`

प्रेस चौतारी नेपाल २८ वर्षमा प्रवेश, जनपक्षीय भूमिकालाई अझ सुदृढ बनाउने प्रतिबद्धता

Nepal One HD २२ माघ २०८२ १९:५३
समाचार

काठमाडौं । नेपाली श्रमजीवी पत्रकारहरूको नेतृत्वदायी संगठन प्रेस चौतारी नेपाल २८ वर्षमा प्रवेश गरेको छ ।

‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको संगठनले २८ वर्ष पुगेको अवसरमा पत्रकारिताको व्यावसायिकता, प्रेस स्वतन्त्रता र जनपक्षीय भूमिकालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

स्थापना दिवसका अवसरमा अध्यक्ष गणेश पाण्डेले विज्ञप्ति जारी गरी प्रेस चौतारी नेपाल अग्रजहरूको संघर्ष, त्याग र बलिदानका कारण आज श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको सबैभन्दा भरोसायोग्य संगठनका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।

अध्यक्ष पाण्डेले संस्थापक अध्यक्ष स्वर्गीय विजय चालिसे, संस्थापक अग्निशिखासहित संगठनको हितमा योगदान पुर्‍याउँदै जीवन गुमाएका सबै व्यक्तित्वहरूप्रति श्रद्धाञ्जली अर्पण  गरे ।

साथै पूर्वअध्यक्षहरू शम्भु श्रेष्ठ, डा. बालकृष्ण चापागाईँ, गगन विष्ट, राजेन्द्र अर्याल, निवर्तमान अध्यक्ष गणेश बस्नेतलगायत सम्पूर्ण संस्थापक सदस्य, अग्रज, पूर्वपदाधिकारी र सदस्यहरूप्रति सम्मान व्यक्त गरेका थिए ।

शुभकामना सन्देशमा संगठनलाई निरन्तर सक्रिय र गतिशील बनाइराख्न भूमिका खेलेका केन्द्रीय समिति, आयोग, प्रदेश, जिल्ला तथा नगर समितिका पदाधिकारी तथा सदस्य, शुभेच्छुक, समर्थक र सञ्चार क्षेत्रका सरोकारवालाप्रति आभार व्यक्त गरिएको छ ।

प्रेस चौतारी नेपालले स्थापनाकालदेखि नै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, प्रेस स्वतन्त्रता, व्यावसायिक मर्यादा र जनपक्षीय पत्रकारिताको स्पष्ट मार्गरेखा तय गर्दै यात्रा अघि बढाउँदै आएको अध्यक्ष पाण्डेको भनाइ छ ।

बदलिँदो राजनीतिक, सामाजिक र प्रविधिगत परिवेशमा पत्रकारितामाथि चुनौती बढ्दै गएको उल्लेख गर्दै उहाँले गलत सूचना, अफवाह र नियोजित भ्रमविरुद्ध सत्य र तथ्यमा आधारित पत्रकारिताको भूमिका अझ महत्त्वपूर्ण बनेको बताए ।

यही सन्दर्भमा २०८२ साललाई प्रेस चौतारी नेपालले ‘प्रशिक्षण वर्ष’ का रूपमा मनाउने निर्णय गरेको जानकारी पनि सन्देशमा दिइएको छ । युवा पत्रकारहरूको सशक्तीकरण, संगठनको संस्थागत सुदृढीकरण र जनविश्वास अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइने अध्यक्ष पाण्डेले स्पष्ट पारे ।

देशको समसामयिक राजनीतिक अवस्थाप्रति ध्यानाकर्षण गर्दै सन्देशमा भूराजनीतिक दबाब र प्रतिनिधिसभा निर्वाचनको अन्योलबिच सही पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याइएको छ । यस्तो अवस्थामा प्रेस चौतारी नेपालले साहस, अनुशासन र परिणाममुखी भूमिकालाई आत्मसात् गर्नुपर्ने अध्यक्ष पाण्डेको आग्रह छ ।

यसैबिच निर्वाचन आचारसंहिता र निर्वाचन आयोगको सुझावअनुसार यस वर्ष केन्द्रीय समितिबाट प्रदान गरिँदै आएका पुरस्कार फागुन २१ गतेपछि मात्रै वितरण गरिने जानकारी पनि प्रेस चौतारी नेपालले दिएको छ । संगठनले हरके वर्ष विभिन्न विधामा पत्रकारिता पुरस्कार दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *