`

नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री अर्याल

Nepal One HD २२ माघ २०८२ १३:३५
प्रमुख खबर

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन्। बिहीवार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवमा उहाँले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएका हुन्।

प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भुमिका स्मरणीय र प्रशंसनीय रहेको गृहमन्त्री अर्यालको भनाइ छ । हाल दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभुत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको उहाँले बताए ।

नविनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको भन्दै उहाँले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकास र स्थायित्वको आधारस्तम्भ भएको उनको भनाई छ । गृहमन्त्री अर्यालले आगामी दिनमा पनि ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अत्याधुनिक सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताए । प्रतिष्पर्धी बजारमा नेपाल टेलिकमले आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनलाई सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।

कम्पनीको वृहत सञ्जाल, पूर्वाधार, दक्ष मानव संसाधन र बजार सम्भावनाको कुशल व्यवस्थापनमार्फत प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्न उनले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *