`

४४ वर्षमा २० पटक मन्त्री, ७ वटा पार्टी फेरेर ७ पटक सांसद भएका भण्डारीको दशौं उम्मेदवारी (भिडियो)

रामचन्द्र जोशी २१ माघ २०८२ १५:०४
निर्वाचन विषेश

काठमाडौं । ४४ वर्षे राजनीतिक जीवनमा २० पटक मन्त्री र सात पटक सांसद भएका शरतसिंह भण्डारी यसपालि दशौं पटक संसदीय निर्वाचनको मैदानमा उत्रिँदैछन् । उनी नेपालमै सबैभन्दा धेरै पटक मन्त्री बनेका नेता हुन्, जसले गरेको सम्झनलायक काम भने एउटा पनि छैन । 

२०३८ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचनमा पहिलो पटक उम्मेदवार बन्दै जित हात पारेका भण्डारी त्यसयता लगातारजसो सांसद छन् । २०४३को राष्ट्रिय पञ्चायतमा जित दोहोर्याएपछि उनले मन्त्रीमा डेब्यु गरेका थिए । यसपछि जेनजी विद्रोहको समयसम्म आइपुग्दा उनी २० पटक मन्त्री भइसकेका छन् । यतिले नपुगेर २०८२ फागुन २१का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा उनी फेरि उम्मेदवार बनेका हुन् ।

देशमा पटक-पटक व्यवस्था फेरियो । पञ्चायत हटेर बहुदल आयो, अनि गणतन्त्र । तर, कुनै पनि व्यवस्थामा भण्डारीलाई सांसद र मन्त्री बन्न गाह्रो भएन । उनी पञ्चायती व्यवस्थामा दुईपटक र बहुदलिय व्यवस्थामा पाँचपटक गरी सातचोटी सांसद बने। पञ्चायत र बहुदलीय व्यवस्थाका नौ वटा चुनावमा नौ पटक उम्मेदवार बन्दा उनले दुईवटा बाहेक सबै चुनाव जिते र प्राय: सबै सरकारमा मन्त्री हुने चाँजो मिलाए ।

कहिले के के मन्त्री बने? 

भण्डारी पहिलोपटक देशमा सक्रिय पञ्चायती व्यवस्थामा २०४४ सालमा मन्त्री बने। पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान श्रेष्ठको मन्त्रिपरिषदमा उनले स्थानीय विकास सहायक मन्त्रीको नियुक्ति पाए।  त्यसको एक वर्ष नपुग्दै २०४५ मा सिंह नेतृत्वको सरकार पुन:गठित हुँदा उनको वाणिज्य राज्यमन्त्रीमा बढुवा भयो।

पञ्चायतकालमा सुरू भएको उनको मन्त्री बन्ने क्रम प्रजातन्त्रकालमा पनि टुटेन ।  २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी बिनाविभागीय राज्यमन्त्री भए ।

२०५३ पुस २४ मा देउवा नेतृत्वको मन्त्रिपरिषद पुनर्गठन भयो। त्यसमा, उनले बढुवा पाए। बिनाविभागिय राज्यमन्त्रीबाट उनी बिनाविभागीय मन्त्री बने ।

२०५४ असोज २१ मा राप्रपा नेता सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन भयो ।  भण्डारी युवा खेलकुद तथा संस्कृति मन्त्रीमा नियुक्त भए । प्रधानमन्त्री थापाले २०५४ कात्तिक २१ र मंसिर १८ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनले खेलकुदमन्त्रीका रुपमा निरन्तरता पाए ।

२०५६ जेठ १७ मा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा मा सरकार गठन भयो । उक्त सरकारमा पनि भण्डारीले खेलकुद मन्त्रीका रुपमा निरन्तरता पाए । २०५६ असार १६ मा भएको मन्त्रिमण्डल विस्तारमा खेलकुद मन्त्रालय नै पाएका भण्डारीले त्यसै साल फागुन २७ मा भएको पुनर्गठनमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।

२०५८ साउन ११ मा देउवा प्रधानमन्त्री हुँदा भण्डारीका लागि स्वास्थ्य मन्त्रालयको ढोका खुल्यो । 

२०५८ पछि भण्डारीको मन्त्री बन्ने दौडमा ‘ब्रेक’ लाग्यो। करीब आठ वर्ष उनी मन्त्री बन्न पाएनन्। आठ वर्षको थकान मेटाईपछि भण्डारीले मन्त्री बन्ने दौड फेरी सुरु गरे। 

माधवकुमार नेपालको नेतृत्वमा २०६६ जेठमा सरकार बन्यो।  त्यो सरकारमा उनी  पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने। 

२०६८ भदौमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी रक्षामन्त्री भए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भए।  यसले उनको मन्त्री बनिरहेको क्रमलाई भङ्ग गरिदियो। आठ वर्षपछी उनी फेरि मन्त्री बने। 

२०७८ असार २९ मा कांग्रेस सभापति देउवा पाँचौँपल्ट प्रधानमन्त्री बन्नुअघि एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारमा भण्डारी १३ दिनका लागि ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री थिए ।

२०७९ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भयो।  त्यो सरकारमा उनी श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री बने। 

लगत्तै काङ्ग्रेस-एमालेको गठबन्धनपछि प्रचण्ड नेतृत्वको सरकार ढल्यो।  ओलीको नेतृत्वमा नयाँ सरकार बन्यो। भण्डारी फेरि ओली नेतृत्वको सरकारमा पनि  श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री नियुक्त भए। 

अरु नेताहरुका लागि मन्त्री बन्न राजनैतिक दल हेर्नुपर्छ तर भण्डारी भने दल परिवर्तन गरेर भएपनि मन्त्री बने।  उनले आफ्नो राजनैतिक यात्राको सुरुवात नेपाल विधार्थी संघको राजनीतिबाट गरेका थिए। त्यसपछि सक्रिय पञ्चायतको बेला र त्यसपछि बिचमा केही समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहे। २०४७ सालको राजनैतिक परिवर्तनपछि २०५१ सालमा उनले राप्रपा परित्याग गरे । २०५१ को मध्यावधि निर्वाचनमा महोत्तरी-४ बाट स्वतन्त्र उम्मेदवारका रुपमा सांसद निर्वाचित भए। अघिल्लो २०४८ को निर्वाचनमा भने भण्डारी पराजित बनेका थिए।  

त्यसलगत्तै उनी काङ्ग्रेस प्रवेश गरे।  त्यसबेला उनी तत्कालीन काङ्ग्रेस नेता कृष्णप्रसाद भट्टराई निकट मानिन्थे। 

२०५६ को निर्वाचन पनि उनले रौतहटबाटै जिते। यसबेला उनको दल काङ्ग्रेस थियो। 

१० वर्ष कांग्रेसको राजनीति गरेका उनी २०६२/०६३ को जनआन्दोलनपछि  मधेसी जनाधिकार फोरममा प्रवेश गरे । त्यसयता, २०७० बाहेक भण्डारी सदैव मधेसवादी दलबाट निर्वाचित भएका छन् ।

त्यसमध्ये २०६४ मा उनी तत्कालीन फोरमबाट निर्वाचित भए । तर, फोरम विभाजित भएपछि विजयकुमार गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) मा समावेश भए । उनी माधव नेपाल र डा. बाबुराम भट्टराई नेतृत्व सरकारमा मन्त्री भए ।

२०७० मा फोरम लोकतान्त्रिकको उम्मेदवारका रुपमा महोत्तरीबाट पराजित उनी २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित भए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी लोसपाबाट संसदमा आए ।

विगत ३६ वर्षयता पटक–पटक मन्त्री हुँदै आएका उनले मरिचमानसिंह श्रेष्ठ, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ८ जना प्रधानमन्त्रीसँग गरेका छन् । उनले लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, झलनाथ खनाल र सुशील कोइराला नेतृत्वको सरकारमा भने मन्त्री बन्ने अवसर पाएनन् ।

 भण्डारी आफ्नो राजनीतिक जीवनमा यति धेरै मन्त्री बने- यस्तो लाग्छ मन्त्री पद पनि भण्डारीलाई खोज्दै आएको होस्। केही कामै नगरिकन एउतै व्यक्ति ४४ वर्षमा मा २० पटकसम्म मन्त्री कसरी बन्न सक्छ ? यो सायद कि उनै भण्डारीलाई थाहा हुनुपर्छ कि उनलाई मन्त्री बनाउनेलाई थाहा हुनुपर्छ।

भण्डारी फेरि पनि महोत्तरी-२ मा जनता समाजवादी पार्टी, नेपालबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छन् । यो पटक पनि चुनाव जितेर आए भने उनी २१ औंपटक मन्त्री बन्न सक्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *