वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल
काठमाडौँ, २५ पुस : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता एवं आर्थिक सङ्कटको समाधानका लागि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा उहाँले संसद् पुनःस्थापनाको पछाडि लाग्न नहुने र सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर भयरहित वातावरणमा चुनाव गराउन सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
कम्युनिष्ट शक्तिबीच एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले वैचारिक दृष्टिकोण निकट रहेका वाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको प्रष्ट पार्नुभयो ।
उहाँले मुलुकमा राष्ट्रिय स्वाधीनताको रक्षा, देश विकास तथा जनताको पक्षमा कम्युनिष्टले काम गर्न सक्ने भएकाले उनीहरूलाई एकताबद्ध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पार्टी सहसंयोजक माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गरी जनताको समृद्धिका निम्ति आफ्नो पार्टी प्रतिबद्ध रहेकाले अहिले देशभर नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा तथा विश्वास बढेको बताउनुभयो ।
पार्टीका नेता नारायणकाजी श्रेष्ठले विचार, सिद्धान्त मिलेका दलहरू एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने जानकारी दिनुभयो । सो कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूमा गिरिराज केसी, ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्व मेयर, घोराही नगरपालिका), आर.डी. यादव, पिताम्बर आचार्यलगायत हुनुहुन्छ ।
