`

ब्रह्माण्ड कत्रो ? आकाशगङ्गा कति ?

समीन बरुवाल ३१ वैशाख २०८३ १९:२७
फिचर

काठमाडौं।  आजसम्मको आधुनिक खगोल विज्ञानका अनुसार ब्रह्माण्डमा आकाशगङ्गाहरूको संख्या निश्चित रूपमा मापन गर्न सम्भव छैन। यसको प्रमुख कारण ब्रह्माण्डको निरन्तर विस्तार र अवलोकन क्षमताको सीमितता हो। यद्यपि वर्तमान अनुसन्धानले देख्न सकिने ब्रह्माण्डमा करिब २ ट्रिलियन आकाशगङ्गा हुन सक्ने अनुमान गरेको छ।  

ब्रह्माण्डका आकाशगङ्गाबारे मानव बुझाइ एकैचोटि निर्माण भएको होइन। यो शताब्दीयौँ लामो वैज्ञानिक यात्राको परिणाम हो। प्राचीन कालमा मानिसहरूले रातको आकाशमा देखिने धमिलो धारा मात्र ठान्थे र यसलाई दैवीय शक्तिको अभिव्यक्तिका रूपमा व्याख्या गर्थे।

सोह्रौँ शताब्दीमा ग्यालिलियोले टेलिस्कोप घुमाएपछि मात्र मानिसहरूले आकाशगङ्गा एकल ताराहरूको समूह हो भन्ने बुझ्न थाले। सन् १९२० को दशकमा एडविन हबलले ‘सेफिड चर तारा’ प्रयोग गरेर एन्ड्रोमेडा नेबुला हाम्रो मिल्की वेभन्दा धेरै टाढा रहेको र यो एउटा छुट्टै आकाशगङ्गा हो भन्ने प्रमाणित गरे। यो नै खगोल विज्ञानको ‘महान वादविवाद’ को अन्त्य थियो।

हबल स्पेस टेलिस्कोपले हबल डीप फिल्ड तस्बिर खिच्यो। आकाशको अत्यन्त सानो टुक्रामा ३,००० आकाशगङ्गा देखियो। त्यसबाट वैज्ञानिकहरूले देख्न सकिने ब्रह्माण्डमा करिब १००-२०० अर्ब आकाशगङ्गा हुन सक्ने अनुमान गरे। तर जेम्स वेब स्पेस टेलिस्कोपको आगमनले यो अनुमान बदलिदियो। 

इन्फ्रारेडमा अवलोकन गर्दा, यसले अत्यन्त टाढा र प्रारम्भिक आकाशगङ्गाहरू पत्ता लगायो। गहिरो मोडलिङको आधारमा वैज्ञानिकहरूले अनुमान बढाएर २ ट्रिलियन पुर्याए। यो केवल संख्याको परिवर्तन होइन। यो ब्रह्माण्डबारे सोचाइमै आएको क्रान्ति हो। किनकी  हामीले देखेको भाग ब्रह्माण्डको अत्यन्त सानो अंश मात्र हो।

तस्वीर स्रोत गूगल :

अब्जर्भेबल युनिभर्स भन्नाले हामीले अवलोकन गर्न सकेको क्षेत्र हो। जसको व्यास करिब ९३ अर्ब प्रकाशवर्ष छ। यो सम्पूर्ण ब्रह्माण्ड होइन। यो हाम्रो दृष्टिको सीमाभित्रको भाग मात्र हो। 

यसभन्दा बाहिर अझ कति विशाल संरचना छ। हामी अनुमान मात्र गर्न सक्छौँ। प्रकाशको गति सीमित हुँदा, १० अर्ब प्रकाशवर्ष टाढाको आकाशगङ्गा हामीले १० अर्ब वर्ष पहिलेको रूपमा देख्छौँ। 

केही क्षेत्रहरू यति टाढा छन् कि तिनीहरूको प्रकाश कहिल्यै हामीसम्म आउने छैन। यसरी हाम्रो ‘अवलोकन’ ब्रह्माण्डको कुनै एक क्षणको एउटा क्षणिक छायाचित्र मात्र हो।

हाम्रो मिल्की वे पनि यस अब्जर्भेबल युनिभर्सको एउटा अत्यन्त सानो हिस्सा हो। तर यसको केन्द्रमा विशाल ब्ल्याक होल छ। र यसकै एउटा बाहिरी बाहुमा हाम्रो सूर्य र पृथ्वी अवस्थित छ। यो सानो ग्रहबाट मानव जातिले सम्पूर्ण ब्रह्माण्ड हेर्ने प्रयास गरिरहेको छ।

मानिलिनुस्, एउटा अन्तहीन लामो लोकल ट्रेन, जसमा हजारौं डब्बा छन्। हामी एउटा डब्बामा बसेका छौँ। हामीले आफ्नो डब्बाको दृश्य मात्र देख्छौँ। अगाडि वा पछाडि कति डब्बा छन्। हामीलाई थाहा हुँदैन। 

ठ्याक्कै त्यस्तै, हाम्रो अब्जर्भेबल युनिभर्स ब्रह्माण्डको एउटा डब्बा मात्र हो। ट्रेन कहिल्यै स्थिर हुँदैन, निरन्तर गुडिरहन्छ। त्यसरी नै ब्रह्माण्ड पनि बिग ब्याङ्गदेखि निरन्तर विस्तार भइरहेको छ। र यो विस्तारको गति अझ तीव्र हुँदै गइरहेको छ। 

यस रहस्यलाई डार्क एनर्जी भनिन्छ। केही आकाशगङ्गाको प्रकाश हामीसम्म कहिल्यै आउने छैन, ती हाम्रो ‘देखिने डब्बा’भन्दा बाहिर छन्। तर हाम्रो जिज्ञासा असीमित छ। हामी आफ्नो झ्यालभन्दा बाहिर हेर्ने प्रयास गरिरहेका छौँ।

आकाशगङ्गाहरू एक्लाएक्लै तैरिएका पथिक होइनन्। तिनीहरू गुरुत्वाकर्षणले बाँधिएर ठूला समूहहरूमा संगठित छन्। सबैभन्दा सानो ‘ग्यालेक्सी ग्रुप’, त्यसभन्दा ठूलो ‘ग्यालेक्सी क्लस्टर’, र सबैभन्दा ठूलो ‘सुपरक्लस्टर’, जस्तै हाम्रो ‘लानियाकिया’, करिब १ लाख आकाशगङ्गा। यी सबै मिलेर बनेको विशाल संरचना हो ‘कस्मिक वेब’, डार्क म्याटरले बुनेको अदृश्य जालो,जसमा धागोजस्ता आकृतिहरू र बीचमा विशाल रिक्त स्थानहरू हुन्छन्।

हाम्रो मिल्की वे ‘लोकल ग्रुप’ को सदस्य हो। जसमा एन्ड्रोमेडा र करिब ५० साना आकाशगङ्गा छन्। मिल्की वे र एन्ड्रोमेडा लगभग साढे ४ अर्ब वर्षपछि टक्कर हुनेछन्। र नयाँ आकाशगङ्गा बन्नेछ। यसले यो देखाउँछ कि  ब्रह्माण्डीय संरचना निरन्तर परिवर्तनशील र गतिशील छ।

ब्रह्माण्डको अनन्त संरचनाको आधार डार्क म्याटर हो। डार्क म्याटरले न प्रकाश उत्सर्जन, अवशोषण, न परावर्तन गर्छ। कुनै टेलिस्कोपले यसको तस्बिर खिच्न सक्दैन। तर यसको गुरुत्वीय प्रभाव स्पष्ट छ। वैज्ञानिकहरूका अनुसार, ब्रह्माण्डको पदार्थ-ऊर्जा मध्ये साधारण पदार्थ लगभग ५% मात्र हो। बाँकी २५% डार्क म्याटर र ७०% डार्क एनर्जी हो।

डार्क म्याटरको पहिलो प्रमाण सन् १९३० मा फ्रिट्ज ज्विकीले पत्ता लगाए। सन् १९७० मा भेरा रुबिनले मिल्की वेको बाहिरी भागका तारा केन्द्र नजिककाजत्तिकै छिटो घुम्नुको कारण अदृश्य पदार्थको विशाल हालो भएको अनुमान गरिन्। जुन पछि पुष्टि भयो।

प्रत्येक आकाशगङ्गा डार्क म्याटरको अदृश्य बादलभित्र डुबेको छ। डार्क म्याटर बिना,आकाशगङ्गा विखण्डित हुनेछन्। र ब्रह्माण्ड हाइड्रोजन ग्यासको धुवाँ मात्र हुने थियो। डार्क म्याटरको वास्तविक प्रकृति अझै रहस्य छ।

यो ब्रह्माण्ड  डाइनामिक छ । आइन्स्टाइनले एक पटक स्थिर ब्रह्माण्डको लागि ब्रह्माण्डीय स्थिरांक थपेका थिए। जसलाई पछि उनले सच्याए । 

तस्वीर गूगल:

ब्रह्माण्डको विस्तार बिग ब्याङ्गबाट सुरु भएको हो। र हबलको नियम यसको प्रमाण हो। सन् १९९० को दशकको उत्तरार्धमा टाढाका सुपरनोभाको अवलोकनले देखायो। विस्तारको गति ढिलो हुँदै गरेको छैन। बरु तीव्र हुँदै गइरहेको छ। यस तीव्र विस्तारको कारण डार्क एनर्जी हो।  जसले गुरुत्वाकर्षणको विपरीत प्रतिकर्षण गर्छ।  

यदि विस्तार यसै गरी तीव्र हुँदै गयो भने, टाढाका सबै आकाशगङ्गा हाम्रो दृष्टिबाट अलप हुनेछन्। भविष्यको कुनै सभ्यताले ब्रह्माण्डलाई हाम्रो लोकल ग्रुप मात्र देख्नेछ। यसलाई ‘ब्रह्माण्डीय अम्नेसिया’ भनिन्छ। अर्को परिदृश्य ‘बिग रिप’ वा ‘बिग क्रन्च’ हुन सक्छ। यो एउटा अनन्त प्रवाह हो।

माथि जतिपनि कुरा आए, २ ट्रिलियन आकाशगङ्गा,डार्क म्याटर, कस्मिक वेब,यी सबै हाम्रो अब्जर्भेबल युनिभर्स मात्र  हो। वास्तवमा, हामीले देख्न, नाप्न र बुझ्न सकेको ब्रह्माण्डको भाग लगभग ५% रहेको छ। 

बाँकी ९५% हाम्रो प्रत्यक्ष पहुँचभन्दा बाहिर छ। हामी एउटा विशाल सागरको सतहमा टर्चलाइट बालेर बसेको यात्रुजस्तै छौँ। टर्चलाइटले एक सानो वृत्त मात्र उज्यालो बनाउँछ।  त्यस्तै हामीले देख्ने ब्रम्हाण्ड टर्चलाइटको वृत्त भित्र मात्र अटाएको मान्न सकिन्छ।

अन्तत: ब्रह्माण्डमा कति आकाशगङ्गा छन् र यो ब्रम्हाण्ड कहाँसम्म फैलिएको छ भन्ने प्रश्नको ठ्याक्कै उत्तर आजसम्म विज्ञानसँग छैन। ब्रह्माण्ड निरन्तर विस्तार हुनु। प्रकाशको गति सीमित हुनु। र डार्क म्याटर तथा डार्क एनर्जी जस्ता रहस्यमय तत्वहरू अझै पूर्ण रूपमा नबुझिनुका कारण यसको वास्तविक स्वरूप अझै अज्ञात छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *