बैतडी र बागलुङमा आज बिहानैदेखि बाक्लो हिमपात, जनजीवन प्रभावित
बैतडी। तडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो ।
हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
यसैगरी, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।
हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ ।
ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् ।
