राष्ट्रपति, प्रधानमन्त्री र सभामुख जन्माएको काठमाडौं–२, यसपटक आशिका तामाङ पर्लिन् राेजाइमा ?
काठमाडौं । संघीय राजधानी काठमाडौंको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर– २ का मतदाताले कुनै बेला निर्वाचित गरेका नेताहरू राष्ट्रपति, प्रधानमन्त्री र सभामुख भइसकेका छन् ।
विद्यादेवी भण्डारी गणतन्त्र स्थापनापछि दुईपटक राष्ट्रपति र माधवकुमार नेपाल एकपटक प्रधानमन्त्री भए । दमननाथ ढुङ्गाना सभामुख भए । यसरी राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि संसद्को प्रमुखसम्म यही निर्वाचनबाट निर्वाचित नेताहरू भए ।
यही क्षेत्रबाट अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । उनले काठमाडौं–९ लाई पनि उम्मेदवारीको सम्भावित क्षेत्र भनेकी छिन् ।
तर, यहाँ काठमाडौं–२, त्यहाँबाट विगतमा निर्वाचित जनप्रतिनिधि, त्यहाँका मतदाताको मतदान प्रवृत्ति, आशिका र उनको विगतबारे पनि चर्चा गर्दैछौँ ।
०००
काठमाडौं– २ मा प्रजातन्त्रको पुनर्वहालीपछि २०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनबाट दमननाथ ढुङ्गाना निर्वाचित भए । ढुङ्गाना २०४६ सालको जनआन्दोलनको नेतृत्वदायी दल नेपाली कांग्रेसका नेता थिए । पछि उनी सभामुख भए । उनको निधन भइसकेको छ ।
काठमाडौं–२ ले २०५१ को मध्यावधि निर्वाचनबाट आफ्नो जनप्रतिनिधि फेर्यो । त्यहाँ नेकपा एमालेकी उम्मेदवार विद्यादेवी भण्डारी निर्वाचित भइन् ।
एक वर्षअघि मात्रै भण्डारी आफ्ना पति मदन भण्डारीको चितवनको दासढुुंगमा सवारी दुर्घटनापछि काठमाडौं–१ मा भएको निर्वाचनबाट निर्वाचित भएकी थिइन् । त्यसबेला उनले नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन् ।
मध्यावधि निर्वाचन हुँदा काठमाडौं–२ रोजेकी उनलाई त्यहाँका मतदाताले पनि रोजे । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा पनि मतदाताको रोजाइमा भण्डारी नै परिन् ।
तर, २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–२ बासीले तत्कालीन माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीलाई जिताए । तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई त्यहाँका मतदाताले त्यसबेला रुचाएनन् ।
२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा त्यहाँबाट माधवकुमार नेपाल निर्वाचित भए । उनी दुईवटा निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदा काठमाडौं २ छाडेपछि कांग्रेसका दीपक कुइँकेल निर्वाचित भए ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा फेरि नेपाल निर्वाचित भए । तर, २०७९ को निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम निर्वाचित भइन् ।
२०४८ साल यताको यी सातवटा संसदीय निर्वाचनको परिणामले भन्छ– काठमाडौं– २ का मतदाता नेताहरू परीक्षण गरिरहन्छन् । कुनै एक उम्मेदवारलाई पटकपटक जिताएर संसद् पठाउँदैनन् । अर्थात् उनीहरू राम्रा नेताको खोजिमा हुन्छन् । त्यसका लागि नयाँ नयाँ नेता रोजिरहन्छन् । कांग्रेस, एमाले, माओवादी र रास्वपाका उम्मेदवारलाई पालैपालो संसद् पठाउनुले त्यो पुष्टि गर्छ ।
उसो भए के यसपटक आशिका तामाङ काठमाडौं–२ का मतदाताको रोजाइमा पर्न सक्छन् ? त्यो त हेर्न बाँकी छ ।
आशिका गत भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहको एक हिस्सेदार हुन् । उनी विद्रोहमा उत्रिएका युवा विद्यार्थीहरूलाई पानी बाँडेकी थिइन् ।
घाइतेहरूको उद्धारमा खटिएकी थिइन् । अस्पताल गएर उपचारमा सहजीकरण गरेकी थिइन् । घाइते वा मृतकका परिवारलाई आर्थिक सहायता बाँडेकी थिइन् ।
त्यही भएर सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा नागरिक सरकार गठन हुँदा समर्थकहरूले आशिकालाई मन्त्री बनाउनुपर्ने सुझाएका थिए । तर, उनी मन्त्री भइनन् ।
उनै आशिकाले काठमाडौं–२ बाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य बन्न चाहेकी छिन् । उनको स्वतन्त्र उम्मेदवारी भनिएको छ ।
जबकि, उनले हालै रवि लामिछानेबाट अविर लगाएर उनी रास्वपा प्रवेश गरेकी थिइन् । तर, समर्थकहरूले स्वतन्त्र हुन र स्तवन्त्रबाटै निर्वाचन लड्न सुझाव दिएपछि आफूले रास्वपासँग आबद्ध नभई स्वतन्त्र रूपमा उम्मेदवारी दिएको स्पष्ट पारेकी छिन् ।
उनी पछिल्ला दिनमा मानवीय सहायताको क्षेत्रमा पनि क्रियाशील छिन् । विपन्न विद्यार्थीलाई पोशाक, झोला दिनेदेखि असहायहरूलाई सहायता दिने गरेको देखिन्छ ।
अलिक अघिसम्म उनी बेतिथीहरूविरुद्ध रुखो बोलीमा विरोध गर्थिन् । खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले महंगो पार्किङ शुल्कविरुद्ध खरो बोलेकी थिइन् ।
मनकामना जाने बाटोको एक होटलमा पानीको बोतल महंगोमा बेचिएको र धादिङको मलेखुमा खानालाई लिएर उनले थर्कमान गरेकी थिइन् ।
काठमाडौं उपत्यकाको नदी किनारका पुलहरूमा छलेर पिसाव गर्नेहरूको भिडियो नै खिचेर सार्वजनिक बेइज्जत गरिदिएकी थिइन् ।
गुट्का खाएर सडकमा खोल फाल्नेहरूलाई टिप्न लगाउँछिन् । काठमाडौंको गौशलामा उनले प्रहरीमाथि दुर्व्यबहार गरेको आरोपको सामना गर्नुपर्यो । भक्तपुरमा उनीविरुद्ध आपराधिक उपद्रवको उजुरी पर्यो ।
यसरी कानुनी कठघरामा पनि उभिँदै आएकी आशिका बेथितीविरुद्ध प्रश्न उठाउँदै, मानवीय सहायताको क्षेत्र र सहरी क्षेत्रको सफाइमा क्रियाशील रहँदै अन्ततः संसद पुगेर कानुन निर्माणमा सक्रिय हुन खोजिरहेकी छिन् ।
तर, उनीसँग जर्मनीको स्थायी बसोबासको अनुमति कार्ड रहेको आरोप लाग्दै आएको छ । त्यसका लागि उनले नेपाली नागरिकता र राहदानी त्यागेको विषय पनि उठ्ने गरेको छ ।
पत्रकार ऋषि धमलासँगको एक अन्तर्वार्तामा उनले आफूसँग जर्मनीको आवासीय अनुमति कार्ड भएको तर नेपाली नागरिकता र राहदानी कायमै रहेको दाबी गरेकी छिन् ।
विगतमा रास्वपा सभापति रवि लामिछानेको नागरिकता र राहदानीबारे प्रश्न उठ्यो । उनी अमेरिका जाँदा दुवै त्यागेर अमेरिकी नागरिकता र राहदानी लिएको भनियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो ।
अन्ततः सर्वोच्चले रविको नेपाली नागरिकता कायम नगरेको ठहर गर्यो । त्यससँगै उनको उपप्रधान तथा गृहमन्त्री, सांसद र रास्वपाको सभापति पद एकैपटक गुम्यो । पछि उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता फेरि लिए ।
कतै आशिकाको त्यस्तै त हुने होइन ? संशय छ । उनको जन्म धादिङको गजुरी गाउँपालिका– २ मा भएको हो ।
१३ वर्षअघि उनले जर्मन नागरिक थोमससँग विवाह सम्बन्ध गाँसेकी थिइन् । उनी दुई सन्तानकी आमा हुन् । त्यसो हुँदा उनलाई आलोचकहरूले विदेशी नागरिक भन्दै आएका छन् ।
