण्ड ताजमानसिंह होटलमा बसे, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरे । त्यसपछि नेपाली मिडियाहरूमा प्रचण्डलाई डोभालले भने– ‘निर्वाचनमा जानुहोस्’ भन्दै समाचार प्रकाशन भयो ।

दाहालको सचिवालयले त्यसबेला भ्रमण उद्देश्य नेकपा निकट नेपाली–भारत समाजको कार्यक्रममा सम्बोधन गर्ने भनेको थियो । तर, उनले मोदीको दूतकै रूपमा डोभललाई भेटे, जसले नेपालमा चुनाव भारतको चाहना भनेर सन्देश दिए । यसले भारतको संस्थापन पक्ष नेपालमा निर्वाचन चाहन्छ भन्‍ने प्रष्टिन्छ ।

तर, प्रचण्ड नेपाल नओर्लिँदै कांग्रेस सभापति शेरबहादुर देउवा पत्‍नी डा. आरजु राणा पनि दिल्ली हुुइँकिइन् । उनी पूर्वपरराष्ट्रमन्त्री हुन् । परराष्ट्रमन्त्री हुँदा उनी तत्कालीन प्रधानमन्त्री ओलीको भारत भ्रमण प्रयासरत रहिन् तर सफल भइनन् । जेन–जी विद्रोहमा विद्रोहीहरूको उनी पति शेरबहादुर देउवासँगै निशानामा परिन् ।

उनै डा. आरजु पनि नेकपानिकट नेपाल–भारत समाजकै कार्यक्रम सम्बोधन गर्न भन्दै दिल्ली उडेकी हुन् । उपचारका लागि पनि त्यहाँ गएको भनिएको छ । उनी स्वदेश फर्किएकी छैनन् । तर, उनी देउवाको दूतका रूपमा त्यहाँ गएको बुझिएको छ ।

उनीभन्दा एकदिन अघि यही २० पुसमै प्रधानमन्त्री सुशीला कार्कीकी पति दुर्गा सुवेदी पनि उपचारका लागि भन्दै भारत गए । भारतमा छँदा उनले उपचारसँगै सुटुक्क राजनीतिक भेटवार्ता गर्ने कतिपयको अनुमान छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले पनि यही बिहीबार भारत जाँदैछन् । उनले पनि प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने भएका छन् ।

जेन-जी विद्रोहपछि नेपालबारे पर्ख र हेरको नीतिमा रहेको भारतमा अचानक नेपाली नेताहरुको लर्को लागेपछि प्रश्‍न सिर्जना भएको छ– के पाक्दै छ दिल्ली दरबारमा ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *