चितवन-३ : रेणु दाहाल विरासत जोगाउँछिन् कि सोविता गौतम इतिहास रच्छिन् ?
महाभिडन्त फागुन २१, चितवन-३
काठमाडौं । रेणु दाहाल र सोविता गौतम प्रतिस्पर्धामा उत्रिएपछि २१ फागुनको चुनावअघि सबैभन्दा बढी चासो भएको निर्वाचन क्षेत्रमध्येमा पर्छ, चितवन–३ । यो क्षेत्र यतिबेला चुनावी ‘हट सिट’ भएको छ ।
रेणु र सोविता चर्चित नेतृ हुन् । रेणुले दुईपटक मेयर भएर भरतपुर महानगरपालिका हाँकिन् । उनले त्यहाँ जुन विकासको मोडल लागू गरिन् र समृद्ध र विकसित भरतपुर महानगरपालिका बनाइन्, त्यसले उनी सफल मेयरका रूपमा चिनिन्छन् ।
सोविता विघटित प्रतिनिधिसभामा प्रभावशाली ढंगले उठाएको मुद्दा र प्रखर अभिव्यक्तिकलाका कारण चिनिन्छन् । २०७९ मा उनी काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन् । यसपटक चितवन–३ झरेकी हुन् ।
यो चुनाव क्षेत्रमा यसअघि रेणु मेयर भएको भरतपुर महानगरपालिकाको २९ मध्ये १९ वटा वडा पर्दछन् । माडी नगरपालिका पनि यही क्षेत्रमा पर्छ । यहाँका धेरै वडा कांग्रेस, एमाले र तत्कालीन माओवादीले जितेका छन् । माडी भने माओवादीको राम्रो जनाधार भएको क्षेत्र हो । यद्यपि, त्यहाँका मेयर एमालेबाट निर्वाचित छन् ।
यसअघि प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ चुनाव जितेको थियो । त्यहाँबाट उपाध्यक्ष विक्रम पाण्डेले २०७९ मा चुनाव जिते । त्यसबेला उनले ३५ हजार ६० मत पाए ।
कांग्रेसको संस्थापन पक्षको समर्थनप्राप्त तत्कालीन नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८२४ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ८४३ मत पाएकी थिइन् । एमालेले समर्थन गरेको कांग्रेसको बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत पाए ।
तर, प्रत्यक्षमा साढे १४ हजार मत प्राप्त गरेको रास्वपाले दोब्बर बढी मत २८ हजार ४०१ मत पाएर समानुपातिकमा पहिलो बन्यो । प्रत्यक्षमा ३५ हजार मत पाएको राप्रपाले १६ हजार ७५५ मतमा सीमित हुनुुपर्यो ।
तत्कालीन नेकपा माओवादी केन्द्रले १६ हजार ९० मत र नेकपा एमालेले १४ हजार ५२२ मत पाए । नेपाली कांग्रेसले १० हजार ५२४ मत प्राप्त गर्दै समानुपातिकमा पाचौँ दल बन्यो । यसले पनि चितवन–३ को दलीय जनमत थोरबहुत थाहा पाइन्छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ एमालेको समर्थन प्राप्त प्रचण्ड ४८ हजार २७६ मत पाएर विजयी भए । नेपाली कांग्रेसको समर्थन प्राप्त राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाए ।
यसपटक कांग्रेसले टेकप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ । एमालेले शंकर थपलिया र राप्रपाले दीपक थापा मगरलाई उम्मेदवार बनाएको देखिएको छ । राप्रपा नेता पाण्डेले यसपटक दीपकका लागि चुनावी मैदान खाली गरिदिए । यति हुँदाहुँदै पनि यहाँ नेकपाकी उम्मेदवार रेणु दाहाल र रास्वपा उम्मेदवार सोविता गौतम सर्वाधिक चर्चामा छिन् ।
चितवन–३ सर्वाधिक दलीय मत अदलीबदली हुने क्षेत्र हो । यहाँ कहिले माओवादी त कहिले राप्रपाले बढी मत पाएको देखिन्छ । गत निर्वाचनमा समानुपातिकतर्फ रास्वपाले बढी पायो । मतदान प्रवृत्तिको अनुुसन्धान गर्ने अध्येताहरूका अनुसार सहरी मतदाता स्थिर हुँदैनन् । उनीहरू चुनावी हुरी जता बढी चल्छ, त्यतै ढल्किन्छन् । त्यसो हुँदा कहिले माओवादी, राप्रपा त कहिले रास्वपामा मत ओहिरिएको हो । यसपटक के होला ? २१ फागुनमा निर्वाचन मत गणना हुँदै गर्दा थाहा हुन्छ ।
तर, अधिकांश जनता भन्छन्– बोलीले होइन, कामले विकास र समृद्धिको नेतृत्व गर्न सक्ने नेता चाहिन्छ । त्यसो हुँदा भरतपुर महानगरपालिकाको प्रमुख हुँदा विकास र समृद्धिको नेतृत्व गरेको भनेर चिनिएकी रेणु दाहाल बलिया उम्मेदवार ठानिएको छ । उनीसँग प्रतिस्पर्धामा उत्रिएकै रास्वपाकै सोविता पनि प्रभावशाली उम्मेदवार हुन् । उनीहरूको वाचापत्र वा घोषणापत्र भने सार्वजनिक भएका छैनन् ।
यहाँ २०६४ मा तत्कालीन एकीकृत नेकपा माओवादीका नारायणप्रसाद दाहाल निर्वाचित भएका थिए, जो हाल राष्ट्रियसभाका अध्यक्ष छन् ।
२०७० को संविधानसभा निर्वाचनमा भने त्यहाँबाट एमालेका कृष्णभक्त पोखरेलले निर्वाचन जिते । २०५१ र २०५६ मा त्यहाँबाट लगातार कांग्रेस नेता डा. गंगाधर लम्साल निर्वाचित भएका थिए ।
२०६४ मा माओवादीले चितवन– ३ मा कांग्रेसको जनाधार भत्काइदियो । त्यसपछि कांग्रेसले आफ्नो जनाधार कहिल्यै फर्काउन सकेको छैन । बरु, त्यहाँ माओवादी, राप्रपा, रास्वपा र एमालेले जनाधार बलियो बनाउँदै लगेका छन् ।
त्यसो हुँदा यसपटक नेकपाबाट रेणु दाहालले जितको विरासत जोगाउँछिन् कि सोविता गौतमले पहिलो जित निकाल्छिन् ? कि कांग्रेसका टेकबहादुर गुरुङ, राप्रपाका दीपक थापा मगर वा एमालेका शंकर थपलियाले चुनाव जित्छन् ? प्रतीक्षा गर्नुपर्ने छ ।
