देउवा, ओली र उपेन्द्रको काँध चढेर राष्ट्रियसभा उक्लिँदै ८३ वर्षे महन्थ
काठमाडौं । नेपाली राजनीतिमा मधेशका सर्वोच्च नेता हुन्– महन्थ ठाकुर । उनीभन्दा अग्ला कदका नेता मधेशबाट कोही छैनन् । उनी संसदीय राजनीतिका चतुर खेलाडी मानिन्छन् । उमेरले ८३ वर्षे भइसके ।
बुढ्यौलीले उनको एकातिर शरीर शिथिल हुँदै छ, अर्कातिर राजनीतिमा थप कमजोर हुँदैछन् । सत्ता राजनीतिबाट किनारा लाग्दैछन् । एकताका उनी सत्ता राजनीतिमा निकै प्रभावशाली नेता थिए ।
उनै ठाकुरले अब संसदीय राजनीति प्रतिनिधिसभामा होइन, राष्ट्रियसभामा गर्ने भएका छन् । राष्ट्रियसभा जाने ठाकुरको निर्णयलाई कतिपयले राजनीतिबाट ‘सम्मानजनक अवकास’को रूपमा व्याख्या गरेका छन् ।
प्रत्यक्ष जनादेश प्राप्तिको कठोर प्रतिस्पर्धाभन्दा माथिल्लो सदन सुरक्षित विकल्प मानिन्छ । त्यही भएर ठाकुरले उपेन्द्र यादवसँग साढे तीन वर्षपछि हात मिलाए । ठाकुरका लागि यो बाध्यात्मक कदम भएको विश्लेषकहरू बताउँछन् ।
राजनीतिक रूपमा उपेन्द्र यादव आज पनि मधेशकेन्द्रित राजनीतिमा निर्णायक खेलाडी मानिन्छन् ।
त्यही यथार्थ स्वीकार गर्दै ठाकुरले विगतका असमझदारी बिर्सेर उपेन्द्रको सहारा लिएको देखिन्छ । यसले मधेशी राजनीतिमा पुराना घाउ पुरिँदै छन् कि नयाँ सम्झौताको बाटो खुल्दै छ ? प्रश्न उठाएको छ ।
तर, ठाकुरको राष्ट्रियसभा प्रवेशले लोसपाको भविष्य भने अझै अन्योलमै छ । पार्टीभित्र नयाँ नेतृत्व तयार नहुँदा ठाकुरपछिको राजनीतिक उत्तराधिकारी कसले सम्हाल्ने भन्ने प्रश्न उठेको छ ।
मधेश राजनीतिमा नयाँ पुस्ताको उदय भइरहेका बेला महन्थ ठाकुरको यो कदमलाई धेरैले अन्तिम राजनीतिक दाउका रूपमा हेरेका छन् ।
त्यसैले अब हेर्न बाँकी छ— राष्ट्रियसभामा पुगेपछि ठाकुरले मधेशका मुद्दालाई पुनः केन्द्रीय बहसमा ल्याउन सक्छन् कि उनी राजनीतिको सम्मानजनक अन्त्यतर्फ अघि बढ्नेछन् ?
उनीसँग ३० वर्ष बढी कांग्रेस राजनीति गरेको अनुभव छ । जतिबेला मधेश आन्दोलन भयो, त्यसबेला उनले कांग्रेस त्यागे ।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेर मधेश आन्दोलनमा होमिए । २०७४ मा मधेशका ६ वटा दल मिलेर राजपा गठन हुँदा नेतृत्वमा रहे । पछि संघीय समाजवादी फोरमसँग एकता गरेर जनता समाजवादी पार्टीको शीर्ष नेतृत्व रहे ।
यसबीच उपेन्द्रसँग सत्ता राजनीतिमा उनको मतभेद भयो । अन्ततः लोकतान्त्रिक समाजवादी दल गठन गरे । २०७९ मा प्रतिनिधिसभा निर्वाचन लड्यो । चार सिट जित्यो । सत्ता राजनीतिमा प्रभाव कमजोर भयो ।
यस्तो अवस्थामा उनले सुरक्षित सदन मानिने राष्ट्रियसभा रोजेका हुन् । ठूला दुई दल कांग्रेस र एमालेले समर्थन गर्ने हुँदा ठाकुर जसपाबाट राष्ट्रियसभा निश्चितजस्तै छ ।
