`

अफ्रिकन स्वाइन फिभरका लक्षण देखिएका बङ्गुर मरेपछि किसान चिन्तित

Nepal One HD १९ माघ २०८२ १९:१०
समाचार

तनहुँ, माघ १९ गते । तनहुँको ऋषिङ गाउँपालिका–७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँच वटा बङ्गुर मरेका छन् ।स्थानीय ऋषिराम थापाले पाल्नुभएका छ वटामध्ये पाँच वटा मरेको हो । करिब रु डेढ लाख मूल्य बराबरको पशुधनको क्षति भएको ऋषिङ गापा पशु शाखा प्रमुख एवं पशु स्वास्थ्य प्राविधिक पूजा खड्काले जानकारी दिनुभयो ।

उहाँकाअनुसार ऋषिङ गाउँपालिका विभिन्न वडामा बिरामी भएका नौ वटा बङ्गुरमध्ये पाँच वटा मरिसकेको र चार वटा बिरामी रहेकाले पशुमा देखिएको लक्षणअनुरुप उपचार गरिएको छ ।

“ऋषिङ गाउँपालिकाका वडा नं २, ४ र ७ मा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरका लक्षण देखिएका छन्,” उहाँले भन्नुभयो, “भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौलीमा ‘र्‍यापिङ टेस्ट’मा पोजेटिभ देखिएको छ ।” मरेका बङ्गुरका नमूना सङ्कलन गरी थप पुष्टि गर्न पोखरा प्रयोगशालामा पठाउन लागिएको सो कार्यालयले जनाएको छ ।

किसानले कहाँबाट बङ्गुरका पाठापाठी ल्याइका हुन्, त्यस विषयमा परामर्श गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख रविन्सन अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अफ्रिकन स्वाइन फिभर बङ्गुरहरूमा लाग्ने अत्यन्तै घातक भाइरल रोग हो, जुन रोगको हालसम्म कुनै उपचार वा भ्याक्सिन उपलब्ध छैन ।”उक्त रोगले आक्रमण गर्दा बङ्गुरमा ज्वरो आउने, रातो धब्बा देखिने, झाडापखाला लाग्नेजस्ता लक्षण देखिन्छ । यस भाइरसबाट बच्न जैविक सुरक्षा अपनाउनु नै मुख्य उपाय मानिन्छ ।

फार्ममा अनावश्यक मानिस, सवारीसाधन, जनावरहरूको प्रवेश निषेध गर्ने, फार्म छिर्नु अघि जुत्ता–चप्पल सफा गर्ने र बेला बेलामा कीटाणुनाशक औषधि प्रयोग गर्न किसानलाई सुझाव दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *