पूर्वी रुकुमबाट म चुनाब लड्ने निश्चित भएको छ – प्रचण्ड
त्रिवेणी (रुकुमपश्चिम) – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
नेकपा जिल्ला समिति रुकुम पश्चिमले मुसिकोट नगरपालिका–१ बराहाटाकुरमा आयोजना गरेको एकता सन्देशसभामा उहाँले आफू रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्ने करिब निश्चित भएको बताउनुभयो ।
“पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ, पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुममा पनि आउनु जस्तै हो, जिल्ला फरक भए पनि यहाँको धेरै विषयमा समानता र एकता छ, यसअघि रुकुम थियो । यहाँबाट हामीले जनयुद्धको तयारी गरेका थियौँ । अहिले पनि रुकुमका जनता, नेताकार्यकर्ता हाम्रो साथमा छन् भन्ने विश्वास छ”, संयोजक दाहालले भन्नुभयो । यहाँको विकास निर्माण गर्न तथा जनताका समस्या समाधान गर्न आफू केन्द्रित हुने उहाँले बताउनुभयो ।
सहसंयोजक माधव नेपालले १७ वटा पार्टीबीचको सहमतिमा एकता गरी नेपाली कम्युनिष्ट पार्टी बनेको बताउँदै यसबाट नयाँ इतिहासको रचना भएको धारणा राख्नुभयो । नेकपाले समाजवादको यात्रा सुरु गर्दै देशभरि स्थापित हुँदै गएको उहाँको भनाइ छ ।
