मतदाता- मिडियालाई कन्ट्रोल नगरी हुँदैन, जगदीश खरेल- यो पटक जिताउनुपर्यो(भिडियो)
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्दै घरदैलो अभियानमा छन् ।
चुनाव गर्ने अभिभारासहित सरकार जाने तर राजीनामा दिएर चुनावी मैदानमा आउने निर्णयले आलोचित उनी मतदाताहरूसँग भेट गर्दै मत मागिरहेका छन् ।
बुधबार मत माग्ने क्रममा उनको भेट केही मतदातासँग भयो । त्यहाँ उनलाई एक मतदाताले खरेललाई सञ्चारमन्त्री भइसकेको र मिडिया बुझेको उम्मेदवार भन्दै भने, ‘मिडियालाई कन्ट्रोल नगरी हुँदैन ।’
मिडियालाई स्वतन्त्र छाड्दा देश बर्बाद भएको रूपमा चित्रण गर्दै उनले मिडियामाथि नियन्त्रण गर्नु अपरिहार्य रहेको बताए ।
त्यतिञ्जेल मुस्कुराउँदै सुनिरहेका खरेलले अन्तिममा ती मतदातालाई भने, ‘अब यो पटक जिताउनुपर्यो ।’
आफूलाई निर्वाचित गरे ती मतदाताले भनेझैँ मिडियामाथि नियन्त्रण गर्न सकारात्मक रहेको संकेत खरेलले दिएका हुन् ।
