डडेल्धुरामा देउवाविहीन चुनाव: उत्तराधिकारी महर, चुनौती जोशी र निर्णायक ‘मल्ल फ्याक्टर’
काठमाडौं । २०४८ सालयता पहिलोपटक डडेल्धुराको संसदीय निर्वाचन नेपाली कांग्रेस सभापति तथा पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाविना हुँदैछ । कांग्रेसले यसपटक देउवाको राजनीतिक उत्तराधिकारीका रूपमा नैनसिंह महरलाई अघि सारेसँगै डडेल्धुराको चुनावी प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।
तीन दशकभन्दा बढी समयदेखि डडेल्धुराको राजनीति देउवाको वरिपरि घुम्दै आएको थियो। ‘शेरे सुदूरपश्चिम’ को नामले चिनिएका देउवा २०४८ यताका सातवटै संसदीय निर्वाचन जित्ने एकमात्र नेता हुन्। सुदूरपश्चिमका नागरिक राजधानीसँग भौतिक र राजनीतिक रूपमा टाढा रहेका बेला परिवर्तनको नारासहित डडेल्धुराबाट काठमाडौँ झरेका देउवाले राष्ट्रिय राजनीतिमा आफ्नो अलग पहिचान बनाएका थिए।
३० को दशकबाट नेपाल विद्यार्थी संघ हुँदै राजनीतिमा प्रवेश गरेका देउवाले पंचायती व्यवस्थाको दमन भोगे। २०४६/४७ सालको जनआन्दोलनका बेला सडक मोर्चामा चर्को आवाज बनेका उनी तत्कालीन राजा महेन्द्रको व्यवस्थाविरुद्ध खुलेर उभिएका नेतामध्येका एक हुन् । पार्टीभित्र पनि उनले गरिजाप्रसाद कोइरालासँग कडा राजनीतिक संघर्ष गरे। एकपटक पार्टी विभाजनसम्म पुगेको उनको राजनीतिक यात्राले कांग्रेसभित्र कोइराला परिवारको वर्चस्वलाई चुनौती दिएको मानिन्छ।
पंचायत, बहुदल र संघीय लोकतान्त्रिक गणतन्त्र तीनवटै व्यवस्थामा गरी पाँचपटक प्रधानमन्त्री बनेका देउवा पछिल्लो समय राजनीतिक जीवनको उत्तरार्द्धमा छन्। गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि सरकार परिवर्तन नभएको भए देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने सम्भावना थियो । तर आन्दोलनले उनको त्यो आकांक्षामा विराम लगाइदियो।
यसपटक देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छैनन्। कांग्रेसले उनी लड्दै आएको क्षेत्रबाट नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। ‘शेरे सुदूरपश्चिम’ को उत्तराधिकारीका रूपमा महरको आगमनलाई कांग्रेसले पुस्तान्तरणको रूपमा प्रस्तुत गरेको छ।
पूर्व नेपाल विद्यार्थी संघ सभापति महरको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। २१ वर्षको उमेरमा २०५२ सालमा नेविसंघ डडेल्धुराको कार्यवाहक अध्यक्ष बनेका उनी २०५६ मा जिल्ला अध्यक्ष निर्वाचित भए। पत्रकारितामा पनि सक्रिय महरले कान्तिपुर दैनिक, राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा काम गरेका छन्। २०५७ मा नेविसंघको केन्द्रीय सदस्य, २०६४ मा केन्द्रीय उपाध्यक्ष र २०७३ मा सभापति बनेका महर कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उनी कांग्रेस शिक्षा विभाग प्रमुखसमेत भइसकेका छन्।
डडेल्धुरामा महरका लागि मुख्य चुनौती राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तारा जोशी देखिएका छन् । जोशी २०७९ मा डडेल्धुरा प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। पूर्व एमाले नेता २०७५ मा भएको जोशी पार्टी विभाजनका क्रममा अध्यक्ष पदबाट हटाइएपछि एकीकृत समाजवादी हुँदै स्वतन्त्र राजनीतिमा आएका थिए। पछिल्लो समय रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका जोशीलाई जिल्लाका युवामाझ राम्रो छवि भएको उम्मेदवारका रूपमा हेरिएको छ।
नेकपा एमालेले चक्र स्नेहीलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मानसिंह माल मैदानमा छन्। पहिलोपल्ट देउवा बिना हुन लागेको बहुपक्षीय प्रतिस्पर्धाका कारण यसपटकको चुनाव निकै रोचक बन्ने देखिएको छ।
यसपटक काङ्ग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण मल्ल चुनावी मैदानमा छैनन्।
यसबीच डडेल्धुराको यसपटकको चुनावमा निर्णायक देखिएको ‘मल्ल फ्याक्टर’ को चर्चा पनि चुलिएको छ। कांग्रेस बीपीले डडेल्धुरामा वडास्तरसम्म संगठन विस्तार गरेको छ । आन्तरिक मतभेदका कारण २०७९ मा कांग्रेस परित्याग गरेका मल्लले त्यही वर्ष देउवाविरुद्ध उम्मेदवारी दिएका थिए। एमालेको सहयोगमा चुनाव लडेका उनले ७ हजार ५ सय ३५ मत प्राप्त गरेका थिए।
मल्ल आफैँ यसपटक उम्मेदवार छैनन्। तर उनले नेतृत्व गरेको कांग्रेस बीपीले आगामी २१ फागुनको निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्ने आँकलन भइरहेको छ। देउवा पहिलोपटक गृहमन्त्री बन्दा सचिवालयमा सजिलै नियुक्ति पाएका मल्ल देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि नजिकै थिए। दुईपटक डडेल्धुरा कांग्रेस सभापति बनेका मल्ल २०७४ मा प्रदेशसभा सदस्यसमेत निर्वाचित भए ।
२०४८ देखि २०७४ सम्म भएका छ वटै निर्वाचनमा देउवाका चुनावी कमान्डरका रूपमा चिनिएका मल्लको राजनीतिक प्रभाव अझै जिल्लामा कायम रहेको बताइन्छ । भन्ने गरिन्छ- मल्ल लोकरिझ्याईमा चतुर नेता हुन्।
डडेल्धुरामा यसपटक नयाँ राजनीतिक समीकरण र पुस्तान्तरणको परीक्षा हुदैछ । देउवाको उत्तराधिकारी महरको जित होला या अन्य कुनै नयाँ राजनैतिक शक्ति उदाउला ? २१ फागुनमा मतदाताले फैसला सुनाउनेछन्।
