`

गगन–विश्वलाई घनश्यामको शुभकामना : विशेष महाधिवेशनले ‘राजनीतिक मधुशाला’ भत्काओस्

Nepal One HD २६ पुष २०८२ ११:५६
प्रमुख खबर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले नेपाली कांग्रेसका युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले घोषणा गरेको विशेष महाधिवेशनलाई नेपाली राजनीतिका लागि अर्थपूर्ण पहलको रूपमा व्याख्या गर्दै सफलताको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै भुसालले नेपाली राजनीति लामो समयदेखि अन्तरपार्टी सिण्डिकेट र दलाल पुँजीवादको कब्जामा परेको आरोप लगाएका छन् । कांग्रेस र कम्युनिष्ट पार्टी नाम फरक भए पनि व्यवहारमा सत्ता र राज्य दोहनमा केन्द्रित एउटै ‘संयुक्त संयन्त्र’ जस्तो देखिएको उनको टिप्पणी छ ।

उनले नेपाली कांग्रेस कांग्रेसीहरूको र कम्युनिष्ट पार्टी कम्युनिष्टहरूको हुनुपर्ने मान्यता अघि सारेका छन् । तर यथार्थमा भने कांग्रेसभित्र कांग्रेसीभन्दा कम्युनिष्ट नेताहरूको स्वार्थ हाबी भएको र कम्युनिष्ट पार्टीहरू देउवा पक्षको प्रभावमा चलेको आरोप भुसालले गरेका छन् । ‘नेपाली कांग्रेस के गर्ने भन्ने कुरा ओली वा प्रचण्डको स्वार्थले निर्धारण गर्छ र कम्युनिष्ट पार्टीका नीतिमा देउवाजीको प्रभाव बढी देखिन्छ’, भुसालले लेखेका छन् ।

उनले कम्युनिष्ट र कांग्रेस नेताहरूबीच देखिने सतही झगडाभन्दा भित्रभित्रै हुने मिलेमतो नै नेपालको राजनीतिक संकटको जरो भएको दाबी गरेका छन् । आफ्नै पार्टीभित्र असहमतिलाई स्वीकार नगर्ने नेताहरू सत्ता र लाभ बाँडफाँटमा भने सजिलै एक ठाउँमा उभिने गरेको उनको भनाइ छ । यही प्रवृत्तिलाई उनले विगत २५ वर्षदेखि ‘दलाल पुँजीवाद’ भन्दै आएको उल्लेख गरेका छन् ।

भुसालले आफ्नो टिप्पणीमा कवि हरिवंश राय बच्चनको ‘मधुशाला’ कविताको प्रसंग समेत उठाउँदै नेपाली राजनीतिलाई मधुशालासँग तुलना गरेका छन् । कम्युनिष्ट र कांग्रेस नामका फरक धारका नेताहरूलाई बिचौलियातन्त्रले एउटै ठाउँमा राख्दै आएको उनको निष्कर्ष छ ।

गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भनिएको नेपाली कांग्रेसको विशेष महाधिवेशन संस्थापन पक्षले अस्वीकार गरिसकेको सन्दर्भमा भुसालको धारणा आएको हो । उनले यो महाधिवेशन कांग्रेसको आन्तरिक मामिला भए पनि त्यसले नेपाली राजनीतिको ‘मधुशाला’ भत्काउन सके वर्तमान राजनीतिक गतिरोध तोड्न ऐतिहासिक योगदान पुग्ने बताएका छन् ।

‘यदि यो विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई कांग्रेसीहरूको बनाउन सक्यो भने कम्युनिष्ट पार्टी पनि कम्युनिष्टहरुकै हुन कर लाग्छ’, भुसालले उल्लेख गरेका छन् । यसले विचारको नाममा सडकमा दिनदहाडै हुने खुलेआम किनबेच रोक्न मद्दत पुग्ने उनको विश्वास छ । विशेष महाधिवेशन सफल भए कम्तीमा दलाल पुँजीवादको ‘संयुक्त कार्यालय’ विघटन हुने दाबी गर्दै भुसालले गगन थापा र विश्वप्रकाश शर्मालाई पुनः सफलताको शुभकामना दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *