`

सानो हमिङबर्डको अन्तिम आश्रय

Nepal One HD ९ माघ २०८२ २१:४३
रोचक

क्विटो (इक्वेडर) । इक्वेडोरियन एन्डिजको दुर्गम क्षेत्रमा रहेको एउटा प्राचीन जङ्गल मानव गतिविधिको बढ्दो अतिक्रमणबिच विलुप्त हुने जोखिममा परिरहेको सानो हमिङबर्डका लागि अन्तिम आश्रय स्थल बनेर उभिएको छ ।

यो यानाकोचा रिजर्भ हो, जुन ब्ल्याक-ब्रेस्टेड पफ्लेग (एरिओक्नेमिस निग्रीभेस्टिस) नामक अत्यन्तै दुर्लभ हमिङबर्डको अन्तिम शरण स्थलका रूपमा चिनिन्छ । क्विटोको प्रतीक मानिने यो सानो चरा केवल करिब ९ सेन्टिमिटर (३.५ इन्च) लम्बाइको हुन्छ । इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरका अनुसार यसको विश्वव्यापी सङ्ख्या घटेर अहिले १५० देखि २०० वटामा सीमित भएको छ, जसले यसलाई पृथ्वीको सबैभन्दा खतरामा परेका प्रजाति मध्ये एक बनाएको छ ।

जोकोटो फाउन्डेसनले २५ वर्षअघि स्थापना गरेको यानाकोचा रिजर्भ आज एन्डियन जैविक विविधताको महत्वपूर्ण केन्द्र बनेको छ । संरक्षणकर्मीले यस क्षेत्रलाई एउटा चरा मात्र नभई, सम्पूर्ण इकोसिस्टम जोगाउने उद्देश्यले संरक्षण गरिरहेको बताएका छन् । संरक्षणवादी पाओला भिलाल्बाले भन्नुभयो, “हामीले एउटा प्रजातिको मात्र होइन, सम्पूर्ण पारिस्थितिक प्रणालीको रक्षा गरिरहेका छौँ भन्ने कुरा हामीले बुझेका छौँ ।”

यो हमिङबर्डलाई यसको खुट्टाको वरिपरि देखिने सेता पखेटा, ट्राउजर जस्तै देखिने विशेष बनावटका कारण सजिलै चिनिन्छ । ती सेता पखेटा यसको गहिरो धातु जस्तो कालो छाती र कांस्य-हरियो पाखासँग तीव्र रूपमा फरक देखिन्छन् । यति आकर्षक स्वरूप हुँदाहुँदै पनि उच्च उचाइका वन क्षेत्र चरन र कृषिका लागि सफा गरिँदा यसको अस्तित्व गम्भीर जोखिममा परेको छ ।

बड्र्स एन्ड कन्जरभेसन फाउन्डेसनकी शर्ली फारिनाङ्गोका अनुसार यो प्रजाति समुद्र सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर (नौ हजार ८०० देखि ११ हजार ४०० फिट) उचाइको साँघुरो पारिस्थितिक क्षेत्रमा मात्र सीमित छ । उहाँका अनुसार यही उचाइको क्षेत्र कृषि भूमिमा रूपान्तरण गरिने प्रमुख क्षेत्र भएकाले दबाब सबैभन्दा बढी यहीँ परेको छ ।

क्विटोबाट करिब ४५ किलोमिटर (२७ माइल) उत्तरपश्चिममा पर्ने पिचिनचा ज्वालामुखीको ढलानमा फैलिएको यो बादलले ढाकिएको जङ्गल जोगाउन संरक्षणकर्मी अहिले तीव्र प्रयासमा जुटेका छन् । उनीहरू वन पुनः स्थापना गर्दै सानो हमिङबर्डको भविष्य सुरक्षित गर्ने दौडमा छन् । एन्डिजका ‘सबैभन्दा साना परी’ भनेर चिनिने यी चराका लागि यी घना र प्राचीन रूख केवल बास स्थान मात्र होइनन्, बरु अस्तित्व जोगाउने अन्तिम आशा पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *