`

हर्क नेम्बाङ ‘मिक्सो’का नारा कम, काम बढी : पाँचथरमा बन्दैछ ‘बेदागी’ मिक्सोका जनआधार

रामचन्द्र जोशी ९ माघ २०८२ १७:३४
निर्वाचन विषेश

काठमाडौं । भीड छैन। तडकभडक छैन। चर्को नारा र माइकको होहल्ला पनि छैन। तर, जहाँ हर्क नेम्बाङ ‘मिक्सो’ पुग्छन्, त्यहाँ मतदाताको अनुहारमा अपनत्व देखिन्छ। कोही फूलमाला लगाइदिन्छन्, कोही हात समाउँदै भन्छन्- “मिक्सो सर, यसपालि भोट तपाईंलाई नै हो।”

यतिबेला पाँचथरका गाउँ–गाउँमा फैलिएको यही दृश्य सामाजिक सञ्‍जालमा पनि देखिन थालेको छ। मिक्सोका लागि यो चुनाव प्रचारभन्दा बढी विश्‍वासको पुनःपुष्टि हो।

यही जनविश्‍वासकै बीच हालै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई फोन गरेर जितको शुभकामना दिए।

मिक्सोको राजनीतिक छविको प्रशंसा गर्दै प्रचण्डले भने, ‘तपाईंले जुन इमेज बनाउनुभएको छ नि जिल्लामा पनि प्रदेशमा पनि, धेरै राम्रो छ । तपाईंले जित्‍नुपर्छ, जित्‍नुहुन्छ, लाग्‍नुहोस् ।’

मिक्सो पाँचथरे जनतासँग २७ वर्षदेखि सँगसँगै छन्। उनी जनताको दुःखलाई आफ्नै ठान्छन्। बिरामी पर्दा उपचारका लागि अस्पताल पुर्‍याउन सहजीकरण गरिदिने, बाढी-पहिरोले आक्रान्त बस्तीमा राहत लिएर पुग्‍ने, यिनै कामले उनको राजनीति जनसेवामा आधारित रहेको देखाउँछ । उनका लागि राजनीति कहिल्यै पद, सुविधा वा सत्ताको सिँढी बनेन।

“म सत्तामा पुगेको छैन,” मिक्सो भन्छन्, “तर म दाबीका साथ भन्‍न सक्छु—अरू पार्टीका धेरै नेताभन्दा कयौँ गुणा राम्रो काम मैले गरेको छु, मैले गरेका कामहरू गन्‍न थाले डायरीमा अँट्दैनन् ।”

उम्मेदवार भएपछि मात्रै जनता सम्झिने चलन राजनीतिमा सामान्य बन्दै गएको छ। तर, मिक्सो सधैँ जनताको घरआँगनमै देखिन्छन्।

यही जनसेवाको यात्राबाट उनले अब पहिलोपटक प्रतिनिधिसभा पुग्‍ने आकांक्षा राखेका छन्। आगामी २१ फागुनमा हुने निर्वाचनका लागि उनी फेरि जनतामाझ पुगेका हुन्।संसद् उनको अन्तिम लक्ष्य भने होइन। उनी भन्छन्- यो त जनताको आवाज अझ बलियो बनाउने अर्को माध्यम मात्रै हो।

पाँचथरको विकास र समृद्धि मिक्सोको प्रमुख एजेन्डा हो। त्यसैले चुनावी अभियानका क्रममा उनी भाषणभन्दा बढी सुन्‍ने भूमिकामा देखिन्छन्। गाउँटोलमा पुगेर जनताको समस्या टिपोट गर्छन् र समाधानका प्रतिबद्धता व्यक्त गर्छन्। यही कारण युवा तथा परिवर्तन चाहने मतदाताले उनलाई भावी सांसदका रूपमा हेर्न थालेका छन्।

पाँचथरका किसान, मजदुर, उद्योगी, व्यापारी, सामाजिक कार्यकर्ता, शिक्षक, कर्मचारीदेखि युद्धका घाइते र बेपत्ता परिवारका सदस्यहरूका लागि मिक्सो केवल उम्मेदवार होइनन्-आफ्नो आवाज संसद् पुर्‍याउने भरोसाको नाम हुने देखिएको छ ।

अब प्रश्‍न एउटै छ- मिक्सोले २७ वर्षे संघर्ष, त्याग र जनसेवाको यात्रालाई २१ फागुनमा पाँचथरवासीले मतपेटिकामार्फत कहाँ पुर्‍याउनेछन् ? त्यसको उत्तर भने मतपेटिकामा देखिने छ ।

विकासमा मिक्सोकाे नाम

तत्कालीन नेकपा माओवादी केन्द्रका अर्थमन्त्री जनार्दन शर्मा हुँदा मिक्सोले प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हाले।

त्यतिबेला अलपत्र अवस्थामा रहेको बहुआयामिक महत्वको तमोर कोरिडोर उनका लागि प्राथमिकता बन्यो। अर्थमन्त्रीसँगको समन्वयमा उनले ६ अर्ब रुपैयाँ बजेट सुनिश्‍चित गराए। राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्य कोरिडोरमा यति ठूलो बजेट विनियोजन दुर्लभ मानिन्छ।

६ अर्ब बजेटकै कारण तमोर कोरिडोर कालोपत्रे भयो। धरानदेखि पाँचथर–ताप्लेजुङ जोड्ने यो सडक अहिले पूर्वी पहाडको जीवनरेखा बन्दै गएको छ। लखुवा, नावाखोला, छरुवा र रगुवामा अझै पुल निर्माण बाँकी भए पनि सामान्य अवस्थामा सवारी आवागमन नियमित छ।

यसका साथै फिदिमको शिवालय मन्दिरदेखि गोरुवालेसम्मको सडक निर्माणका लागि पनि मिक्सोले बजेट सुनिश्‍चित गराए। यस सडकले जिल्लाको उत्तरपूर्वी भेगका जनतालाई सदरमुकामसँग सिधा जोडेको छ। साना सडक, सिँचाइ कुलो, खानेपानी आयोजना र पुल निर्माणमा बजेट व्यवस्थापन गराउने उनको भूमिका स्थानीयले स्मरण गर्छन्।

यसरी पाँचथरको विकाससँग मिक्सो नाम जोडिँदै गएको छ। अब उनी विकासको योजनाकार मात्रै होइन, नीति निर्माण गर्ने थलो संसद्मा पुगेर जिल्लाको नेतृत्व गर्ने तयारीमा छन्।

बेदागी नेम्बाङ

नेम्बाङ पाँचथरमा ‘बेदागी’ कम्युनिस्ट नेताका रूपमा चिनिन्छ। उनको राजनीतिक यात्रा १० वर्षे माओवादी जनयुद्धसँग जोडिएको छ। जनमुक्ति सेनाबाट आन्दोलनमा प्रवेश गरेका उनले विभिन्‍न मोर्चामा युद्ध लडेका छन्।

१५ भदौ २०५९ मा ओखलढुंगाको रुम्जाटार मोर्चामा उनी गम्भीर रूपमा घाइते भएका थिए। जनमुक्ति सेनामा रहँदा उनी कम्पनी भिसीसम्मको जिम्मेवारीमा पुगेका थिए।

शान्ति प्रक्रियापछि नेम्बाङ २०६० सालदेखि पार्टी संगठनमा पूर्ण रूपमा सक्रिय भए। २०६१ सालमा पाँचथर पार्टी सचिव हुँदै इञ्‍चार्जको जिम्मेवारी सम्हालेका उनी २०६३ सालमा धनकुटा इञ्‍चार्ज बने। माओवादी केन्द्रमा रहँदा उनी पोलिटब्युरो सदस्यसमेत भएका थिए ।

पछिल्लो समय कोशी प्रदेशमा सम्पन्न स्थानीय तह उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा माओवादीले अपेक्षाभन्दा राम्रो नतिजा निकाल्दा नेम्बाङको नेतृत्व भूमिकाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेर प्रशंसा गरेका थिए। संगठन सुदृढीकरण र चुनावी व्यवस्थापनमा उनले खेलेको भूमिकालाई निर्णायक मानिएको थियो।

नेम्बाङको घर पाँचथरको लुङरुपा हो, जसलाई जिल्लामा माओवादी आन्दोलनको ‘लालकिल्ला’का रूपमा चिनिन्छ।

जनयुद्धदेखि शान्ति प्रक्रियासम्म र संगठन निर्माणदेखि निर्वाचन व्यवस्थापनसम्म निरन्तर सक्रिय रहेका नेम्बाङलाई यसपटक पार्टीले संसदीय प्रतिस्पर्धामा उतार्नुलाई पाँचथरको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *