`

खुमलटारमा सञ्जय दत्त–प्रचण्ड भेट, फिल्मदेखि नेपाल बसाइसम्म खुले संवाद

Nepal One HD २५ पुष २०८२ १५:०९
चलचित्र

काठमाडौं । नेपाल भ्रमणमा आएका बलिउड अभिनेता सञ्जय दत्तले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारस्थित निवासमा भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न निजी जेटमार्फत दुबईबाट काठमाडौं अवतरण गरेका दत्त नेपाल आइपुग्ना साथ प्रचण्डलाई भेट्न पुगेका थिए ।

भेटका क्रममा करिब आधा घण्टा समसामयिक विषय, आपसी चासो र सांस्कृतिक आदान–प्रदानबारे कुराकानी भएको बताइएको छ । यसअघि प्रचण्डकी नातिनी स्मिताको विवाहमा उपस्थित हुन नसकेका दत्तले चाँडै नेपाल आउने वाचा गरेका थिए, जुन वाचा यस पटक पूरा भएको बताइन्छ ।

भेटपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत सञ्जय दत्तसँगको तस्वीर सार्वजनिक गर्दै भेटलाई ‘अविस्मरणीय’ बताएका छन् । उनले ‘मुन्ना भाइ एमबीबीएस’ लगायतका फिल्ममा दत्तको अभिनयप्रति आफू सधैं प्रशंसक रहेको उल्लेख गर्दै कुराकानी रमाइलो भएको र नेपाल बसाइ सुखद रहोस् भन्ने कामना गरेका छन् । अभिनेता दत्त ठमेलस्थित होटल बाराहीले सञ्चालनमा ल्याएको ‘बादशाह क्यासिनो’ को उद्घाटनका लागि नेपाल आएका हुन् ।

उनले काठमाडौंमा आयोजित समारोहमा क्यासिनोको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमपछि उनले पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा–अर्चना समेत गरेका छन् । कडा सुरक्षाबीच गरिएको दर्शनलाई लिएर भक्तजनको विशेष ध्यान आकर्षित भएको थियो । निर्धारित कार्यक्रम पूरा गरेपछि दत्त शुक्रबार नै भारत फर्किने बताइएको छ । छोटो भए पनि व्यस्त तालिकासहितको नेपाल बसाइमा राजनीतिक भेट, धार्मिक दर्शन र व्यावसायिक कार्यक्रममा सहभागी भएर सञ्जय दत्तले नेपालप्रतिको आत्मीयता देखाएको चर्चा भइरहेको छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *