प्रचण्डलाई घनश्याम भुसालले सम्झाए ‘अप्ठ्यारा’ मान्छेहरुले निर्माण गरिदिएका गौरव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नै राजनीतिक इतिहासको आत्मसमीक्षा गर्न आग्रह गर्दै कठोर सन्देश दिएका छन् । पार्टी अनुशासन उल्लंघनको आरोपमा नेताहरूलाई गरिएको कारबाहीप्रति असहमति जनाउँदै भुसालले ‘अप्ठ्यारा तर संघर्षशील पात्रहरू’ लाई पन्छ्याउने प्रवृत्तिले समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।
शनिबार प्रचण्डले पार्टीको आधिकारिक निर्णय विपरीत उम्मेदवार, प्रस्ताव र प्रचारमा संलग्न भएको भन्दै हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहमाथि कारबाहीको निर्णय गरेका थिए । यही निर्णयको पृष्ठभूमिमा भुसालले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई सम्बोधन गर्दै निष्काशनको निर्णय पुनरावलोकन गर्न सुझाव दिएका हुन् ।
भुसालले लेखेका छन्, ‘हरिबोल गजुरेल र महेश्वर दाहालले तपाईको अनुशासन उल्लंघन गरे होलान्, त्यसको सट्टामा सजिला र अनुशासित मानिसहरू भर्ना भइरहेका पनि होलान् । तर नबिर्सिनुस्–तपाईले आफ्नै जीवनमा गौरव गर्ने जे–जति इतिहास छ, त्यो यिनै हरिबोल र महेश्वर जस्ता अप्ठ्यारा मानिसहरूले निर्माण गरिदिएका हुन् ।’
उनले शक्तिशाली नेतृत्वले आलोचनात्मक र असहज प्रश्न उठाउने पात्रहरूको स्थानमा केवल आज्ञाकारी र सहज व्यक्तिहरूलाई अघि सार्न थालेपछि आन्दोलनको वैचारिक उचाइ खस्किँदै गएको दाबी गरेका छन् । ‘जुन दिनदेखि अप्ठेराहरूको ठाउँमा सजिला र अनुशासित मानिसहरूको भर्ती हुन थाल्यो, त्यही दिनदेखि तपाईहरूको गौरवका एक–एक गजुर भत्किन थाले’, भुसालको टिप्पणी छ, ‘त्यसको मूल्य आज समग्र कम्युनिष्ट आन्दोलनले भुक्तान गरिरहेको छ।’
भुसालले प्रचण्डलाई अझ कडा शब्दमा चेतावनी दिँदै भनेका छन्, ‘यदि तपाईमा अझै कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन ।’ उनको आशय वर्तमान नेतृत्व शैलीले आन्दोलनलाई भविष्यतर्फ होइन, अन्त्यतर्फ धकेलिरहेको संकेतका रूपमा लिइएको छ । राजनीतिक वृत्तमा भुसालको यो अभिव्यक्तिलाई केवल व्यक्तिगत टिप्पणी मात्र नभई कम्युनिष्ट आन्दोलनभित्र बढ्दै गएको असन्तोष र वैचारिक द्वन्द्वको प्रतिबिम्बका रूपमा हेरिएको छ । अप्ठ्यारा तर विचारशील नेताहरूलाई व्यवस्थापन गर्ने कि निष्काशन गर्ने भन्ने बहस फेरि एक पटक सतहमा आएको छ, जसले नेकपाभित्रको आन्तरिक राजनीति थप तातिने संकेत देखिएको छ ।
