`

काठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, बायाँका भरमा कोलकाता ‘डाइभर्ट’

Nepal One HD २१ माघ २०८२ १६:५१
प्रमुख खबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ। टर्किस एयरलाइन्सको उडान नम्बर टीएचवाई ७२७ बुधबार दिउँसो १ बजेर २८ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको थियो। उडेको करिब चार मिनेटमै जहाजको दायाँ इन्जिनमा आगलागी भएको जानकारी आएको विमानस्थल प्रशासनले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार जहाजका क्याप्टेनले उडानको चार मिनेटमै दायाँ इन्जिनमा आगो लागेको सूचना दिएका थिए। त्यसपछि चालकदलले जहाजलाई पश्चिम दिशातर्फ मोडेर दायाँ इन्जिन बन्द गरी करिब १० देखि १२ मिनेट आकाशमै होल्ड गरेको थियो।

ए३३०–३०३ सिरिजको उक्त वाइड बडी जहाजमा २ सय २५ जना यात्रु सवार थिए। आगलागीको खबर प्राप्त हुनासाथ त्रिभुवन विमानस्थल करिब १५ मिनेटका लागि पूर्ण रूपमा बन्द गरिएको थियो। दमकल, एम्बुलेन्स तथा अन्य आवश्यक सुरक्षाका सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखिएको विमानस्थल प्रशासनले जनाएको छ।

यसैबीच, टर्किस एयरलाइन्सको चालकदलले जहाजलाई भारतको कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेपछि विमानस्थल प्रशासनले त्यसको अनुमति दिएको थियो। दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको र बायाँ इन्जिनको सहायतामा जहाज सुरक्षित रूपमा कोलकातामा अवतरण गरेको महाप्रबन्धक सिटौलाले जानकारी दिएका छन्।

घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन पुनः सामान्य अवस्थामा फर्किसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *