कम्युनिस्टकाे जित शृङ्खलामा ब्रेक लगाउलान् हर्क साम्पाङले ?
काठमाडौं । प्रजातन्त्र पुनर्वहालीपछि भएको सातवटै संसदीय निर्वाचनमा सुनसरी– १ बाट कम्युनिस्ट र कम्युनिस्ट पार्टीको समर्थनप्राप्त उम्मेदवार मात्रै निर्वाचित भए ।
२०४८ मा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी सुनसरी–१ बाट निर्वाचित भए । २०५१ को मध्यावधि निर्वाचनमा त्यस क्षेत्रबाट एमालेकै लीला श्रेष्ठ सुब्बा विजयी भइन् ।
२०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेकै कुन्ता शर्माले चुनाव जितिन् । २०६४ मा भएको संविधानसभा निर्वाचनमा नेकपा माओवादीका नेता किरणकुमार राई निर्वाचित भए । २०७० को संविधानसभा निर्वाचनमा कृष्णकुमार राईले एमालेको विरासत फर्काए ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा फेरि एमालेकै जयकुमार राई र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेकै समर्थनमा पूर्वएमाले नेता तथा जसपा नेता अशोककुमार राई निर्वाचित भए ।
निर्वाचनको यो परिणामले भन्छ– सुनसरी– १ कम्युनिस्ट लालकिल्ला हो । त्यहाँ कम्युनिस्ट अजेय रह्यो । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता गैरकम्युनिस्ट दलले त्यस क्षेत्रमा धावासमेत बोल्न सकेनन् ।
यस्तोमा बुधबार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले त्यही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरे । उनले सामाजिक सञ्जाल फेसबुकमा बुधबार लेखे, ‘म सुनसरी क्षेत्र नम्बर– १ बाटै प्रतिनिधिसभाको निर्वाचन लड्ने छु । जय माटो, जय देश ।’
उनी हाल धरान उपमहानगरपालिकाका प्रमुख छन् । स्वतन्त्रबाट प्रमुख निर्वाचित साम्पाङले दलीय राजनीति थालेका छन् ।
विगतमा दलका नेता कार्यकर्तालाई उनी ‘झोले’ भन्दै तुच्छ गाली गर्थे । यतिबेला उनी आफैं दल र दलीय संरचनामा रहेर संसदीय राजनीति गर्न तयार भए । त्यसका लागि उनले कम्युनिस्ट थलोबाटै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नै घोषणा गरे ।
उनी निर्वाचन प्रचारका लागि देश दौडाहामा छन् । खासगरी उनले कोशीको पहाडी र तराई क्षेत्रमा आक्रमक चुनावी प्रचार गरेका छन् । उनले हर्कवादलाई अघि सार्दै समृद्ध र विकसित देश श्रमबाट मात्रै हुने विचार अघि सारेका छन् ।
उनले निर्वाचनको मैदानमा छँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र तीनका सभापति रवि लामिछाने, वरिष्ठ उपसभापति कुलमान घिसिङ र वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई निसाना बनाइरहेका छन् ।
रविलाई सहकारी ठगी, कुलमानलाई एमसीसीको मतियार र बालेनलाई जेन–जी विद्रोह गराएर नवयुवाको ज्यान लिएको जस्ता गम्भीर आरोप लगाउँदै आएका छन् ।
तर, निर्वाचन घोषणा गरेको क्षेत्र कम्युनिस्ट लालकिल्ला भएकोले त्यहाँबाट विजयी हुन उनलाई त्यति सहज भने छैन ।
