`

निरो : सत्ताको मदमा राक्षस बनेको क्रूर तानाशाह

समीन बरुवाल १ जेठ २०८३ १८:२०
अन्तर्वार्ता/बिचार

त्यो रोमन साम्राज्यको सुन्दर र शक्तिशाली युग थियो। तर त्यही युगले एक त्यस्तो राजा पनि देख्यो जसको नामले आज पनि मानिसहरू थरथर काम्छन्। त्यो नाम हो निरो।

निरोको पूरा नाम निरो क्लाउडियस सिजर अगस्टस जर्म्यानिकस हो । निरो रोमन साम्राज्यको पाँचौं र अन्तिम जुलियो क्लाउडियन राजा  थिए। सन् ५४ देखि सन् ६८ सम्म उनले शासन गरे। उनको शासनकाललाई इतिहासले ‘नेरोनियन अत्याचार’ को युग भनेर चिन्छ। 

के साँच्चै निरो त्यति नै क्रूर थिए ? वा इतिहासले उनलाई त्यसरी लेख्यो?  यस प्रश्नको जवाफका लागि रोमको राजनीतिको ऐतिहासिक गहिराइमा जान जरुरि छ। यो कथा हो निरोको जो  शक्तिको मदमा चुरु हुँदै गयो।  र एक युवा सम्राटको मानसिकतामा जो बिस्तारै अत्याचारी बन्दै गयो।

निरोको जन्म सन् ३७ डिसेम्बर १५ मा भएको थियो। उनको जन्मस्थान एन्टियम थियो। एन्टियम रोम शहरभन्दा करिब ५५ किलोमिटर दक्षिणमा रहेको एउटा सुन्दर तटीय सहर हो ।

जन्मको समयमा  निरोको नाम लुसियस डोमिसियस एनोबार्बस थियो। उनको परिवार कुनै साधारण परिवार थिएन। उनी सम्राट अगस्टसको वंशज थिए। उनका बुबा ग्नेयस डोमिसियस एनोबार्बस एक क्रूर र भ्रष्ट व्यक्ति थिए। 

सुटोनियसले लेखेका छन्, ‘निरोको जीनमा क्रूरताको बीज पहिल्यै थियो। त्यो बीज लिएर र सुन्दर रोममा गुनाहको दुनियाँ बनाउन निरो आए।’ 

उनकी आमा एग्रिपिना द यङ्गर थिइन्। एग्रिपिना अत्यन्त महत्वाकांक्षी र शक्तिशाली महिला थिइन्। उनी सम्राट क्यालिगुलाकी बहिनी,सम्राट क्लाउडियसकी भतिजी र पत्नी पनि थिइन्। उनको रगतमा शक्तिको लालसा थियो। 

निरो मात्र तीन वर्षको थिए। जब उनका बुबाको मृत्यु भयो। त्यसको दुई वर्षपछि सम्राट क्यालिगुलाको हत्या भयो। र उनकी आमा एग्रिपिनालाई पनि निर्वासनमा पठाइयो। सानो निरो आफ्नी काकी लिपिडासँग बस्न पुगे। त्यहाँ उनको पालनपोषण भयो। तर नियतिले अर्कै लेखेको थियो।

सन् ४१ मा सम्राट क्लाउडियस सत्तामा आए। उनले एग्रिपिनालाई निर्वासनबाट फिर्ता बोलाए। एग्रिपिना फर्किइन्। उनी शक्तिको लागि फर्किइन्। उनले आफ्नो दोस्रो पति सम्राट क्लाउडियसको विष प्रयोग गरेर हत्या गराइन्। 

त्यसपछि उनले आफ्नो काका सम्राट क्लाउडियसलाई प्रलोभन दिइन्। इतिहासकारहरूले लेखेका छन् कि उनी आफ्नो काका क्लाउडियससँग अवैध सम्बन्धमा पनि थिइन्।

सन् ४९ मा क्लाउडियसले एग्रिपिनासँग विवाह गरे। त्यो विवाह रोमको राजनीतिको एक ठूलो घटना थियो। एग्रिपिना रोमको पहिलो महिला बनिन्। उनी आफ्नो पतिको छेउमा बसिन्। उनले सिक्कामा आफ्नो तस्बिर छापिन्।उनले विदेशी राजदूतहरूसँग भेट बढाइन्। यो सबै रोमको परम्पराको विरुद्ध थियो। 

एग्रिपिनाले क्लाउडियसलाई आफ्नो छोरा निरोलाई उत्तराधिकारी बनाउन मनाइन्। यसको अर्थ सम्राटको आफ्नै जेठो छोरा ब्रिटानिकसको रोलक्रम मिच्नु थियो।

एग्रिपिनाले हरेक अवरोध हटाउँदै गइन् । आफ्ना विरोधीहरूलाई एकपछि अर्को हत्या गराइन्। सन् ५३ मा निरोले क्लाउडियसकी छोरी अक्टाभियासँग विवाह गरे। त्यो विवाह पनि एग्रिपिनाकै योजना थियो।अब  केवल क्लाउडियस बीचको अवरोध थियो। सन् ५४ मा क्लाउडियसको मृत्यु भयो। 

इतिहासकारहरूका अनुसार उनलाई विष दिइएको थियो। ‘विष च्याउमा थियो। र त्यो च्याउ एग्रिपिनाले नै दिएको मानिन्छ। क्लाउडियसको मृत्युपछि एग्रिपिनाले तुरुन्तै काम गरिन्। उनले प्रिटोरियन गार्डको सहयोग प्राप्त गरिन्। गार्डले निरोलाई सम्राट घोषित गर्यो।

 निरो मात्र सोह्र वर्षको थिए ।  एक किशोर सम्राट, जो पूर्ण रूपमा आफ्नी आमाको नियन्त्रणमा थियो।

निरोले आफ्नो शासनको सुरुवात राम्रोसँग गरे। इतिहासकारहरूले यसलाई ‘क्विनक्वेनियम नेरोनिस’ अर्थात् ‘निरोको पाँच वर्षे सुनको युग’ भनेर भनिन्छ । 

त्यो समयमा निरो एक कुशल  शासक मात्र थिएनन्। उनले राम्रो सल्लाहकार पनि छानेका थिए। उनको सलाहकारमा दुई जना व्यक्ति थिए। जसले उनलाई उचित सलाह दिन्थे।  एक थिए सेक्स्टस अफ्रानियस बुरस — प्रिटोरियन गार्डको प्रिफेक्टबाट र अर्का थिए लुसियस एनियस सेनेका, निरोका गुरु र एक स्टोइक दार्शनिक। यी दुईले मिलेर साम्राज्यलाई स्थिर राखे।

निरोले केही राम्रा काम पनि गरे। उनले गुप्त मुद्दाहरूमा ज्यानको सजा बन्द गरे। दासहरूलाई पनि आफ्ना मालिक विरुद्ध उजुरी ल्याउने अधिकार दिए। कर घटाए, सिनेटलाई अलि बढी स्वतन्त्रता दिए, र रक्तपातपूर्ण ग्लाडियटर खेलहरूको सट्टा कविता प्रतियोगिता र संगीत कार्यक्रमहरू सुरु गरे। 

इतिहासकार टासिटसले लेखेका छन् ‘त्यस समयमा निरोले एउटा यस्तो सपना देखेको थिए, उनी कलाकार बन्न चाहन्थे, गीत गाउन चाहन्थे, पियानो बजाउन चाहन्थे, कविता लेख्न चाहन्थे। तर एक सम्राटको लागि यो सपना देख्नु पनि अपराध थियो। रोमन समाजमा एक सम्राटलाई रणनीतिकार बन्नुपर्छ, योद्धा बन्नुपर्छ, प्रशासक बन्नुपर्छ’ 

निरोको पतनको सुरुवात
निरो बिस्तारै बदलिदै गए । उनि आफ्नी आमाको नियन्त्रणबाट बाहिर आउन थाल्यो। सेनेका र बुरसले उसलाई सिकाएका थिए: ‘तिमी सम्राट हौ, तिमी आफैंले निर्णय गर।’ एग्रिपिनालाई यो मन परेन। उनले आफ्नो प्रभाव ल्याउन खोजिन्।  तर निरो तयार थिएन। 

आमा र छोराको सम्बन्ध चिसियो। त्यसपछि एग्रिपिनाले ब्रिटानिकसलाई समर्थन गर्न थालिन्। ब्रिटानिकस वैध उत्तराधिकारी थियो। र सिनेटलाई पनि ब्रिटानिकस मन परेको थियो। निरोले यो देखे, उनी डराए, र उनले आफ्नो सौतेला भाइलाई मार्ने योजना बनाए।

सन् ५५ को फेब्रुअरीमा ब्रिटानिकसको मृत्यु भयो। उनी मात्र चौध वर्षका थिए। उनलाई भोजमा विष दिइएको थियो। 

इतिहासकारहरूले लेखेका छन्, निरोले नै उक्त विष मिलाएको थियो। ब्रिटानिकसको मृत्युपछि शोकमा परेनन्। बरु उनले आफ्नो सबै ध्यान कलामा लगाए। त्यो पहिलो हत्या थियो। तर अन्तिम थिएन। एक पटक रगत बग्न थाल्यो। 

एग्रिपिनाको आमाको हत्या
एग्रिपिनाले ब्रिटानिकसको मृत्युपछि पनि आफ्नो प्रभाव राख्न खोजिन्। तर निरो आफ्नी आमासँग दिक्क भइसकेको थियो। उनले एग्रिपिनालाई दरबारबाट बाहिर निकाल्न खोजे। तर एग्रिपिना हार मान्ने महिला थिइनन्। उनले आफ्नो सौतेनी छोरालाई पुनः नियन्त्रण गर्ने योजना बनाइन्। निरोलाई यो कुरा पछ्या भएन।  उनि अब आफ्नै आमालाई मार्ने योजना बनाउन लागे। 

सन् ५९ मा निरोले एग्रिपिनालाई नाउमा भोजको निमन्त्रणा पठाए। एग्रिपिना आइन्। उनले रमाइलो गरिन्।  तर त्यो नाउ सामान्य थिएन। निरोले नाउ यसरी बनाएको थियो कि बीच समुद्रमा त्यो भत्किन्छ। एग्रिपिनालाई लाग्यो कि छोराले उनको सम्मान गर्दैछ। तर यो मृत्युको जाल भएको उनलाई अनुमान नै भएन । 

नाउ बीच समुद्रमा पुग्यो। अचानक छाना खस्यो, डुङ्गा भत्कियो। एग्रिपिना समुद्रमा खसिन्।  तर उनी पौडिन्थिन् र किनारामा पुगिन्। त्यहाँ उनकी एक सेविकाले उनलाई सहयोग गरिन्।

निरोलाई खबर आयो आमा बाँचेकी छन्। ऊ झस्कियो। त्यसपछि उसले आफ्ना मानिसहरू पठायो। ती मानिसहरू एग्रिपिनाको भिल्लामा पुगे। एग्रिपिना आफ्नै ओछ्यानमा थिइन्। उनले मृत्यु आउँदै गरेको देखिन्। र आफ्नो पेट देखाउँदै कराइन्: ‘यहाँ प्रहार गर — यही पेटले निरोलाई जन्म दियो।’  त्यसपछि उनको हत्या भयो।

निरोले आफ्नी आमाको मृत्यु सुनेपछि के गरे भन्नेबारे ? इतिहासकारहरू लेख्छन्, ‘उनले मदिरा पिउन थाले, संगीत सुन्न थाले, र सिनेटलाई एउटा पत्र लेखे। त्यो पत्रमा उनले आफ्नी आमाले नै सम्राट विरुद्ध षड्यन्त्र गरेको आरोप लगाए। सिनेटले निरोलाई सलाम गर्यो, तर मानिसहरू डराए: सम्राटले आफ्नै आमालाई मार्यो, उसले अरू के-के गर्ला?’

