भाषणले होइन, कामले जित्छु, मेरो जित सबै पाँचथरवासीको हुन्छ : नरेन्द्रकुमार केरुङ (अडियो वार्तासहित)
काठमाडौं । देशको पूर्वी पहाडी जिल्ला पाँचथरमा नेपाली कांग्रेसले नेता नरेन्द्रकुमार केरुङलाई उम्मेदवार बनाएको छ ।
उनी चुनावी अभियानको क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन् । प्राज्ञिक क्षेत्रबाट राजनीतिमा आएका उनी पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
३५ वर्ष राजनीतिमा जीवन व्यतित गरेका केरुङले पाँचथरे जनताको जनादेश र मतादेश प्राप्त गरेर संसद जान चाहेका छन् । उनीसँग नेपालवान एचडीका लागि जंग तामाङले गरेको चुनावी संवादको सम्पादित अंश प्रस्तुत छ ।
000
पाँचथरसहित पुरै देश चुनावमय छ । तपाईँ पनि चुनावी अभियानमा हुनुहुन्छ, नेपाली कांग्रेसको उम्मेदवारको रूपमा । मतदाता के भन्दैछन् ?
मतदाताहरूको एकदम प्रष्ट जवाफ के छ भने अब भाषण होइन । कामै चाहिन्छ । रोजगारी, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटनजस्ता विषयमा प्रत्यक्ष रूपमा सुधार चाहिरहेका छन् । त्यसैले कांग्रेसप्रति नै यो आशा भएको हुँदा त्यो आशा चाहिँ अब नतिजामै परिणत हुन्छ भन्ने कुरा गरिरहेका छन् हाम्रा दाजुभाइ र दिदीबहिनीहरूले ।
तपाईँबाट मतदाताको आशा पूरा हुन्छ त ?
म चाहिँ अब काममा विश्वास गर्दछु, भाषणमा होइन । मैले हरेक कुरालाई जिम्मा लिएपछि, हरेक कुरालाई आफ्नो जिम्मेवारी हो भन्ने ठानेपछि, त्यो कुरामा एकोहोरो लाग्ने हो । मेरो बानी त्यो हो ।
यो मेरो स्वभाव सबै दाजुभाइ, दिदीबहिनीहरू र मतदाताहरूलाई थाहा छ । त्यसकारणले यी यावत् विषयवस्तुहरू जे छन्, ती विषयवस्तुहरूमा सुधार गर्नका निम्ति र पाँचथरेलाई परिवर्तन गर्नका निम्ति उम्मेदवारी हो ।
भाषणमा भन्दा काममा बढी विश्वास गर्ने भनेर मेरो एउटा इम्प्रेसन पनि परेको छ । त्यसकारणले मेरो त्यो कार्यशैलीको कारणले पाँचथरे जनता अलि बढी आश्वस्त हुनुहुन्छ, अलि भरोसा राख्नुहुन्छ ।
उसो भए प्रतिनिधिसभा सदस्य उमेदवार बनेको पहिलो पटकमै तपाईँलाई पाँचथरे मतदाताले चुनाव जिताउँछन् त ?
प्रतिनिधिसभा यो मेरो उम्मेदवारी पहिलोपटक नै हो । तर, जनतासँगको सम्बन्ध चाहिँ ३५ वर्ष भयो । ३५ वर्षको मेरो लामो सङ्घर्ष जो जनताको सेवामा बितेको छ । मेरो खाउँखाउँ लाउँलाउँको उमेर त्यहाँ बितेको छ । जोवन र जवानी मेरो त्यहाँ बितेको छ । अनि, त्यो पनि निस्वार्थ रूपमा समर्पित भएको छ । त्यसकारणले अहिलेसम्म मैले गरेका कामहरू, मैले राख्ने विचारहरू, मेरो आफ्नो इमान्दारिता जुन छ, त्यो पाँचथरे दाजुभाइ, दिदीबहिनीहरूले अत्यन्तै नजिकबाट देख्नुभएको छ ।
मैले पाँचथर जिल्लाको उकालीओराली हिँडेको छु । दुर्दिम्बाको टोखादेखि माथि फलैँचाको बर्मेेसम्मका सबै जनताको भावनालाई म पढ्न सक्छु । त्यहाँका सबै दाजुभाइ तथा दिदीबहिनीहरूको मुहार हेर्दाखेरि उहाँहरूको आकाङ्क्षाहरू, चाहनाहरूलाई म पढ्न सक्छु, अध्ययन गर्न सक्छु । त्यसैले जनताले जिताउँछन् भन्नेमा पूर्ण विश्वस्त छु ।
यो जित फेरि नरेन्द्रकुमार केरुङ अथवा रुख चिन्ह अथवा नेपाली कांग्रेसको मात्रै जित होइन । यो जित चाहिँ, सबै पाँचथर जनताको जित हो भन्ने मैले सबैलाई फिल गराएको छु ।
तर, जेन–जी विद्रोहपछिको परिवर्तित राजनैतिक परिस्थितिमा हुन लागेको निर्वाचनमा जितका लागि देशकै पुरानो लोकतान्त्रिक दल कांग्रेस उमेदवारको रूपमा तपाईँलाई असहज छैन ?
जेन–जी परिवर्तनभित्र मेरो आफ्नो भावना पनि जोडिएको छ । त्यसैले मैले असहज पटक्कै ठानेकै छैन । बरु मैले सजिलो ठानेको छु । किनभने जेन–जी परिवर्तन चाहन्छ । जेन–जी पुस्ताले जुन चाहेको परिवर्तन हो । त्यो परिवर्तनको जग नेपाली कांग्रेस हो । किनभने नेपाली कांग्रेस र लोकतन्त्र, नेपाली कांग्रेस र प्रजातन्त्र चाहिँ पर्यायजस्तै हो । नेपाली कांग्रेस पुरानो र जेठो पार्टी हो ।
नयाँ सोच र परिवर्तनलाई आत्मसात गर्न सक्ने पार्टी पनि हो । त्यसकारणले हामी फेरि एकचोटी हाम्रो पार्टीमा परिवर्तन भयौँ, हामी बदलियौँ, हाम्रो पार्टीलाई परिवर्तन गर्यौँ । हाम्रो नीति परिवर्तन गर्यौँ, हाम्रो विधान परिवर्तन गर्यौँ । हामीले हाम्रो नेतृत्व पनि परिवर्तन गर्यौँ ।
विश्वमा घटेका तीनवटा महत्वपूर्ण राजनीतिक घटनामध्ये नेपाली कांग्रेसको परिवर्तनको पक्षमा जुन किसिमको एउटा माहोल देखियो, हो त्यो परिवर्तन तेस्रो घटना हो । भनेपछि, सबै जनताले परिवर्तन चाहने खास पार्टी चाहिँ नेपाली कांग्रेस रहेछ र त्यो नेपाली कांग्रेसबाट जति पनि उम्मेदवारहरू हुनुहुन्छ, उहाँहरू परिवर्तनको पक्षमा, जेन–जी विद्रोहको मुद्दाको पक्षमा, युवाहरूको पक्षमा हुनुहुन्छ भन्ने कुरामा जनता पूर्ण विश्वस्त छन् ।
त्यसकारणले मलाई जेन–जी विद्रोहपछि आएको परिवर्तित जुन राजनीतिक परिस्थिति छ, त्यो परिस्थितिसँग बिल्कुलै असहज महसुस भएको छैन । बरु अझ धेरै सहज महसुस भएको छ । जेन–जी भावना पनि हो । म आफूलाई पनि जेन–जी भन्न रुचाउँछु तर भावनाले । त्यसो भएको हुनाले नवपुस्तासँग सम्वाद गरेर राजनीतिलाई अगाडि बढाउने अठोटमा म भएको हुनाले असहज छैन ।
चुनावी राजनीतिको मैदानमा त पुराना दल, तिनका उम्मेदवार र नयाँ दल र तिनका उम्मेदवारबीच कित्ताकाटै भएको देखिन्छ नि ?
म चाहिँ बढी कित्ताकाट भन्दा पनि अन्तर सम्वादमा विश्वास गर्ने हो । पहिले हामीले जिल्ला विकास समितिमा सर्वदलीय संयन्त्र हुँदा पनि, सबै पार्टीका नेताहरूसँग अत्यन्तै सहिष्णु र अत्यन्तै मित्रतापूर्ण सम्बन्ध राखेका थियौँ ।
अहिले पनि सबै हाम्रो पाँचथर जिल्लाबाट ण्उम्मेदवारी दिनु भएका सबै उम्मेदवार हाम्रा आदरणीय नेताहरू जो हुनुहुन्छ, उहाँहरू सबैसँग मेरो अत्यन्तै राम्रो सम्बन्ध छ । झन् नयाँ पुस्ता, नयाँ पार्टी अथवा पुरानो पार्टी जे भने पनि सबै हाम्रै जिल्लाका नेताहरू हुनुहुन्छ ।
उहाँहरू सबैसँग मेरो समन्वयात्मक सम्बन्ध छ । उहाँहरू सबैसँग मेरो सम्पर्क भइरहेको छ । त्यसो हुनाले कित्ताकाट नै भनेर जुन भन्नुभयो, त्यो अवस्था छैन ।
अर्को विषय, नेपाली कांग्रेसभित्र त अन्तरघातको रूप डरलाग्दो पनि हुन्छ । यो चुनावी परिणाम आफ्नो पक्षमा पार्ने सन्दर्भमा तपाईंले अन्तरघातलाई चुनौतिको रूपमा लिनुभएको छैन ?
मैले यो कुरालाई लिएको छैन । किनभने, हाम्रा पार्टीको यसपटकको उम्मेदवारी भनेको बिना कुनै विवाद भयो । उम्मेदवारीमा कहिलेकाहीँ विवाद हुँदाखेरि त्यो किसिमको परिस्थितिहरू आउन सक्ने हुन् । तर, त्यो पनि छैन र यसपटक अन्तरघातमा भन्दा पनि बढी म अन्तरसम्वादमा विश्वास गर्दछु ।
म आफू अन्तरसम्वादबाट हाम्रा पार्टीका सिनियर पङ्क्ति जो हुनुहुन्छ, उहाँहरूलाई सदैव मैले सम्मान गर्दै नै आएको छु र उहाँहरूले पनि मलाई आशीर्वाद दिँदै आउनुभएको छ । यसकारणले यो पटक तपाईंले भन्नुभएको चुनौतीको अवस्था छैन । पार्टीभित्र असन्तुष्टिहरू हुन्छन्, ठूलो पार्टी हो ।
हाम्रो केन्द्रीय सभापति गगन थापाज्यूका अनुसार नेपाली कांग्रेस जिउँदाहरूको पार्टी हो, लास र दासको पार्टी होइन । यथार्थ जिउँदो हुनेबित्तिकै केही हलचल हुन्छ । स्वस्थ शरीरका हातहरू चल्छन्, खुट्टाहरू चल्छन् । हातखुट्टा चल्ने क्रममा कतैकतै अलिकति लागेको छ भने त्यो कुराहरूलाई समाधान गर्दै जाने हो । त्यो प्रयास भइरहेको छ । तर, त्यस्तो किसिमको समस्या पनि देखिएको छैन । त्यसकारणले गर्दाखेरि यो चुनौतिको रूपमा यसपटक छैन ।
तपाईं त प्राज्ञिक क्षेत्रबाट राजनीतिमा सक्रिय हुनुभएको नेता पनि हुनुहुन्छ । समृद्ध र विकसित पाँचथर बनाउने तपाईंको ५ वर्षको मार्ग चित्र के हो ?
मेरो आफ्नो प्लानिङ वा मार्गचित्र या रोडम्याप भनौँ, सबैभन्दा पहिले पाँचथरे जनताले यो चोटी निर्वाचित गराउनुहुन्छ, म पूर्ण विश्वस्त छु । सबैको आशीर्वाद प्राप्त भएको हुनाले प्रत्येक ३ महिनामा ‘सांसदसँग जनता’ भन्ने एउटा कार्यक्रम राख्छु । त्यो कार्यक्रम प्रत्येक पालिकाको सकेसम्म दुई ठाउँम गर्ने हो ।
कार्यक्रमअन्तर्गत प्रत्येक पालिकामा हाम्रा जनताका समस्याहरू, हाम्रा विकास निर्माणसम्बन्धी कुराहरू र उहाँहरूका गुनासाहरू सुन्ने हो । गुनासो सुनेपछि शान्त हुन्छन् । गुनासाहरू सुनाउने ठाउँ नभएरै देशमा असन्तुष्टि बढेको हो । इरिटेसन बढेको हो । यसो भएको हुनाले, गुनासाहरूलाई नियमित सुनेपछि योजना, विकास आदि विषयवस्तुमा व्यापक मात्रामा नियमित रूपमा छलफल गरेपछि यसबाट मार्गचित्र निस्किन्छ ।
लोकप्रिय कार्यक्रमहरू ल्याउने होइन, जनताको इच्छा, चाहना र आवश्यकतामा आधारित कार्यक्रमहरू ल्याउने हो । त्यसले एउटा रोडम्याप दिन्छ । त्यसका अतिरिक्त कृषि हो । हामी कृषिप्रधान देशका नागरिक हौं । त्यसकारणले कृषि उद्योगलाई नै अलि बढी महत्व दिने । सम्बन्धित ठाउँहरूमा लबिङ गर्ने, श्रोत खोज्ने र प्लानिङ बनाउने । विशेष गरेर हाम्रोमा अलैँची छ, अदुवा छ, जडीबुटीहरू छन्, अम्रिसो छ ।
यिनीहरूको प्रसोधन अनि त्यस्तै किबी पनि अहिले हाम्रो गाउँघरमा अत्यन्तै धेरै उत्पादन हुने गर्दछ । यसका अतिरिक्त हाम्रो गाउँघरमा उत्पादन हुने आलु, आल्चा, नासपातीजस्ता छन् कृषिसँग सम्बन्धित । पाँचथरको समृद्धिको एउटा प्रमुख आधारको रूपमा कृषि उद्योगलाई दिल दिमागले पहिल्यैदेखि प्राथमिकतामा राख्नुपर्छ भन्ने लाग्छ । दोस्रोमा, शिक्षालाई सीपसँग जोडिदिने ।
शिक्षा र सिपलाई सँगै जोडिदिएपछि रोजगारी सिर्जना हुन्छ, जसले गर्दाखेरी सीपले रोजगारीहरू सिर्जना हुन्छ । त्यससले गर्दा व्यापक रूपमा उत्पन्न भएका युवाहरूको असन्तुष्टि सम्बोधन हुन्छ । हाम्रो पाँचथर जिल्लाबाट वार्षिक रूपमा ५ हजार बढी युवा साथीहरू रोजगारीको सिलसिलामा विदेशिनुपर्ने बाध्यता छ । हाम्रो पाँचथरबाट बाहिरिने जनसंख्यालाई जिल्लामै काम गर्ने वातावरण र उत्साह सिर्जना गर्न सकियो भने देश समृद्ध बन्नलाई धेरै समय लाग्दैन भन्ने लाग्छ ।
त्यसको साथसाथै हामीले छुन नसकेको एउटा सेक्टर छ– पर्यटन । पर्यटनको विकास गर्न पूर्वाधारको विकास गर्नु पर्दछ । तल हाम्रो लिम्बाको लेकगाउँमा रहेको गुदुलाबुदुला तालसँग फलैँचाको तिम्बुपोखरीलाई जोड्ने मेरो सपना छ । अब त्यो जोड्दै गर्दाखेरी फिदिमबाट प्रारम्भ भएर लुङ्रुपा हुँदै सन्दकपुर पुग्नको निम्ति ५० किलोमिटर भित्र पुग्न सकिन्छ ।
५० किलोमिटरको भौतिक पूर्वाधार (सडक)लाई विकास गर्न सकियो भने सन्दकपुर जाने विदेशी पाहुनाहरू सिधै सन्दकपुरबाट कञ्चनजंघाको बेसक्याम्पसम्म जानसक्ने, तिम्बुपोखरीसम्म जान सक्ने रुट सजिलो हुन्छ । त्यसैले पर्यटन सँगसँगै पूर्वाधार निर्माण गर्नुपर्छ । सम्भावित पर्यटकीय ठाउँहरू जोेरपोखरी कुम्मायक कुस्सायक मिक्लाजुङका डाँडाहरू देखि लिएर तिजोक, तुम्बेवा यी सबै हाम्रा धार्मिक स्थलहरू हुन् ।
त्यस्तै चारराते भयो । यता हाम्रो फालेलुङ भयो । सुकेपोखरी भयो । त्यस्तै, पौवाभञ्ज्याङ, हाम्रो धार्मिक हब बनाउन सकिने महागुरुको तपोभूमि लब्रेकुटी र समाधिस्थल सिलौटीलाई अन्तर्राष्ट्रिय धार्मिक केन्द्र बनाउन सक्छौँ । काम गर्ने मौका नपाएर मात्रै हो, पाएपछि पाँचथर जिल्लाको समृद्धिको खाका कोर्न कुनै अप्ठ्यारो छैन । किनभने हामीले यहाँका पाखाभित्ता चिनेका छौं । उकालीओराली गरेका छौँ । यहाँको डाँडाकाँडा हिँडेका छौं ।
पाँचथरका सुखाग्रस्त क्षेत्रहरुमा खानेपानी समस्या छ, अर्कोेतिर हिउँदभरी गाडी चल्छ । वर्षयाममा ठप्प हुने जिल्लाका सडकहरू थुप्रै छन् । अर्कोतिर हेवा खोलामा अस्थायी खालको पुल छ । फेमे खोलामा वर्षेनी समस्या आइरहन्छ । यी क्षेत्रहरूमा पुल निर्माणमा तपाईं निर्वाचत भएको अवस्थामा समन्यकारी भूमिका हुन्छ ?
पाँचथरे जनताले निर्वाचित गरेर पठाइ सक्नु भएपछि म चाहिँ ठाँट पल्टेर, आदेश छाडेर, घमण्ड गरेर आफूलाई पदीय रूपमा म माननीय हो भन्ने सम्झिएर बस्ने होइन । म त जनताका फाइलहरू, व्यक्तिगत फाइलदेखि सामूहिक विकास निर्माणका फाइल बोकेर सिंहदरबारको प्रत्येक कोठाकोठा जाने हो नि । विभागहरू कहाँ छन् ? मन्त्रालयहरू कहाँ छन् ? सांसदले गर्ने त त्यो होला ।
जनताका हर विकास निर्माण र दुःख सुखमा खट्ने होला । त्यसकारणले आफूलाई जनताको सच्चा सेवक ठानेर, आफू जनताको सच्चा नोकर ठानेर मैले जनताका विकास निर्माणका सबै फाइलहरू बोकेर सिंहदरबारका अथवा विकास निर्माणका मन्त्रालयहरू, विभागहरू, यो सबैको कोठा/चोठा चहार्ने हो ।
एउटा सांसदको जिम्मेवारी प्राप्त गरिसकेपछि रेस्पोन्स गर्छ नि त । पाँचथरे दाजुभाइ दिदीबहिनीहरूको आशीर्वाद प्राप्त गरेर निर्वाचित भइसकेपछि, जनताको कामको निम्ति म अहोरात्र खट्छु ।
तपाईंका चुनावी प्रतिबद्धता सार्वजनिक चाहिँ कहिले हुन्छ ?
हाम्रो केन्द्रीय सभापतिज्यू र उपसभापतिज्यूहरूले एक हप्ताभित्र घोषणापत्र ल्याउँछौँ भन्नुभएको छ । केन्द्रले ल्याएपछि स्थानीय घोषणापत्रहरू तयारी गर्छौं ।
घोषणा पत्र कार्यान्वयनमुखी आउँछ कि लोकप्रियतामुखी ?
लोकप्रियता मलाई त्यति धेरै विश्वास लाग्दैन । लोकप्रियभन्दा बढी कार्यान्वयनमुखी र व्यवहारवादी हुनुपर्छ । भोलि हामीले ल्याएका घोषणापत्रहरू कार्यान्वयन गर्न सकियोस् । नेपालमा रेल, रेल, रेल भन्ने कुरा ।
पानीजहाज भन्ने कुराहरू हामीले कार्यान्वयन गर्न रेल त सकिएला मधेशमा । तर, पानीजहाज, मंगलग्रहमा हाम्रो बस्ती, मंगल ग्रहमा हाम्रो यान, यी कुराहरू व्यावहारिक होइनन् । लोकप्रिय नाराहरू हामीलाई थाहा छ राम्ररी । जनताको मनमुटु के ले छुन्छ, थाहा छ ।
पाँचथर जिल्लाको लोकप्रिय कुरा के हुन सक्छ ? त्यो पनि थाहा छ । तर, लोकप्रिय कार्यक्रमहरूले दिगोपन ल्याउँदैन । त्यसकारणले लोकप्रिय भन्नाले खाली जनतालाई रिझाउने खालको मात्रै नगरिकन कार्यान्वयन गर्न सजिलो हुने खालको कार्यक्रमहरू ल्याउँछौँ ।
