लामार : सुन्दरताले नायिका, विवेकले वैज्ञानिक
सन् १९३३ मा एक्स्टेसी नामक एउटा फिल्मले विश्वभर तहल्का मच्चायो। उक्त फिल्म त्यतिबेला बनेको थियो, जतिबेला समाज एक्स्टेसी जस्ता फिल्मसँग ‘कनेक्ट’ भइसकेको थिएन । तर यो फिल्मले त्यो समयका सबै सामाजिक सीमाहरू तोडिदियो । फिल्मको एक चर्चित दृश्यमा अभिनेत्री जंगलमा निर्वस्त्र दौडिन्छिन् र तालमा नग्न रूपमा पौडी खेल्छिन् । त्यस समय किङकङ जस्ता चलचित्रहरूले विश्वभर चर्चा पाइरहेका थिए। तर यही समयमा सार्वजनिक भएको यो विवादास्पद युरोपेली फिल्म मानिसहरूको कानेखुसी , पत्रिकाका हेडलाइन र सेन्सर विवादको केन्द्र बन्यो ।
यो विवादको केन्द्रमा थिइन्, हेडी लामार। अर्थात्, हेडभिग किश्लर।
किश्लर अस्ट्रियन अभिनेत्री थिइन्, जो पछि गएर हलिउडकी सबैभन्दा ग्ल्यामर स्टारमध्ये एक बनिन् ।
उनको एक्स्टेसी फिल्म विवादित बनेपछि यसको चर्चा झन् चुलियो । धेरै देशहरूले यो फिल्ममाथि प्रतिबन्ध लगाए, जसले मानिसहरूको जिज्ञासा अझ बढायो । युरोपभर गोप्य प्रदर्शन र लुकाइएका प्रतिहरूको चर्चा चल्न थाल्यो । भनिन्छ, तकालीन समयका इटालीका तानाशाह मुसोलीनी यो फिल्मबाट यति प्रभावित भएका थिए कि उनले आफ्नो प्रतिलिपि कुनै मूल्यमा पनि बेच्न अस्वीकार गरेका थिए ।
केही समयपछि हलिउडको ध्यान किश्लरतर्फ गयो । लुइस बी. मेयर- जो मेट्रो गोल्डविन स्टुडियोका शक्तिशाली प्रमुख थिए, उनले किश्लरलाई ‘विश्वकै सबैभन्दा सुन्दर महिला’ का रुपमा चित्रित गर्यो । यही पहिचान नै उनको करिअरको महत्वपूर्ण मोड पनि बन्यो । तर उनको बाहिरी सौन्दर्यभित्र एक तेज, जिज्ञासु र दृढ व्यक्तित्व लुकेको थियो, जसलाई धेरैले बुझेनन् ।
त्यतिबेला किश्लर आफैं मजाक गर्दै भन्थिन्, ‘सुन्दर देखिनुको रहस्य भनेको त्यहीँ उभिने र मूर्ख जस्तो देखिने हो ।’ उनी अत्यन्त विश्लेषणात्मक सोच भएकी महिला थिइन् र विज्ञान तथा इन्जिनियरिङप्रति गहिरो रुचि राख्थिन् । अभिनयमा प्रवेश गर्नुअघि नै उनले सैन्य प्रविधि र मेकानिकल प्रणालीहरूबारे अध्ययन गरिरहेकी थिइन् ।
किश्लरले एक्स्टेसीमा अभिनय गर्दागर्दै अस्ट्रियाका धनी उद्योगपति फ्रिडरिख म्यान्डलसँग विवाह गरिन्। म्यान्डल युरोपका ठूला हतियार निर्माता थिए र उनको कम्पनीले विभिन्न देशलाई सैन्य सामग्री आपूर्ति गर्थ्यो । उनको व्यापारिक सम्बन्ध जर्मनी र इटालीका उदाउँदा फासिस्ट शक्तिहरूसँग जोडिएको थियो ।
म्यान्डलले आयोजना गर्ने भव्य भोजहरूमा सैनिक अधिकारी, राजनीतिज्ञ र तानाशाही नेताहरू सहभागी हुन्थे । ती जमघटहरूमा मिसाइल, विमान प्रणाली र रेडियो नियन्त्रित हतियारबारे छलफल हुने गर्थ्यो । उनका ती कार्यक्रमहरुमा एडल्फ़ हिटलर र मुसोलीनी जस्ता शक्तिशाली नामहरू समेत सहभागी हुने गरेको बताइन्छ ।
ती कार्यक्रममा म्यान्डलका साथीहरूले मिसाइल र टर्पिडो सञ्चालन प्रणालीजस्ता अत्याधुनिक सैन्य प्रविधिबारे खुला रूपमा चर्चा गर्थे। र, किश्लर ती चर्चासँग केन्द्रीत रहन्थिन्। धेरैले उनलाई केवल सुन्दरी अभिनेत्री ठान्थे, तर वास्तवमा उनी ती सबै प्राविधिक जानकारी मनोयोगले आत्मसात गरिरहेकी थिइन् ।
किश्लर फासिवाद र नाजी विचारधाराप्रति गहिरो घृणा राख्थिन् । उनी स्वयं यहूदी भएकाले हिटलरको उदयले ल्याउने खतराबारे सचेत थिइन् । समयसँगै म्यान्डलसँगको वैवाहिक जीवन असह्य बन्दै गयो । म्यान्डल अत्यन्त नियन्त्रणकारी व्यक्ति थिए । भनिन्छ, उनले आफ्नी पत्नीलाई अभिनय गर्न समेत रोक्न खोजे ।
किश्लरका लागि महलभित्रको जीवन विलासिता कम र कैदजस्तो बढी थियो । किश्लर त्यो विवाह र राजनीतिक वातावरण दुवैबाट उम्किन चाहन्थिन् । अन्ततः सन् १९३७ मा उनी भागिन् । कथनअनुसार उनले आफ्नी नोकरानीलाई औषधि खुवाएर बेहोस बनाइन्, नोकरानीकै कपडा लगाइन् र रातको अन्धकारमा महलबाट भागिन् । गहनाहरू बेचेर पैसा जुटाउँदै उनी युरोप पार गरेर लन्डन पुगिन् ।
त्यसपछि सन् १९३८ मा नाजी जर्मनीले अस्ट्रियालाई कब्जा गर्दै ‘आनशलुस’ सम्पन्न गर्यो । म्यान्डलका कारखानाहरू नाजीहरूले नियन्त्रणमा लिए र युरोप युद्धतर्फ धकेलियो ।
लन्डन पुगेपछि किश्लरको जीवन फेरि बदलियो । त्यहीँ उनले मेयरलाई भेटिन् । मेयरले उनलाई अमेरिका जान तथा एमजीएमसँग सम्झौता गर्न राजी गराए । अमेरिका जाने जहाज यात्रासँगै उनको नयाँ पहिचान बनाइयो । मेयरले उनलाई नयाँ नाम दिए- हेडी लामार। र, यही नाम उनको पहिचान बन्यो।
हलिउडले उनलाई खुलेर स्वागत गर्यो । उनको सौन्दर्य, रहस्यमय व्यक्तित्व र युरोपेली शैलीले दर्शकहरू मोहित भए । उनी क्लार्क गेबल, जुडी गारल्यान्ड, बब होप लगायतका ठूला कलाकारसँग फिल्ममा देखिन थालिन् । अल्जियर्स, साम्सन एन्ड डिलाइला, साम्सन र डिलाइला जस्ता फिल्महरूले उनलाई हलिउडको स्वर्ण युगकी महान् अभिनेत्रीका रूपमा स्थापित गर्यो ।
तर लामार आफूलाई केवल सुन्दरीको छविमा सीमित भएको महसुस गर्थिन् । हलिउड स्टुडियोहरूले उनको बुद्धिमत्तालाई भन्दा उनको सौन्दर्यलाई बढी प्राथमिकता दिए । अभिनयबाहेकको समयमा उनी वैज्ञानिक जर्नल पढ्ने, नयाँ आविष्कारका खाका बनाउने र तीनको घरमै प्रयोग गर्ने गर्थिन् ।
दोस्रो विश्वयुद्ध चर्किँदै जाँदा लामार नाजीविरुद्ध केही योगदान गर्न चाहन्थिन् । उनले विज्ञान र प्रविधिले युद्धको परिणाम बदल्न सक्छ भन्ने विश्वास गर्थिन् । म्यान्डलसँगको वैवाहिक जीवनमा सुनेका सैन्य प्रविधिका कुराहरूले उनलाई नयाँ सोचतर्फ प्रेरित गरिसकेको थियो।
सन् १९४२ मा, आफ्नो अभिनय करियरकै उत्कर्षमा रहँदा, लामारले संगीतकार जर्ज एन्थेलसँग मिलेर एउटा आविष्कार गरिन् । उनीहरूले ‘फ्रिक्वेन्सी हपिङ’ मा आधारित सञ्चार प्रणाली विकास गरे, जसमा रेडियो संकेत लगातार फरक फरक फ्रिक्वेन्सीमा परिवर्तन भइरहन्थ्यो ।
त्यतिबेलाको समयमा त्यो क्रान्तिकारी अवधारणा थियो । युद्दमा रेडियो नियन्त्रित टर्पिडोहरू त्यो समयमा शत्रुपक्षको सूचना प्रणाली जाम गर्ने प्रविधिको रुपमा प्रयोग हुन्थे । लामार र एन्थाइलले दोस्रो विश्वयुद्द लक्षित आविष्कार गरे।
उनीहरूको अवधारणा स्वचालित पियानोमा प्रयोग हुने रोल प्रणालीबाट प्रेरित थियो । जसरी पियानो रोलले संगीतका नोटहरू परिवर्तन गर्छ, त्यसैगरी लामारले रेडियो फ्रिक्वेन्सी परिवर्तन गर्ने प्रणाली कल्पना गरेकी थिइन् । उनीहरूले ‘सिक्रेट कम्युनिकेशन सिस्टम’ नाममा पेटेन्टसमेत लिए ।
दोस्रो विश्वयुद्धमा अमेरिकी नौसेनाले तत्काल यसको प्रयोग नगरे पनि यो प्रविधि समयभन्दा धेरै अगाडि थियो । पछि यही अवधारणाले आधुनिक वायरलेस सञ्चार प्रणालीको आधार निर्माण गर्यो । आज प्रयोग हुने वाई-फाई, ब्लुटुथ, जी-पी-एस र सुरक्षित सैन्य सञ्चार प्रणालीहरूमा यही ‘स्प्रेड-स्पेक्ट्रम’ प्रविधिको सिद्धान्त प्रयोग हुन्छ । संसारकै चर्चित हलिउड अभिनेत्रीमध्ये एक महिलाले आधुनिक सञ्चार प्रविधिको जग बसालिन् भन्ने कुरा आफैंमा अविश्वसनीय लाग्छ ।
लामारको जीवनकथाले सौन्दर्य, बुद्धिमत्ता र प्रसिद्धिबारे समाजका धारणालाई चुनौती दिन्छ । मानिसहरूले उनलाई केवल पर्दाकी सुन्दरी ठाने, तर त्यो चम्किलो अनुहारभित्र विज्ञान, राजनीति र प्रविधिमा गहिरो रुचि पनि थियो ।
उनी फासिवादबाट भागिन्, हलिउड जितिन्, युद्धकालीन प्रविधिमा योगदान गरिन् र आधुनिक संसारको सञ्चार प्रणालीको जग बसालिन् । एक व्यक्तिको जीवनमा चलचित्र, युद्ध, आविष्कार र प्रसिद्धि यति अनौठो ढंगले जोडिएको विरलै भेटिन्छ ।
