कांग्रेस–एमालेको भागबण्डामा चित्त बुझाएन नेकपाले, एक्लै उत्रिँदै चुनावी मैदानमा
काठमाडौं । १८ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कांग्रेस–एमालेको भागबण्डामा गम्भीर असहमति जनाएको छ ।
कांग्रेस–एमालेले नेकपालाई तीन सिट दिएको थियो । त्यसमा नेकपाले सहमति जनाएन । यससँगै नेकपा पूर्ववत् सहमति तोड्दै चार दलीय गठबन्धनबाट बाहिरिएको छ ।
नेकपा नेता हरिबोल गजुरेलले नेपालवान एचडीसँग कुरा गर्दै मतभारको आधारमा सिट बाँडफाँट गरौँ भन्दा कांग्रेस–एमालेले अस्वीकार गरेको बताए । उनका अनुसार नेकपाले चार सिट मागेको थियो ।
‘हामीले चार सिट भन्यौँ, त्यो मतभारको आधारमा थियो तर त्यसमा कांग्रेस–एमाले सहमत भएनन्,’ उनले भने, ‘यससँगै अब सबै सिटमा उम्मेदवारी दिन निर्देशन आएको छ । त्यसअनुसार अघि बढ्छौँ ।’
गजुरेल नेकपाको कोशी इञ्चार्ज हुन् । उनले कोशीको तीन सिटमै उम्मेदवारी दर्ता गर्ने बताए ।
‘सिट बाँडफाँटमा कुरा नमिलेपछि हामी एक्लै निर्वाचन लड्छौँ र सोही अनुसार कोशीको सबै सिटमा उम्मेदवारी दिन हामीलाई निर्देशन आयो, त्यसै गर्छौँ,’ उनले भने ।
राष्ट्रिय सभा सदस्यमा कोशी र लुम्बिनी प्रदेशबाट ३–३ जना, मधेस प्रदेशबाट ४ जना, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना गरी १८ जना सदस्यका लागि निर्वाचन हुँदै छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा अहिले नेकपा सबैभन्दा ठूलो दल हो । यो दलको २७ जना सांसद छ । कांग्रेसका १६, एमालेका (राष्ट्रपतिबाट मनोनितसहित) ११, नेकपाका (राष्ट्रपतिबाट मनोनितसहित) २७, जसपाका ४ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।
तर, एक जना राष्ट्रपतिबाट मनोनीतसहित १९ जनाको पदावधि सकिन लागेको छ । उनीहरूको पदावधि सकिने आगामी २१ फागुनमा हो । त्यसरी कार्यकाल सकिन लागेका राष्ट्रिय सभाका सदस्यमा एमालेका ८, मनोनित वामदेम गौतमसहित नेकपाका ९ र जसपाका २ जना छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुन्छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ ।
एक्लाएक्लै चुनाव लड्दा कोशीमा एमाले र बाँकी ६ प्रदेशमा कांग्रेसको मतभार धेरै छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता बुधबार हुँदैछ ।