दुई पत्नीको मृत्यु
निरोले आफ्नी पत्नी अक्टाभियालाई कहिल्यै मन पराएनन्। त्यो विवाह आमाको योजना थियो। निरोको प्रेम अर्कै थियो। पोपिया सबिना नामकी एक सुन्दर र महत्वाकांक्षी स्त्री,जसमा निरो मोहित भएका थिए। उनले अक्टाभियालाई सम्बन्धविच्छेद गर्ने निर्णय गरे। तर अक्टाभियालाई जनताले माया गर्थे। र उनको सम्बन्धविच्छेदको विरोध भयो।

निरोले अर्को बाटो रोजे उनले अक्टाभियालाई व्यभिचारको झूटो आरोप लगाए। उनलाई निर्वासनमा पठाइयो। र त्यही निर्वासनमा उनको हत्या गरियो। त्यो सन् ६२ को कुरा थियो। अक्टाभियाको मृत्युपछि निरोले पोपियासँग विवाह गरे।

पोपिया गर्भवती थिइन्। र निरो खुसी थिए । तर एक दिन झगडा भयो। पोपियाले निरोलाई गाली गरेकी थिइन् , ‘तिमी सधैं ती सडकमा रात बिताउँछौ,तिमी मलाई बेवास्ता गर्छौ।’  

यत्ति सुनेपछि निरो रिसाए। र उनले पोपियालाई लात हाने। त्यो लात उनको पेटमा पर्यो र पोपियाको  त्यही मृत्यु भयो। सन् ६५ को कुरा थियो। यसरी निरोले आफ्नी दोस्रो पत्नीलाई पनि मारे ।

तर इतिहासकारहरूले एक कुरा खुलासा गरेका छन्, ‘यो कथा सत्य हुन सक्दैन, किनभने यस्तै कथा अरू अत्याचारी सम्राटको बारेमा पनि लेखिएको छ। तर जनता त्यो कथामा विश्वास गर्थे। र निरोको छवि अझ धमिलो भयो।’

रोम शहर जलिरहँदा
सन् ६४ को जुलाई १८ मा रोमको मुटु सर्कस म्याक्सिमस नजिकै आगो लाग्यो। छ दिन, सात रात आगोले रोमलाई निल्यो। कुल चौध जिल्ला मध्ये तीन पूर्ण रूपमा जलेर खरानी भए। सात जिल्लाका धेरै भाग जलेर नष्ट भए। केवल चार जिल्ला मात्र बच्यो । हजारौं मानिस मरे। लाखौं निरीह बने। रोमको गर्व, यसको मन्दिर, यसको सभाघर, यसको पुरानो इतिहास सबैआगोले सखाप पार्यो ।

त्यस बेला निरो कहाँ थिए ? इतिहासकार टासिटसले लेखेका छन्,निरो रोमबाट ३५ माइल टाढा एन्टियममा आफ्नो भिल्लामा थिए। उनले आगोको खबर सुने। तुरुन्तै रोम फर्किए। र राहत कार्यको नेतृत्व गरे।

उनले आफ्नै बगैंचा खोले। त्यहाँ हजारौं घरबारविहीनले आश्रय पाए। र अन्नको व्यवस्था गरे। तर जनता परिवर्तन भइसकेका थिए । उनीहरूले सोच्न थाले: यो सम्राटले नै आगो लगाएको हो। किनभने उनि नयाँ सहर र नयाँ दरबार बनाउन चाहन्थे। इतिहासले ‘डोमस अरिया’ भनेर चिनिन्थ्यो। त्यो दरबार यति ठूलो थियो कि यसले रोमको एक तिहाइ भाग ओगट्ने थियो। यसको पर्खालमा सुन, छानामा हात्तीको दाँत थियो। यसको एउटा गोलाकार कोठा दिनरात घुम्थ्यो। र फूलको पानी छर्किन्थ्यो। यो दरबार आफैंमा एउटा चमत्कार थियो। तर यो बनाउनको लागि मानिसहरूको रगत चुहियो र उनीहरूको घर डढ्यो।

निरोले आफूमाथिको दोष हटाउन एउटा बलि चाह्यो। उनले क्रिस्चियनहरूलाई रोजे। त्यो समयमा क्रिस्चियनहरू रोममा अल्पसंख्यक थिए। र उनीहरूलाई रहस्यमय र भ्रष्ट ठानिन्थ्यो। निरोले आदेश दिए। हजारौं क्रिस्चियन पक्राउ परे। र क्रूर यातना दिइयो। उनीहरुलाई क्रसमा टाँगेर जलाइयो।

निरोले यी दृश्यहरू आफ्नो बगैंचामा रात्रिभोजको रूपमा आयोजना गरे। उनी आनन्द लिन्थे। हाँस्थे, गीत गाउँथे। यो क्रूरता यति धेरै थियो कि क्रिस्चियनहरूले निरोलाई ‘द एन्टिक्राइस्ट’ भन्न थाले। र यो नाम उनको मृत्युपछि पनि टाँसियो।

सन् ६५ मा एउटा षड्यन्त्र भयो। जसको नेतृत्व गयस क्यालपर्नियस पिसोले गरे। योजना सरल थियो। निरोलाई मार्ने र पिसोलाई सम्राट बनाउने। षड्यन्त्रकारीहरूमा सेनेटर, सेना अधिकारी, दार्शनिक, कवि — यहाँसम्म कि सेनेकाका भतिजा कवि लुकन पनि थिए। तर योजना असफल भयो। एक व्यक्तिले सबै कुरा बताइदियो। 

निरो रिसाए र उनले आफ्नो क्रूर पाटो देखाए। त्यसपछि पिसोले आत्महत्या गरे।  सेनेकालाई पनि मृत्युदण्ड दिइयो। लुकनलाई पनि त्यही आदेश दिइयो (उनले आफ्नो कविता सुनाउँदै मरे)। 

कुल ४१ जनामा १८ जनाको मृत्यु भयो। यो घटनापछि निरो पूर्ण रूपमा परिवर्तन भए। उनले कसैलाई पनि विश्वास गरेनन्। उनी बढी एकान्तप्रिय भए।

सन् ६६ मा निरोले ग्रीसको यात्रा गरे। त्यो यात्रा पनि अद्भुत थियो। उनी सेनाको नेतृत्वमा गएनन्, युद्ध लड्न गएनन्। उनी कलाकार बनेर गए। 

उनी ग्रीक खेलहरूमा भाग लिन चाहन्थे। उनले रथ दौडमा भाग लिए (तर रथबाट लडे), अर्को प्रतियोगितामा पियानो बजाए (तर प्रतिस्पर्धीहरूभन्दा कमजोर थिए)। 

तर उनले सबै प्रतियोगिता जिते। कसरी? किनकि निर्णायकहरू डराउँथे। यदि उनीहरूले निरोलाई हराए भने उनीहरू मर्ने थिए। इतिहासले लेखेको छ कि निरोले १८०८ वटा प्राइज जिते। 

यात्राको क्रममा उनले एउटा ऐतिहासिक घोषणा गरे। उनले ग्रीसलाई स्वतन्त्रता घोषित गरे। र कर माफ गरे। ग्रीक जनता खुसी भए। उनीहरूले निरोलाई देवता माने। तर रोममा अर्कै दृश्य थियो। निरो अनुपस्थित थिए। र साम्राज्य अस्तव्यस्त भइरहेको थियो।

सन् ६८ मा गाउल (आधुनिक फ्रान्स) मा विद्रोह भयो। जसको नेतृत्व गयस जुलियस विन्डेक्सले गरे। उनले घोषणा गरे कि ‘निरो अब सम्राट होइन; सिनेटले नयाँ सम्राट रोजोस्।’ स्पेनको गभर्नर गाल्बाले पनि समर्थन गरे। 

सेनाहरू विभाजित भए। निरोले यो सुनेर हाँसे र भने: ‘म एउटा गीत गाउनेछु, र सबै शान्त हुनेछन्।’ तर गीतले काम गरेन। विद्रोह बढ्यो, प्रिटोरियन गार्डले पनि साथ छोड्यो, र सिनेटले निरोलाई राष्ट्रको शत्रु घोषित गरी मृत्युदण्ड दियो। 

निरो रोमबाट भागेर एउटा सानो भिल्लामा लुके। त्यहाँ चारैतिर सिपाहीहरू देखेपछि उनलाई थाहा भयो: अन्त्य भयो। उनले आफ्नो सेवकलाई आफ्नो छुरा दिए र भने,‘मलाई मर्नु छ,कसरी मर्ने?’ त्यसपछि उनले आफ्नो घाँटीमा छुराले हाने; यसमा उनलाई सेवकले सहयोग गर्यो।

निरोको मृत्यु हुँदा उनी मात्र तीस वर्षका थिए। इतिहासकार सुटोनियसले उनको अन्तिम वाक्य लेखेका छन्: ‘क्वालिस आर्टिफेक्स पेरेओ’ अर्थात् ‘कस्तो महान् कलाकार मर्दै छु।’

निरो मरेपछि गृहयुद्ध भयो। एक वर्षभित्र चार सम्राट परिवर्तन भए। ती मध्ये एकले नयाँ राजवंश सुरु गरे। फ्लाभियन राजवंश। यस राजवंशको लागि निरोलाई नराम्रो देखाउनु जरुरी थियो। ताकि नयाँ सम्राट राम्रो देखियोस्। 

त्यसैले इतिहासकारहरूले निरोलाई अत्याचारी बनाएर उनको छवि निर्माण गरे। तर आजको अनुसन्धानले एउटा सत्य बताउँछ। निरो सायद क्रूर थिए। तर उनले रोमलाई आगो लगाएको थिएनन्। किनभने त्यो बेला उनि ३५ माइल टाढा थिए । उसले पोपियालाई लात हानेको पनि शंकास्पद छ। किनभने त्यो कथा पहिले नै अन्य सम्राटको बारेमा लेखिएको थियो। 

यति भन्न सकिन्छ। निरो एक असाधारण व्यक्तित्व थिए। उनी कलाकार थिए। उनि स्वप्निल र कल्पनाशील व्यक्ति थिए। उनीसँग  शक्ति थियो, र त्यही शक्तिले उनलाई विनाशको बाटोमा धकेल्यो।

निरोको मृत्युपछि एक अद्भुत कुरा भयो: जनताले उनको चिहानमा फूल चढाउन थाले। उनीहरूले निरोलाई सम्झिए र अफवाह फैलाए  ‘निरो मरेको छैन। ऊ पूर्वमा लुकेको छ। ऊ एक दिन फर्केर आउनेछ।’ यो अफवाह तीन सय वर्षसम्म जीवित रह्यो। तीन सय वर्षमा धेरै सम्राट आए। गए। तर मानिसहरू निरोलाई बिर्सन सकेनन्। 

किनकि उनि एक चेतावनी थिए। शक्तिले व्यक्तिलाई कसरी विकृत बनाउँछ। कसरी एक साधारण युवा राजा पूर्ण राक्षसमा परिणत हुन्छ। रोम साम्राज्यको इतिहासले हामीलाई यही सिकाउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *