हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर
मनाङ। हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र माघ । पहाडी र तराई क्षेत्रमा वर्षा हुँदा हिमाली क्षेत्रमा हिमपात हुन्छ ।
हिमपात भएपछि यहाँका डाँडाकाँडा, खोला, नदी, ताल पूर्णरूपमा जमेका छन् भने हिमपातले सेताम्मे देखिएको छ । यसअघि गत कात्तिक १० र ११ गते हिमपात भएको थियो ।
मङ्सिर र पुस महिनामा हिउँ परेन । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ, घ्यारु, ङावललगायत गाउँ अहिले हिउँले ढाकिएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका घ्याम्चो गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मनाङका गाउँतिर करिब एक फिटभन्दा बढी हिउँ परेको छ । यसले किसान भएका छन् । हिउँ परेपछि यहाँको उत्पादन बढ्ने हो । हिउँ पर्दा जनजीवन केही दिन भने कष्टकर हुन्छ ।”
हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन् । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन मुस्किल भएको छ । पर्यटक पनि रोकिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार अहिले पनि हिमपात भइरहेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक गन्तव्यतर्फ जानबाट रोकिएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले माथिल्लो मनाङ (मनाङ ङिस्याङ) गाउँपालिकामा गए रातिदेखि हिमपात भइरहेको जानकारी दिनुभयो । सदरमुकाम चामेमा हिउँ पर्न रोकिएर पानी परिरहेको छ । “तल्लो मनाङ (नासों गाउँपालिका) को अधिकांश ठाउँमा पानी परिरहेको छ ।
मौसम बदली भइरहेको छ । नार्पाभूमितिर गोठाला १०÷१२ जनाबाहेक नभएको सूचना पाएका छौँ”, प्रजिअ पौड्यालले भन्नुभयो, “तर, मौसम बदली तथा हिमपात र उक्त भूगोलमा सञ्चारको पहुँच पनि कम हुँदा त्यता कसैसँग सम्पर्क भएको छैन, सायद हिमपातले केही कठिनाइ भएको हुनसक्छ ।”
माथिल्लो मनाङमा दुई फिटसम्म हिउँ परेको जानकारी प्राप्त भएको उहाँको भनाइ छ । यतिबेला परेको हिउँ पछिसम्म रहने र सिँचाइको काम गर्ने भएकाले किसान भने खुसी देखिएका हुन् ।
