`

पर्वतमा ‘हेभिवेट’ प्रतिष्पर्धा : गिरीको ह्याट्रिक दाउ, जोशी चौंथो जितको खोजीमा

रामचन्द्र जोशी १३ माघ २०८२ ११:५९
निर्वाचन विषेश

काठमाडौं। आगामी २१ फागुनमा हुने आमनिर्वाचनसँगै मध्यपहाडी जिल्ला पर्वतमा राजनीतिक तापक्रम चर्किँदै गएको छ। यो पटक पर्वतमा विभिन्न दल तथा स्वतन्त्र गरी १७ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। विगतमा पनि कडा प्रतिस्पर्धा हुने जिल्लामध्ये पर्दै आएको पर्वत यसपालि ‘हेभिवेट’ भिडन्तका कारण देशभरकै ध्यान खिचिरहेको छ।

पर्वतमा नेकपा एमालेका पदम गिरीले पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचन जित्दै बलियो पकड बनाइसकेका छन्। २०७४ र २०७९ दुवै निर्वाचनमा उनले नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीलाई पराजित गरेका थिए। यस पटक पनि गिरी एमालेको तर्फबाट प्रत्याशी बनेका छन्। ओली नेतृत्वको सरकारले उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी समेत दिएको थियो। हाल उनी एमालेको केन्द्रीय सदस्य तथा जिल्लाका इन्चार्ज छन्। लगातार तेस्रो जित निकाल्दै ‘ह्याट्रिक’ बनाउने लक्ष्यसहित गिरी चुनावी मैदानमा छन्।

उता, नेपाली कांग्रेसले पुनः अर्जुनप्रसाद जोशीलाई नै उम्मेदवार बनाएको छ। लगातार दुई हारपछि जोशी पुनरागमनका प्रयासमा छन्। २०५६ मा पहिलो पटक संसद् प्रवेश गरेका जोशीले २०६४ र २०७० को संविधानसभा तथा २०५६ को संसदीय चुनाव जित्दै पर्वतमा तीनपटकको ‘ह्याट्रिक’ गरेका थिए। तर पछिल्ला दुई निर्वाचनमा भने उनलाई एमालेका गिरीसँग पराजित हुनुपरेको थियो। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका जोशीका लागि यो चुनाव ‘अपेक्षा पुनः स्थापित गर्ने’ अवसरका रूपमा हेरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मनहरि शर्मालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सागर भुसाल मैदानमा छन्। माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर विक प्रतिस्पर्धामा छन्। यस्तै राप्रपाका दुर्गाबहादुर मल्ल, मजदुर किसान पार्टीका ऐलिना सुवाल, आम जनता पार्टीकी पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भिमलाल न्यौपाने लगायतले मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय जनमुक्ति पार्टीकी माया पाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टी (उनेपा) का यमबहादुर चोचांगी पुन, मंगोल नेशनल अर्गनाइजेसनकी लालकुमारी थापा राना र नेसनल रिपब्लिक नेपालका बीरबहादुर गुरुङ पनि प्रतिस्पर्धामा छन्। सीतादेवी शर्मा, सावित्री शर्मा, मिना पौडेल शर्मा र गंगालाल रिमाल स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

पर्वतमा २०४८ यताको सातमध्ये चार संसदीय निर्वाचन नेपाली कांग्रेसले जितेको छ भने तीन पटक एमाले विजयी भएको इतिहास छ। २०५१, २०५६, २०६४ र २०७० मा कांग्रेस विजयी भएको यो क्षेत्र पछिल्ला दुई निर्वाचनमा भने एमाले हाबी भयो । २०४८ सालमा भएको संसदीय निर्वाचनमा एमाले विजयी भएको थियो। 

यस पटक भने रास्वपा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीजस्ता नयाँ राजनीतिक शक्ति र वैकल्पिक धाराका दलहरूले पारम्परिक ध्रुवीकरण तोड्दै चुनावी परिणामलाई थप अनिश्चित बनाइदिइने अनुमान गरिएको छ। वैकल्पिक शक्तिको प्रभावले परम्परागत ठूला दलबीचको प्रतिस्पर्धामा नयाँ समीकरण बन्न सक्ने विश्लेषकहरूको बुझाइ छ। पर्वतको प्रतिनिधिसभा निर्वाचन यसपालि पनि कडा, रोचक र बहुआयामिक बन्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *