`

रक्षा बमले रास्वपा समर्थकहरूलाई भनिन्-अपराध भनेको अपराध नै हो, कारबाही हुनैपर्छ

Nepal One HD २३ माघ २०८२ १५:१५
बिशेष

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको प्रचारमा प्रयोग गरिएको गाडीले एक चार वर्षीया बालिकालाई ठक्कर दिएको र उनको ज्यान गएको घटनामा सत्य ढाकछोप गर्ने प्रवृत्ति देखिएको भन्दै कडा आलोचना गरेकी छिन् ।

रास्वपा नेता, कार्यकर्ता र समर्थकहरूप्रति लक्षित गर्दै उनले अपराधलाई अपराधकै रूपमा हेर्नुपर्ने र दोषीलाई राजनीतिक संरक्षण दिन नहुने स्पष्ट पारेकी छन् ।

बमले कुनै पनि राजनीतिक दलमा आवद्ध हुँदैमा सत्यलाई गलत र गलतलाई सही साबित गर्ने प्रवृत्ति न्यायका लागि खतरनाक भएको बताएकी छन् । ‘ सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति होइन, केवल अन्धभक्ति मात्रै बाँकी रहन्छ,’ उनले स्टाटसमा भनेकी छन् ।

नेकपा एमालेका कोशी प्रदेशका मन्त्री राम राना सवार गाडीले ललितपुरमा एक बालिकालाई ठक्कर दिएको घटनालाई लिएर अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले त्यसबेला आक्रोशित बनाएको भन्दै बमले रौतहटमा नाबालिका मारिएको घटनामा रास्वपा नेताहरूबाट आएको अभिव्यक्तिले पनि त्यस्तै बनाएको बताएकी छिन् ।

उनले आज फेरि त्यस्तै गल्ती दोहोरिएको बताइन् । उनले ठक्कर दिने गाडीका चालकलाई कारबाही हुनुपर्ने माग राखेकी छन् ।

‘याद राख्नुहोस् साथीहरू, तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो । कसुर अनुसार कारबाही हुन्छ, हुनैपर्छ,’ उनले जोड दिएकी भनिन् ।

सरकारले घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै उनले राजनीतिक खोल ओढेर दोषिलाई उन्मुक्ति दिन काम नगर्न चेतावनी दिएकी छन् ।

नाबालिकालाई ठक्कर दिएको सीसीटीभी फुटेज यतिबेला भाइरल छ, जहाँ घुम्ती सडकमा बायातिरबाट नाबालिका आएको देखिन्छ । तीब्र गतिको रास्वपा उम्मेदवारको प्रचारमा प्रयोग भएको गाडीले ठक्कर दिन्छ ।

पछाडिको टायरले नाबालिकालाई पेलेको देखिन्छ । लगत्तै सडक किनारामा बसिरहेका मानिसहरू आएर नाबालिकालाई उद्धार गर्छन् । तर, उनको मृत्यु भइसक्छ ।

यही भिडियो हेरेर यतिबेला रास्वपा नेताहरूको आलोचना भइरहेको छ । रास्वपा समर्थक र अन्यबीच सामाजिक सञ्जालमा घोचपेज चलिहरेको छ ।

भिडियो सार्वजनिक भएपछि रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार घटनाले स्तब्ध भएको भन्दै पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *