‘अशान्त’ इरान : सडकमा राजतन्त्रको नारासहित विद्रोह, सत्तामा संकट
काठमाडौं । इरानमा पछिल्ला दिनहरूमा सरकारविरोधी आन्दोलनले अभूतपूर्व रूप लिँदै देशव्यापी संकटको संकेत दिएको छ । राजधानी तेहरानबाट सुरु भएको आन्दोलन १३ दिनदेखि निरन्तर जारी रहँदै ३१ वटै प्रान्तका १०० भन्दा बढी सहर र नगरसम्म फैलिएको छ । आर्थिक संकटबाट चुलिएको जनआक्रोशले अब राजनीतिक स्वरूप लिँदै इस्लामिक गणतन्त्रको भविष्य नै प्रश्नको घेरामा पारेको देखिन्छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार प्रदर्शनका क्रममा तेहरानका घोलहक र सादत अबाद क्षेत्रका थुप्रै भवनमा आगलागी भएका छन् । बीबीसी फारसीले प्रमाणित गरेको भिडियो फुटेजमा ती क्षेत्रमा ठूलो आगो लागेको दृश्य देखिन्छ । मानवअधिकार समूहहरूको दाबी अनुसार, आन्दोलनका क्रममा हालसम्म कम्तीमा ४८ जना प्रदर्शनकारी र १४ जना सुरक्षाकर्मी मारिएका छन् । अवस्थाको गम्भीरताका कारण सरकारले देशभर इन्टरनेट सेवा बन्द गरेको छ ।

आर्थिक संकटबाट राजनीतिक विद्रोहसम्म
यी प्रदर्शनको मूल कारण इरानको गहिरिँदो आर्थिक संकट हो । डिसेम्बर २०२५ मा इरानी मुद्रा रियाल प्रति अमेरिकी डलर करिब १४ लाख ५० हजारसम्म झरेको थियो, जुन ऐतिहासिक न्यूनस्तर हो । वर्षको सुरुदेखि नै रियालको मूल्य लगभग आधा घटिसकेको छ । खाद्यान्नको मूल्य ७२ प्रतिशत र औषधिको मूल्य ५० प्रतिशतले बढेको छ । यसैबीच सरकारले २०२६ को बजेटमा प्रस्ताव गरेको ६२ प्रतिशत कर वृद्धिले जनआक्रोशलाई थप चर्काएको छ ।
सुरुमा आर्थिक मागमा केन्द्रित आन्दोलन अहिले राजनीतिक नारामा परिणत भएको छ । प्रदर्शनकारीहरू इस्लामिक गणतन्त्रको अन्त्य र केही समूहले राजतन्त्र पुनर्स्थापनाको माग गर्न थालेका छन् । सडकमा ‘शाह फर्काऊ’ र ‘खामेनी मुर्दावाद’ जस्ता नारा गुञ्जिन थालेका छन् ।
खामेनीको कडा चेतावनी
देशव्यापी आन्दोलन चर्किदै जाँदा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकारी टेलिभिजनमार्फत प्रशारित भाषणमा उनले आन्दोलनलाई ‘विदेशी षड्यन्त्र’ को संज्ञा दिँदै प्रदर्शनकारीहरूलाई ‘दंगालु र बदमाशहरूको झुण्ड’ भने । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुशी पार्न केही समूहले देशमा अराजकता फैलाइरहेका छन् ।

खामेनीले ट्रम्पलाई इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै भने, ‘इस्लामिक गणतन्त्र लाखौं महान व्यक्तिहरूको रगतले स्थापना भएको हो । यसलाई नष्ट गर्न चाहनेहरूका अगाडि हामी कहिल्यै झुक्ने छैनौं ।’
ट्रम्पको दाबी र विवाद
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानी प्रदर्शनकारीप्रति खुला समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै इरानको दोस्रो ठूलो सहर मशहद प्रदर्शनकारीहरूको नियन्त्रणमा पुगेको दाबी गरेका छन् । ट्रम्पका अनुसार ‘१०श लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् र सरकारी सुरक्षा बलहरूले सहर छाडेका छन् ।’
तर ट्रम्पको यो दाबी हालसम्म कुनै पनि विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चार माध्यम वा स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन । मशहद पूर्ण रूपमा प्रदर्शनकारीको नियन्त्रणमा पुगेको वा सुरक्षा बलले सहर त्यागेको प्रमाणित रिपोर्ट सार्वजनिक भएको छैन । करिब चार लाख जनसंख्या भएको मशहद इरानको सबैभन्दा ठूलो धार्मिक सहर हो, जहाँ शिया मुस्लिमहरूको प्रमुख तीर्थस्थल इमाम रेजाको पवित्र मन्दिर अवस्थित छ ।
उडान रद्द, देश आंशिक रूपमा ठप्प
अस्थिर अवस्थाको असर हवाई सेवामा पनि परेको छ । टर्कीको राजधानी इस्तानबुलबाट तेहरान जाने उडानहरू रद्द गरिएका छन् भने तब्रिज र इस्फहानतर्फका केही उडानहरू डाइभर्ट गरिएको बीबीसी फारसीले जनाएको छ । यात्रुहरूलाई अवतरण अनुमति नदिइएको गुनासो समेत सार्वजनिक भएका छन् ।
निर्वासित राजकुमार र आन्दोलन
आन्दोलन चर्किनुमा इरानका अन्तिम शाहका छोरा निर्वासित राजकुमार रजा पहलवीको भूमिकालाई पनि महत्वपूर्ण मानिएको छ । अमेरिकामा बसोबास गरिरहेका पहलवीले सामाजिक सञ्जालमार्फत इरानी जनतालाई सडकमा उत्रन आह्वान गरेपछि प्रदर्शन अझ तीव्र बनेको बताइन्छ । उनले आफू लोकतन्त्रको पक्षमा रहेको दाबी गर्दै सरकार ढलेमा अन्तरिम व्यवस्थामा सहयोग गर्न तयार रहेको संकेत दिएका छन् ।

तर पहलवीको पुनरागमनलाई लिएर इरानी समाज विभाजित छ । समर्थकहरूले उनलाई वैकल्पिक नेतृत्वको रूपमा हेरेका छन् भने आलोचकहरूले उनका बुबाको शासनकालमा भएका मानवअधिकार उल्लंघन र ‘सावाक’ नामक गुप्तचर संस्थाको दमनकारी इतिहास स्मरण गराउँछन् ।
अनिश्चित भविष्य
१९७९ को इस्लामिक क्रान्तिपछि स्थापित व्यवस्था ४ दशकभन्दा बढी समयदेखि कायम छ । अयातोल्लाह रुहोल्लाह खोमेनीपछि ३७ वर्षदेखि सत्तामा रहेका खामेनीका लागि अहिलेको आन्दोलन सबैभन्दा ठूलो चुनौती बनेको छ । आर्थिक संकट, जनआक्रोश, विदेशी हस्तक्षेपको आरोप र राजतन्त्रको नारा–यी सबैले इरानलाई ऐतिहासिक मोडतर्फ धकेलिरहेको विश्लेषकहरू बताउँछन् । स्थिति कहाँ पुगेर रोकिन्छ भन्ने अझै स्पष्ट छैन । तर एक कुरा निश्चित छ–इरान अहिले केवल आन्दोलनको चरणमा होइन, सम्भावित राजनीतिक परिवर्तनको संघारमा उभिएको छ ।
