हिन्दु धर्मगुरुले राजतन्त्र र हिन्दुराज्यको आवाज देशमा छ भन्दा रवि हँसमुख !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, श्रीमती निकिता पौडेलसहित उक्त दलबाट चितवनको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका नेताहरूसामु हिन्दु धर्मगुरुले प्रकट गरेको विचार यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल छ ।
भिडियो बुधबार खिचिएको हो । ती हिन्दु धर्मगुरुले प्रकट गरेको विचारका आधारमा उनी नेपालमा राजा चाहन्छन् । देश फेरि हिन्दुराष्ट्र भएको देख्न चाहन्छन् । अर्थात् उनी राप्रपाका कट्टर समर्थक धर्मगुरु हुन् । किनभने यी दुवै एजेण्डा नेपालको राजनीतिमा राप्रपाले बोकेको छ ।
तर, रास्वपाको घोषणापत्र र अन्य राजनीतिक दस्तावेजले ती धर्मगुरुले भने जसरी देशमा राजा र हिन्दुराष्ट्र पुनःस्थापनाको एजेन्डा बोल्दैन ।
ती हिन्दु धर्मगुरुले प्रष्टै भनेका छन्, ‘नेपालमा कमसेकम हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्ने आवाज छ । राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने जनताको आवाज छ ।
धर्मसापेक्ष हुनुपर्ने आवाज छ । त्यसो हुनाले तपाईंले यस्तो कुरालाई बुझेर, मनन गरेर । अहिलेसम्म धेरै कुरा गरेँ, कुनै पार्टीले हिन्दुराष्ट्र भन्न नसक्नु, हिन्दु हाम्रो वैदिक सनातनदेखि चलेको धर्म हो यो, धर्म मेटिए केही पनि छैन ।
त्यसो हुनाले यसलाई तपाईंले अगाडि बढाउने हो भने तपाईंप्रति आशा छ र तपाईंले अगाडि बढाउनुहोला । जनता उत्साहजनक छन् ।
धर्म गुरुले देशलाई हिन्दुराष्ट्रसँगै राजतन्त्रात्मक देश बनाउन सुझाउँदा रास्वपा सभापति लामिछाने पूरै हँसमुख देखिए । घरीघरी मुन्टो हल्लाउँदै उनले मौन स्वीकृति जनाएको सन्देश प्रवाह गरे ।
लामिछानको दल रास्वपा घोषणापत्रको आधारमा ‘धर्मनिरपेक्षपन्थी’ हो । तर, दलको घोषणा गरेको स्थल ‘पाशुपत’ क्षेत्र र चुनाव चिह्न ‘घण्टी’ हुँदा हिन्दुराष्ट्र पुनःस्थापनातिर दलीय झुकाव रहेको कतिपयको टिप्पणी हुने गरेको छ ।
उसो त २०७८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत)ले हिन्दु धर्म मान्छन् ।
भलै यो तथ्याङ्कलाई आदिवासी जनजाति समुदायले मिथ्याङ्क भन्छन् । तर, बहुसंख्यक हिन्दु धर्मावलम्बी जनमत नेपालमा छ । त्यसो हुँदा रास्वपा सभापति लामिछानेले मौन स्वीकृति जनाएर कतै हिन्दु धर्मावलम्बीहरूको मत तान्ने रणनीति त अपनाएको होइन ? टिप्पणी भइरहेको छ ।
पछिल्ला निर्वाचनहरूको मत विश्लेषण गर्ने हो भने कट्टर हिन्दु धर्मावलम्बी मतदाताहरूले नेपाललाई हिन्दुराष्ट्र र राजतन्त्रात्मक व्यवस्थामा लान सक्ने विश्वाशिलो दलको खोजी गरिरहेका छन् ।
यो मनोभावना बुझेर लामिछाने आफ्ना उम्मेदवारहरूसहित मन्दिर गएको देखिएको छ ।
