६ दिनमा १४ जिल्ला घुमेर काठमाडौं फर्किए बालेन
काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि पश्चिम नेपालको दौडाहा सकेर शनिबार काठमाडौं फर्किएका छन् ।
सोमबार नेपालगञ्ज विमानस्थलमा उत्रिएर सुदुरपश्चिम लागेका शाह बाँकेबाट बर्दियाहुँदै सुदुरपश्चिम गएका थिए । कैलाली र कञ्चनपुरमा पार्टीको कार्यक्रममा सहभागी भएपछि उनी सुदुरपश्चिमका पहाडी जिल्लातिर लागेका थिए । डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीको यात्रा सकेर कर्णाली प्रदेश आएका थिए ।
कर्णालीमा जुम्ला जाने निर्धारित कार्यक्रम छोडेर उनी कालिकोटबाट दैलेख हुँदै सुर्खेत पुगेर काठमाडौं फर्किएका हुन् ।
रास्वपाको चुनावी प्रचारका लागि उनले ६ दिनमा १४ जिल्लाको भ्रमण गरेका हुन् ।
चुनावी प्रचारमा उनीसँगै रहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर भएपछि कार्यक्रम छोट्याएर उनी काठमाडौं फर्किएको शाहको सचिवालयले जानकारी दिएको छ ।
अछाम पुगेको बेला अचानक बेहोस भएका सिटौलालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालमा भर्ना भएका सिटौलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
