युवराज सफल पक्राउ
काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।
महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ताको बारेमा तथ्यहीन तथा भ्रम फैलाउने सामग्री तयार गरी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले पक्राउ गरेको हो। सफलले फेसबुकमार्फत सार्वजनिक पदाधिकारीहरूबारे आधारहीन आरोप लगाउँदै गलत सूचनालाई भिडियोजस्तो प्रस्तुतिमा रूपान्तरण गरी निरन्तर प्रसारण गर्दै आएका थिए।
प्रहरीले सफलको गतिविधिले सार्वजनिक संस्थाप्रति जनविश्वास कमजोर पार्ने, तथ्यविहीन सामग्रीमार्फत व्यक्तिगतरूपमा चरित्र हत्या गर्ने प्रयास भएको र यसले सामाजिक सद्भावमा समेत नकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको बताएको छ।
उनी केही दिनयता सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूको नाम लिएर असभ्य भाषा प्रयोग गर्दै सबैलाई जेल हाल्ने धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरिरहेका थिए। त्यस क्रममा उनले कानूनी प्रक्रिया, प्रमाण वा औपचारिक तथ्यसम्बन्धी आधारबिनै आरोप लगाईरहेका थिए।
हाल सफललाई आवश्यक अनुसन्धान र सोधपुछका लागि प्रहरीले हिरासतमा राखेको छ। प्रहरीका अनुसार सामाजिक सञ्जालमा बिना प्रमाण मानहानि हुने सामग्री प्रवाह गर्ने, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको छवी धूमिल पार्ने र धम्कीपूर्ण अभिव्यक्ति दिने कार्य कानूनी रूपमा दण्डनीय हुने भन्दै यस्ता गतिविधिमाथि कडाइका साथ कारबाही अघि बढाइनेछ।
