मैले अहिलेसम्म चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् ।
बुधवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताए । आफूले निर्वाचनमा उठनका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यमहरुले झुटो समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गरे ।
उनले भने, ‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठने वा नउठने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु–म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन । वार्ता वा छलफल गरेको छैन । आउछु पनि भनेको छैन । जान्छु भनेको छैन । मैले केही पनि भनेको छैन ।’
उनले भने, ‘मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ । आजको दिन यो मितिसम्म म कुनै पनि पार्टीमा गएको पनि छैन । चुनाव उठछु वा उठ्दिन केही पनि भनेको छैन । तर समाचार अलिकति फरक ढंगले आईरहेको छ । त्यसप्रति मेरो आपत्ति केही पनि छैन । तर सही समाचार चाहीँ आज म तपाईहरुमार्फत भन्छु–मैले चुनाव उठने अथवा नउठने निर्णय गरेको छैन ।’ मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएकाले संवेदनशील भएर सही समाचार मात्रै सम्प्रेषण गर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे ।
