`

साँगामा यसरी हुँदैछ अण्डरपास निर्माणको काम (तस्वीरहरु)

Nepal One HD ११ माघ २०८२ १२:२१
अर्थ समाचार

काठमाडौं । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा दुई लेनको अण्डरपास निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको अण्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ । अण्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ । यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ । साथै अण्डरपासभित्रै २० मिटरको पुल पनि निर्माण गरिने सब–इन्जिनियर ज्ञानमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हालसम्म अण्डरपास निर्माणको करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अहिले फाउन्डेसन तथा सुपरस्ट्रक्चर निर्माणको काम भइरहेको छ । कुल १५.८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । जसअन्तर्गत साँगा–धुलिखेल (८.३ किमी) र सूर्यविनायक–साँगा (७.५ किमी) सडक खण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गरिएको हो ।

आयोजनाकी सूचना अधिकारी इन्जिनियर अञ्जु परियारका अनुसार हालसम्म सूर्यविनायक–साँगा सडकखण्डको भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो । सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडक खण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८.४ किलोमिटर लामो साँगा–धुलिखेल सडक खण्ड चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । यस आयोजनाको प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ गतेसम्म रहेको भए पनि निर्माण अवधि थप गरी २०८३ फागुन मसान्त सम्म पुर्‍याइएको छ ।
तस्वीरहरू : बिजेन अमात्य / नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *