विप्लवको आरोप: प्रचण्डले कम्युनिष्ट आन्दोलन बदनाम पारे
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट आन्दोलनको कुरुप चित्र भएको टिप्पणी गरेका छन् ।
पार्टीको केन्द्रिय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि महासचिव विप्लवको जिकिर थियो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लैजाने सहमतीबाट भागेर प्रचण्डले यस्तो पार्टी बनाएको आरोप समेत लगाए । महासचिव विप्लवले धेरै मानिस जम्मा गरेर कम्युनिष्ट ठूलो भयो भन्ने ठान्नेहरुसँग आफ्नो एकता हुन नसक्ने पनि बताए ।
उनले भने,‘समाजवादी मोर्चामा पनि हामी बस्यौँ । एकता होस् भनेर हामीले अस्ती अन्तिम समयसम्म पनि प्रयत्न गर्यौँ । तर बाहिर हल्ला के गरियो भने नेकपा (माओवादी) र विप्लवहरु चाहीँ एकतामा आएनन् । पछि हटे । त्यो कुरा झुटो कुरा हो ।’
उनले प्रचण्ड आफैं एकताबाट भागेको आरोप लगाए । ‘प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चा क्रान्तिकारी मोर्चाको मान्यता, मर्म र उद्देश्यबाट भागेको हो,’ उनले भने, ‘भागेर उहाँहरुले पार्टी त बनाउनु भएको छ । तर त्यो पार्टी जस्तो छैन । त्यो मोर्चा जत्तिको पनि छैन । अहिले त्यो पार्टी हेर्नुभयो भने २५ सय, ३ हजारको केन्द्रिय सदस्य । यो कम्युनिष्ट आन्दोलनको हुर्मत लिनेकुरा हो । यो बेइजत गर्ने, बद्नाम गर्ने कुरा हो ।’
महासचिव विप्लवले निर्वाचनको प्रचार अभियानका क्रममा आफू देश दौडाहामा निस्कने पनि बताए ।
