गृहमन्त्री गुरुङले सम्पति लुकाएको खुलासा,दिपक भट्टको कम्पनीमा भेटियो २५ हजार कित्ता सेयर
काठमाडौं। सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा अनुसन्धान भइरहेका व्यवसायी दीपक भट्ट र गृहमन्त्री सुधन गुरूङबीच घनिष्ठ व्यावसायिक साझेदारी रहेको खुलासा भएको छ।
भट्टकै प्रभावमा लाइसेन्स प्राप्त गरेको स्टार माइक्रो इन्स्योरेन्समा गृहमन्त्री गुरूङका २५ लाख रुपैयाँ बराबरका २५ हजार कित्ता सेयर रहेको खुलासा भएको हो।
तर,गृहमन्त्री गुरूङले यो सेयर आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छैनन्। कागजातअनुसार स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (दर्ता नं. ३०४६७०/०७९/८०) को सेयरधनी सूचीमा गुरूङ र भट्टबीच प्रत्यक्ष साझेदारी देखिन्छ।
संस्थापक सेयरधनीको ४९औँ नम्बरमा गोर्खा, चुमनुब्री-२ का स्थायी बासिन्दा तथा दिलबहादुर गुरुङका छोरा ‘सुधन गुरुङ’ नाम उल्लेख रहेको छ। ठेगाना तथा बुबाको नाम गृहमन्त्री गुरूङसँग मेल खाने भएकाले सो सेयर गृहमन्त्रीकै भएको पुष्टि हुन्छ । सेयर लगतमा नागरिकता नं. ११३७९ सहित २५ हजार कित्ता सेयर दर्ता भएका छन्।
त्यस्तै, कम्पनीको सञ्चालक समितिमा तेस्रो नम्बरमा प्रजुनी बज्राचार्यको नाम छ, जो व्यवसायी दीपक भट्टको इन्फिनिटी होल्डिङ्स की प्रतिनिधि हुन्।
तर गृहमन्त्री गुरूङले एक साताअघि सार्वजनिक गरेको सम्पत्ति विवरणमा यी २५ हजार कित्ता सेयरको कुनै उल्लेख छैन। उनले धितोपत्र बजारमा कारोबार भइरहेका सेयरका रूपमा २ करोड ७४ लाख रुपैयाँको सेयर मात्रै देखाएका थिए।
यसबीच सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथिको अनुसन्धान लगभग सकिएको बताइएको छ।
भट्टले भृकुटी स्टक ब्रोकर मार्फत उधारोमा सेयर खरिद गरेको आधारमा विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको थियो। यस्तै समयमा गृहमन्त्री गुरूङ भट्टकै विवादित कम्पनीमा सेयरधनी रहेको तथ्य बाहिर आएको हो।
गृहमन्त्रीको सम्पति विवरणको तस्वीर:



