‘सत्ताको खेल होइन, योजना ल्याएर जनताको काम गर्ने नेतृत्व चाहिन्छ भन्दै नयाँ सोच र खोजको खबरदारी’
काठमाडौं । नेपालको विद्यमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाले एउटा कुशल नेतृत्वको आवश्यक रहेको भन्दै नयाँ सोच र खोजले खबरदारी सभा गरेको छ ।
कृषि, उद्योग, पर्यटन र ऊर्जा नेपालका समुन्नतिका आधार हुन् । विगतमा यस्ता पूर्वाधारको समष्टिगत रूपमा विकासको योजनाहरू तर्जुमा भए पनि खासै उपलब्धिमूलक देखिंदैनन् ।
परिवर्तनका नयाँ सोच र खोजले कृषि, उद्योग, पर्यटन र ऊर्जा नेपालका समुन्नतिका आधार बनाउने नृतृत्व आगामी निर्वाचनबाट आहोस भनेर खबरदारी सभा गरेको जनाएको छ ।
नेपालमा पनि समय कालखण्डमा त्यस्ता नेतृत्व नहुँदा विकास र अर्थतन्त्रमा सुधार नभएको भन्दै आज माइतीघर मण्डलामा परिवर्तनका लागि नयाँ सोच र खोज अभियानले खबरदारी सभा गरेको छ ।
वर्तमान समयका लागि एउटा दूरदर्शी राजनीतिक नेतृत्व नवपुस्ताले अपेक्षा अनुसार नहुँदा दैनिक ४ हजार युवा शक्ति वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको परिवर्तनका लागि नयाँ सोच र खोज अभियानका संयोजक तथा पत्रकार रमेश भारतीले बताएका छन् ।
राजनीति संवेदनशीलता र सम्भावनामा दुवै अवसर र चुनौतीले भरिएको हुन्छ । एउटा कुशल राजनीतिज्ञले शासकीय नेतृत्व गर्ने पार्टी हरेक निर्वाचनपछि सत्तालृप्त हुँदा नेपाली जनताले परिर्वतन र विकासबाट जहिले टाढिनु परेको उनले बताए ।
व्यक्तिको शक्तिले होइन कि व्यवस्थाको बलले देशमा सुशासनको अभ्यास र समुन्नतिको जग बस्ने उनले बताए । ‘कुशल नेतृत्व रित्तो दिमाग बोकेर सिंहदरबार प्रवेश गर्दैन । त्यस्तो नेतृत्वले कर्मचारीका एजेण्डामा मात्र होइन कि जनताबाट प्राप्त म्यान्डेटको भारी बोकेर सिंहदरबार प्रवेश गर्छ । एउटा कुशल नेतृत्वले आफूले शासकीय राजकाज सम्हाल्नुभन्दा पहिले समयको महत्व र मागलाई अध्ययन गरेर तयारी गर्दछ ।’ उनले भने ।
नेतृत्वले देखाउने देशभक्ति र राष्ट्रियता फरक हुन सक्छन् । तर जनताका धेरै कुरा सुन्न चाहन्छ । नीति, कार्यक्रम र बजेटमा ती कुराहरूलाई उतार्न चाहन्छ । नतिजाहरूको न्यायोचित वितरण, समीक्षा र कार्यान्वयन हुनुपर्ने उनको माग छ ।
यस्तै, नेपालमा पछिल्लो ३० वर्षमा २८ सरकार परिवर्तन भएको दृष्टान्त छ । यही नियतिलाई सम्बोधन गर्न संविधानमा दुई वर्षसम्म सरकारको अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था अभियानका संयोजक कृष्ण बजगाईले औंल्याएका छन् ।
राजनीति र प्रशासनिक नेतृत्वहरूले आफूखुशी निर्णय गर्दा बेथिति र कुशासनले चरम सीमा नाघिरहेको छ । मौलाउँदो कुशासन र खस्किंदो सुशासनलाई सुधार गरी कानुनी शासन र सुशासनको जग बसाल्ने नेतृत्व आवश्कता रहेको उनले बताए ।
‘हरेक निर्वाचनबाट परिवर्तन आस गरेका जनता निराश हुनुपर्ने अवस्था सिर्जना भएको भयो । आगामी निर्वाचनबाट देशमै उद्यमी गर्ने वातावरण बहोस अथवा जनता र उद्यमीको मर्म बुझने नेतृत्व आवश्यक छ ।’ उनले भने ।
यसैगरी, आगामी निर्वाचनबाट देशको मुहार फेर्ने र उद्यमीमैत्री कानुनलाई प्रथामिकतामा राख्ने नेतृत्व आउनुपर्ने युवा व्यवसायी तथा अभियानका सहसंयोजक दिपेन्द्र श्रेष्ठले बताएका छन् । खबरदारी सभामा बोल्दै उनले राजनीतिमा उमेरभन्दा पनि अनुभव र सेवा गर्ने भावना महत्वपूर्ण हुन्छ ।
अहिले हामीले के आवश्यक छ भन्ने योजना आगामी निर्वाचनपछि आउनुपर्ने उनले बताए । ‘स–साना घटनाक्रमले पनि राजनीति र सामाजिक परिवेशलाई संवेदनशील बनाइरहेको छ । हामीले त यही देशमा आर्थिक उन्नति खोजीरहेको हौं । यहाँ सम्भावना भएपनि विभिन्न कारणले अहिले समस्या देखिएको छ ।
आगामी निर्वाचनपछि त्यो समस्या समाधान गर्ने नेतृत्व आउनुपर्छ ।’ उनले भने । साथै, नेपालमा दशकैपिच्छे व्यवस्था बदलियो तर अपेक्षा अनुरूप जनताको अवस्था बदलिएन भन्ने भाष्य स्थापित भएको छ ।
आगामी निवार्चनपछि देशमा यस्तो स्थीति नआहोस भन्ने हाम्रो खबरदारी भएको मौरि पालन व्यवसायी तथा अभियानकी सहसंयोजक सरिता भटट्राईले बताइन् । संविधानका अक्षरहरूमा भुईंमान्छेका अनगिन्ती हक र अधिकारको सुनिश्चित गरिएको छ ।
तर तीनै नागरिकका हकमा त्यो लागू नहुँदा नेपालमा उद्यमी र अर्थतन्त्रमा सुधार प्रभावकारी, प्रतिफलमुखी र सुनिश्चित नभएको उनको भनाइ छ । संविधानकै प्रावधान अनुरूप तीन तहका सरकारहरु छन् । विकास र व्यवसायीले फड्को मार्न नसकेको डा.नितिन गौरवले बताएका छन् ।
आमअपेक्षालाई पूर्णरूपमा सम्बोधन गर्न सकेको छैन । तर, प्रक्रिया र अभ्यासमा विस्तारै भनेर उद्योग र उद्यमी विकास समस्या सिर्जना भइरहेको छ । यही समस्याको समाधान खोज्न हामीले खबरदारी सभा गरेको उनले बताए ।
‘राजनीति र प्रशासनिक नेतृत्वहरूले आफूखुशी निर्णय गर्दा बेथिति र कुशासनले चरम सीमा नाघिरहेको छ । कानुनी छिद्रबाट स्वार्थप्रेरित शासन गर्न चाहने होइन कि कानुनको यथार्थ अभ्यास र सुशासनमा जिम्मेवार नेताको खाँचो सबैतिर छ ।’ उनले भने ।
समयानुकूल नेतृत्व नहुँदा नवपुस्तालाई राजनीतिप्रति आकर्षण कम हुँदै गएको जेनजी युवा ओपेन्द्र शाहले बताएका छन् । सत्ता संघर्षमा खोचे थापिरहँदा आमरूपमा आक्रोश बढ्दो छ । यसको मर्कामा युवा पुस्ता परेको उनले बताए । ‘छोटो समयमा नै सरकार परिवर्तन हँुदा देशको विकासमा असर परेको छ ।
जनताका अपेक्षा र सरकारका नीतिहरूमा तालमेल देखिंदैन । जसका कारण शिक्षा, स्वास्थ्य जस्ता संवेदनशील निकायमा चरम राजनीतीकरणले समाजलाई विद्रुप पारिरहेको हो ।’ उनले भने ।
राजनीतिक परिवर्तन नहुँदा आम मानिसमा भने वितृष्णा बढ्दो छ । यसका मुख्य कारण भनेकै देशमा विकास नहुनु हो । माटो सुहाउँदो मौलिक र दिगो विकासको नेतृत्व हालसम्म देखिएन । स्वदेशमै पौरख र पसिना बगाउन तयार कोही युवा नहुनुको कारण भनेकै आर्थिकमा कमजोरी भएर भन्ने हो ।
यस्ता विषय सुधार्ने आगामी नेतृत्व आवश्यक छ भनेर परिवर्तनका लागि नयाँ सोच र खोजले खबरदारी सभा गरेको हो । संघीयताको , राजनीतिक र प्रशासनिक विकेन्द्रीकरण र सबलीकरणमा भन्दा दोहन र दुरुपयोगमा प्रादेशिक संरचना व्यस्त देखिन्छ ।
यसैका कारण रोजगारी सिर्जना भएन । त्यही भएर दैनिक ४ हजार युवा ठगिदै वैदेकि रोजगारीमा जानुपर्ने बाध्यता छ । राजनीतिलाई नयाँ गति, ऊर्जा र आशा जगाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न एवम् राजनीतिमा नयाँ र युवा पुस्ताको भूमिका तथा सहभागिता सुनिश्चित हुने गरी सैद्धान्तिक, वैचारिक र सांगठनिक रूपमा नै नयाँपन र दृष्टिकोण दिनसक्ने नेतृत्व चाहिएको भन्दै अभियान खबरदारी सभा परेको संयोजक भारतीले बताए । संघीयताको मर्म र जनभावना अनुरूप सुशासनको प्रत्याभूत गर्नुभन्दा झन् बढी अनियमितताको नाइके बनिरहेका छन् ।
यस्तो बेथितिलाई चिर्न र संघीयतालाई सबल बनाउन एउटा निडर नेतृत्व नवपुस्ताका लागि हाम्रो खबरदारी भएको उनको भनाइ छ । राज्यको अर्थ उपार्जन राजस्वको दायरा बढ्दै गए पनि आन्तरिक उत्पादन र स्थिरता सोचे जस्तो छैन ।
हामीले उदाहरण प्रस्तुत गर्ने देश सिंगापुर, मलेसिया, अरबी मुलुक, दक्षिण कोरियाको द्रुत विकास कृषि र औद्योगिक व्यापारको व्यवस्थापन नै हो । अभियानले कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधि नेपालको आर्थिक विकासका प्रमुख आधार भए पनि हरेक निर्वाचनपछि यी क्षेत्र उपेक्षित हुँदै आएको जनाएको छ ।
स्वदेशमै रोजगारी सिर्जना, राजनीतिक नातावाद र विचौलियाको अन्त्य, स्वदेशमै विश्वविद्यालय स्थापना तथा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने माग अभियानले अघि सारेको छ । सभामा प्रस्तुत अवधारणाअनुसार सत्ता फेरिँदै आए पनि प्रणाली नबद्लिँदा न त विकास आयो, न त अपेक्षित परिवर्तन भयो ।
यस्तो अवस्था अब स्वीकार्य नहुने उल्लेख गर्दै अभियानले स्वदेशमै पुँजीअनुसारको लगानी, वैदेशिक रोजगारीको विकल्प खोज्ने नीति, कृषिमा उत्पादन वृद्धि, पर्यटन विस्तार, कर प्रणाली सुधार, गाउँ–सहर जोड्ने द्रुतगतिको राजमार्ग निर्माण, प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच शय्याको स्वास्थ्य चौकी स्थापना, व्यवहारिक शिक्षाको सुरुवात तथा ६७ वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरेको छ ।
अभियानले पुराना सोच, नीति र अनुहारले देश परिवर्तन गर्न नसकेको, विकास नारामै सीमित भएको तथा भ्रष्टाचार, दण्डहीनता र बेथितिका कारण राज्यप्रतिको भरोसा कमजोर बन्दै गएको निष्कर्ष समेत निकालेको छ । युवाशक्ति विदेशिन बाध्य हुँदा देश सम्भावनाविहीन बन्दै गएको भन्दै यसको विरोधमा जनचेतना फैलाउने, शासनप्रति खबरदारी गर्ने र नयाँ विकल्पको खोज गर्ने उद्देश्य अभियानको रहेको जनाएको छ ।
सुशासन र जवाफदेहिताका लागि भ्रष्टाचार र शक्ति दुरुपयोगविरुद्ध स्पष्ट आवाज उठाउने, युवाहरू, बुद्धिजीवी र आमनागरिकलाई परिवर्तनको प्रक्रियामा सक्रिय बनाउने तथा अहिंसात्मक र लोकतान्त्रिक माध्यमबाट सुधारको माग अघि बढाउने प्रतिबद्धता पनि अभियानले व्यक्त गरेको छ
