`

बैतडी दुर्घटना अपडेट : यी हुन ८ जना मृतक (नामवलीसहित)

Nepal One HD २२ माघ २०८२ २२:४०
बिशेष

काठमाडौं । बैतडीमा जन्ती लिएर फर्किँदै गरेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडबाट दुई सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता बलदेव बडूले दिएको जानकारी अनुसार ६ जनाको घटनास्थलमै र अन्य दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकमध्ये एक जना महिला र सात जना पुरुष छन् । मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ बस्ने ४० वर्षीय केशव जोशी, सोही ठाउँका १३ वर्षीय अशोक जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन् ।

केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिकाका–७ का वसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ कि ४० वर्षीया पुष्पा अवस्थी रहेका छन् ।

दुर्घटना भएको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस हो । दुर्घटनामा ४५ जना घाइते भएका छन् । उनीहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै थियो । उकालो बाटोमा भार अधिक हुनाले दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

घटनाप्रति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनाको खबरले दुःखी भएको बताए ।

‘बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस स्थानिय बडुगाउँमा दुर्घटनाग्रस्त भएको खबरले निकै दुखि भएको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा भने, ‘दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

उनले घाइतेहरूको तत्काल उद्धार गरी आवश्यकता अनुसारको उपचारको प्रबन्ध गर्न सरकारको ध्यानकर्षण गराए ।

अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहालले पनि बैतडी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आफू मर्माहत भएको बताए ।

‘बैतडीको पुर्चौैडीबाट बझाङतर्फ गइरहेको जन्ती बोकेको बस बडुगाउँमा दुर्घटनाग्रस्त भई ठूलो मानवीय क्षति भएको दुःखद खबरले म अत्यन्तै मर्माहत बनेको छु,’ उनले भने, ‘जिल्ला प्रशासनसँग सम्पर्क गर्दा मृतक तथा घाइतेहरूको संख्या अझै यकिन हुन सकेको छैन भन्ने जानकारी प्राप्त भएको छ ।’

उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, उपचार तथा आवश्यक समन्वयका लागि बैतडीस्थित नेकपाको समितिलाई आवश्यक पहल लिन निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *