`

ललितपुर-२: रास्वपालाई जगदीशको भर, इतिहास जोगाउने एमालेको प्रयास

रामचन्द्र जोशी १७ माघ २०८२ १४:१४
निर्वाचन विषेश

काठमाडौं । उपत्यकाको परम्परागत रूपमा कम्युनिष्टहरूको बलियो आधार क्षेत्र मानिने ललितपुर–२ मा पूर्व सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले उम्मेदवारी दिएपछि यहाँको चुनावी माहोल थप चर्किएको छ। यसपटक ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जगदीश खरेल, नेपाली काँग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा एमालेबाट प्रेमबहादुर महर्जन र नेपाल कम्युनिष्ट पार्टीबाट राजेन्द्र अमात्य उम्मेदवार बनेका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए। त्यतिबेला उनका मुख्य प्रतिस्पर्धी सुदिन शाक्य रहेका थिए। लौरो चिन्ह भएको हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका शाक्यले ८ हजार ८८६ मत पाए भने महर्जनले १५ हजार २५ मत प्राप्त गरी निर्वाचित भएका थिए। सो निर्वाचनमा रास्वपा ८ हजार ६६६ मतसहित तेस्रो स्थानमा थियो।

पहिलोपटक निर्वाचनमा सहभागि हुँदै एमालेको बलियो जनाधारलाई चुनौती दिएको रास्वपाले यसपटक चर्चित अनुहारका रूपमा जगदीश खरेललाई अगाडि सारेको छ। २५ वर्ष लामो पत्रकारिता जीवन छाडेर राजनीतिमा प्रवेश गरेका खरेलको ‘फेस सेल’ मजबूत भएमा रास्वपा यस क्षेत्रको राजनीतिक समीकरण उल्ट्याउन सक्ने मूल्यांकन गरिन्छ। तर, जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारमा मन्त्री बनेका खरेलले रास्वपा प्रवेश गर्दै उम्मेदवार बनेपछि यसमाथि उठ्ने प्रश्नको जवाफ दिनुपर्ने छ । 

खरेललाई काँग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले यसपटक कडा चुनौती बन्न सक्ने स्थानीयको धारणा छ।

स्थानीयवासीका अनुसार प्रेमकृष्ण महर्जन स्थानीय तहमा प्रभाव र राम्रो जनमत भएका नेता हुन्। अघिल्लो चुनावमा पाँचदलीय गठबन्धनलाई पराजित गर्दै भारी मतान्तरले विजयी भएको एमाले पनि यसपटक जित दोहोर्याउने रणनीतिमा छ। यस्तो अवस्थामा रास्वपाका लागि सहज विजयको वातावरण तयार नभएको विश्लेषण गरिन्छ।

२०४८ यताका सातवटा संसदीय निर्वाचनमध्ये ६ पटक कम्युनिष्ट उम्मेदवार विजयी भएका छन्। एक पटक मात्र काँग्रेसले जित हात पारेको छ। रोचक कुरा के भने—जित निकाल्ने सातै जना उम्मेदवार नेवार समुदायका रहेका छन्। विशेषतः २०५६ सालयताका सबै विजेताहरू महर्जन नै छन्। २०४८ सालको आम निर्वाचनमा एमालेका सिद्दिलाल सिंहले काँग्रेसका मार्सल जुलुम शाक्यलाई पराजित गर्दै २७ हजार २०२ मत प्राप्त गरेका थिए। त्यसपछि २०५१ को मध्यावधि निर्वाचनमा सिंहले पुनः काँग्रेसका चन्द्र महर्जनलाई हराए।

२०५६ सालमा एमालेका कृष्णलाल महर्जन विजयी भए। उनले काँग्रेसका जगतराज्य शाक्यलाई १६ हजार १६९ मतले पराजित गरे। शाक्यले १४ हजार ८७८ मत पाएका थिए। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा राजकाजी महर्जन १७ हजार ८८ मतसहित विजयी भए भने काँग्रेसका चन्द्र महर्जन १६ हजार ३९२ मतसहित दोस्रो भए। २०४८ देखि निरन्तर पराजय भोगिरहेको काँग्रेसले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पहिलो विजय हात पार्यो। अघिल्लो निर्वाचनका प्रत्यासी चन्द्र महर्जनले यसपटक काँग्रेसलाई ललितपुर–२ मा ऐतिहासिक जित दिलाए। उनले २३ हजार २३१ मत पाए भने उनका नजिकका प्रतिद्वन्द्वी सरोज डंगोलले १२ हजार ५९ मत पाएका थिए।

फेरिएको राजनीतिक समीकरणबीच २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले पुनरागमन गर्‍यो। कृष्णलाल महर्जनले काँग्रेसका चन्द्र महर्जनलाई २७ हजार ७१३ मतसहित पराजित गरे। चन्द्र महर्जनले १६ हजार ९४५ मत पाएका थिए।

यसपटक नेकपा माओवादीबाट अष्टराज बज्राचार्य, नेपाल मजदूर किसान पार्टीबाट चिरीमैयाँ महर्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्ण महर्जन प्रतिस्पर्धामा छन्। राष्ट्रिय मुक्ति पार्टीका डोलेन्द्रराज भट्टराई, नेकपा संयुक्तका रमेश आचार्य तथा उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले पनि उम्मेदवारी दर्ता गराएका छन्।

राप्रपा तर्फबाट रघुबर राज थापा उम्मेदवार बनेका छन्। स्वतन्त्र तर्फ उमंग केसी, बाबुराज बज्राचार्य, रविराज पौडेल, ओमराज बज्राचार्य, रवीन्द्र अमात्य, मंगलकृष्ण श्रेष्ठ र कृष्ण खड्काले प्रतिस्पर्धा जनाएका छन्। त्यसैगरी, मंगल नेसनल अर्गनाइजेशनबाट कृष्ण महर्जन, श्रम संस्कृति पार्टीबाट सरोज राई, जसपा नेपालबाट रिहीणी कस्ती, आम जनता पार्टीबाट लखिन्द्र कुमार साह र नेसनल रिपब्लिक नेपालबाट खेमप्रसाद श्रेष्ठ उम्मेदवार बनेका छन्। कुल २३ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको ललितपुर–२ मा यसपटक धेरै नयाँ अनुहार देखिएका छन्। राजनीतिक दृष्टिले संवेदनशील मानिने यो क्षेत्रमा बहुकोणीय प्रतिस्पर्धाले चुनावी माहोल झनै रोचक बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *