विश्वविख्यात शिक्षाविद्हरूको उपस्थितिमा मदन भण्डारी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह हुँदै
चित्लाङ । नेपालमा विश्वस्तरीय विश्वविद्यालय बनाउने उद्देश्यले विसं २०७९ मा स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट) ले आफ्नो पहिलो दीक्षान्त समारोह यही माघ २५ गते आयोजना गर्ने भएको छ। चित्लाङस्थित आफ्नै परिसरमा आयोजना हुने यस ऐतिहासिक समारोहमा विश्व विख्यात शिक्षाविद् तथा वैज्ञानिकहरुको सहभागिता हुनेछ ।
समारोहका प्रमुख अतिथिका रुपमा उच्च शिक्षाका ख्यातिप्राप्त विज्ञ डा. जमिल साल्मीको उपस्थिति रहने विश्वविद्यालयका बाह्य मामिला तथा स्रोत व्यवस्थापन प्रमुख डा. राजिव सुब्बाले जानकारी दिएका छन् । उनले विश्व बैंकको उच्च शिक्षा संयोजक, डिएगो पोर्टल्स विश्वविद्यालय चिलीमा उच्च शिक्षा नीतिका सम्मानित प्राध्यापक र संयुक्त राज्य अमेरिकाको बोस्टन कलेजको अन्तर्राष्ट्रिय उच्च शिक्षा केन्द्रका अनुसन्धान फेलो रहेर चार दशकभन्दा लामो अनुभव हासिल गरेका छन्।
समारोहको विशेष अतिथिका रूपमा क्यानडाकी प्रा. सुजन फोर्टियर र सिंगापुरका प्रा. सीराम रामकृष्ण रहनेछन्। म्याकगिल विश्वविद्यालयमा उपकुलपति एवं क्यानडाको प्राकृतिक विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान परिषद्की अध्यक्ष रहेकी प्रा. फोर्टियर अनुसन्धान र नवप्रवर्तनमा परिवर्तनकारी योगदानका लागि परिचित छिन् । प्रा. रामकृष्ण इलेक्ट्रोस्पिनिङ र न्यानोप्रविधिका अग्रणी वैज्ञानिक हुन् । अहिले उनी चीनको सिंह्वा विश्वविद्यालयका चेयर प्रोफेसर तथा चिनिया विज्ञान प्रतिष्ठान (कास) का प्राज्ञ पनि हुन्। उनीहरु दुवै जना एम्बस्ट बोर्ड अफ ट्रस्टीजमा छन् ।
दीक्षान्त समारोहको सभापतित्व विश्वविद्यालय बोर्ड अफ ट्रस्टीजका अध्यक्ष उद्योगी पद्म ज्योतिले गर्नेछन् ।
समृद्ध र न्यायपूर्ण नेपालको अभियानमा सहभागी हुँदै देशमा विश्वस्तरीय उच्च शिक्षा र उत्कृष्टता केन्द्रको विकास तथा नवप्रवर्तनको प्रवर्द्धनमा जुटिरहेको यस विश्वविद्यालयमा हाल जैविक कृषि, वन्य जैविक श्रोत, दिगो तथा उत्थानाशील पूर्वाधार, कृत्रिम बौद्दिकता तथा तथ्यांक विज्ञानको स्नातकोत्तर र विद्यावारिधिका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। कार्यक्रममा ६६ जना विद्यार्थीहरु अनुसन्धानरत छन् । यस वर्ष तीन जना विद्यार्थीहरु दीक्षित हुनेछन् ।
