`

जिल्लादेखि केन्द्रीय नेतृत्वमा महाराज, एमालेको चुनावकेन्द्रित आक्रामक रणनीतिको मियो

Nepal One HD १६ माघ २०८२ २१:२४
निर्वाचन विषेश

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष महाराज गुरुङ नियुक्त भएका छन् ।

अध्यक्ष क्षितिज थेबे प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार बनेपछि संघको राष्ट्रिय प्रतिनिधि भेलाले गुरुङलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।

चुनावी माहोल तातेको बेला युवासंघको अध्यक्षमा गुरुङले जिम्मेवारी पाउनुलाई संगठनलाई थप आक्रामक र चुनावी मैदानकेन्द्रित बनाउने रणनीतिक निर्णयका रूपमा हेरिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुरुङलाई नेतृत्वदायी जिम्मेवारी दिनुमा उनको लामो संगठनात्मक अनुभव, आन्दोलनको अग्रपङ्क्तिमा रहने भूमिकासँगै पार्टीप्रतिको निष्ठालाई मुख्य आधार बनाइएको नेताहरू बताउँछन् ।

दोलखाको गौरीशंकर गाउँपालिकामा जन्मिएका गुरुङ विद्यालय उमेरदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए । अखिल (अनेरास्ववियु)बाट राजनीतिक यात्रा सुरु गरेका उनी क्रमशः युवा संघतर्फ आकर्षित हुँदै संगठन विस्तार र सुदृढीकरणमा निरन्तर खटिँदै आए ।

युवा संघ नेपाल दोलखाको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष, अध्यक्ष, तत्कालीन ७५ जिल्लामध्ये उत्कृष्ट अध्यक्ष हुँदै केन्द्रीय कमिटी सदस्य, बागमती सह–इन्चार्ज, केन्द्रीय सचिव, प्रवक्ता, उपाध्यक्ष, संगठन विभाग प्रमुख भएर उनी वरिष्ठ उपाध्यक्ष भएका थिए ।

संगठनलाई केवल दलीय विचार बोकेको संरचनामा सीमित नराखी सामाजिक उत्तरदायित्व र उदाहरणीय कार्यमार्फत जनस्तरसँग जोड्नुपर्ने धारणा उनी राख्दै आएका छन् ।

युवासंघको केन्द्रीय नेतृत्वमा जिल्लाबाट आएको नेताको उपस्थिति कम रहँदै आएको अवस्थामा गुरुङको अध्यक्षमा नियुक्तिलाई संगठनभित्र ‘भूगोलबाट केन्द्रसम्मको नेतृत्व’का रूपमा पनि व्याख्या गरिएको छ । यसले संगठनभित्र जुझारुपन देखाउने र केन्द्रीय नेतृत्वसम्म पुग्न सकिने सन्देश प्रवाह भएको छ ।

नवनियुक्त अध्यक्ष गुरुङको पछिल्ला वर्षहरूमा पार्टीका आन्दोलन र गतिविधिमा भूमिका थप देखिने खालको बनेको छ । विशेषगरी जेन–जी आन्दोलनपछि सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाकर्मी फिर्ता गरेपछि पार्टीका कार्यक्रम र गतिविधिमा सुरक्षा व्यवस्थापनको अग्रपङ्क्तिमा गुरुङ नै खटिँदै आएका छन् ।

पार्टीका विभिन्न कार्यक्रम, आन्दोलन र संवेदनशील गतिविधिमा उनी स्वयं मैदानमा उत्रिएर संगठनलाई परिचालन गर्ने शैलीका कारण पनि उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘भरपर्दो युवा नेतृत्व’का रूपमा लिइने गरिएको छ । एमाले वृत्तमा गुरुङलाई संकटको बेला ढालजस्तै उभिने नेता भनेर चित्रण गरिन्छ ।

एलएलबी र बीबीएस अध्ययनरत गुरुङ संगठनभित्र वैचारिक नेताका रूपमा पनि परिचित छन् । संगठनका प्रायः सबै महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका कारण पनि अध्यक्षको जिम्मेवारी पाउनु गुरुङका लागि स्वाभाविक भएको नेताहरू बताउँछन् ।

गत वर्ष पोखरामा सम्पन्न युवा संघको महाधिवेशनमा गुरुङ ‘म्यान अफ द इलेक्सन’समेत घोषित हुनु उनको संगठनभित्रको प्रभाव र सक्रियतालाई पुष्टि गर्ने आधारका रूपमा हेरिन्छ ।

३८ वर्षीय गुरुङलाई चुनावको मुखैमा अध्यक्षको जिम्मेवारी दिनुलाई एमालेको चुनावी रणनीतिसँग जोडेर पनि विश्लेषण गरिएको छ ।

तीनकुने र बल्खु आन्दोलनलगायत पार्टीविरुद्ध केन्द्रित अभियानहरूको प्रतिवाद र संगठन परिचालनमा गुरुङको भूमिका प्रभावकारी देखिएकै कारण पार्टी नेतृत्वले चुनावी अभियानमा युवासंघलाई अझ आक्रामक ढंगले परिचालन गर्ने लक्ष्य राखेको बुझाइ छ ।

गुरुङले यसतर्फ संकेत पनि गरेका छन् । उनले नेपालवान एचडीसँग भने, ‘निर्वाचनको बेला संगठनलाई राजनीतिक र वैचारिक रूपमा सशक्त मात्रै होइन कि जुझारु संगठन बनाउन खोजिरहेका छौँ । सरकारले निर्वाचन स्वच्छ र निष्पक्ष गर्छ भन्नेमा हामी ढुक्क छैनौँ र नेपाली जनता पनि छैनन्,’ उनले भने, ‘त्यसो हुनाले वडा तहको बुथसम्मै संगठनलाई परिचालन गर्ने र नेपाली जनतालाई चाहेको पार्टी र उम्मेदवारलाई मतदान गर्ने वातावरण मिलाउन भूमिका निर्वाह गर्छौँ ।’

नवनियुक्त अध्यक्ष गुरुङले आफ्नो नेतृत्वमा युवा संघप्रतिको सार्वजनिक छवि बदल्ने दाबी गरेका छन् । पार्टी नेतृत्वविरुद्ध फैलाइएका घृणा, भ्रम र झुटा प्रचारको प्रतिवाद गर्दै युवालाई तथ्य र विचारको आधारमा संगठित गर्ने उनको रणनीति रहने बताएका छन् ।

उनका अनुसार अब युवा संघ केवल नारामा सीमित नभई सामाजिक अभियान, वैचारिक बहस र सांगठनिक सुदृढीकरणमार्फत जनतामाझ पुग्ने छ ।

यसअघि अध्यक्ष क्षितिज थेबेले ४ माघमा गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

त्यसयता संगठनका दैनिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका गुरुङलाई अब औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी दिइनुले पार्टीभित्र उनको हैसियत र प्रभाव बढेको संकेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *