सार्वजनिक सेवा प्रवाहमा सुधार नहुँदा असन्तोष बढेको होः उपाध्यक्ष श्रेष्ठ
काठमाडाैं । रष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा तत्काल सुधार आवश्यक रहेको बताउँदै दैनिक जनजीवनसँग जोडिएका आधारभुत सेवाहरूमा देखिएको समस्या सम्बोधन गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
उनले ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्र जस्ता सेवामा लामो लाइन, झन्झटिलो प्रक्रिया र व्यवस्थापनको अभावका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको बताएका हुन् । उनका अनुसार सरकारले ठूला–ठूला कुरा गर्ने भन्दापनि सामान्य सार्वजनिक सेवामा सुधारमा जोड दिनुपर्छ । सार्वजनिक सेवा सुधारमा विगतदेखि नै सरकारहरुले ध्यान दिन नसक्दा जनतामा असन्तोष बढाइरहेको उनको भनाइ छ । श्रेष्ठले व्यवसाय क्षेत्रतर्फ संकेत गर्दै राजनीति र व्यवसायबीचको अत्यधिक घनिष्ठ सम्बन्धले नकारात्मक सन्देश फैलिरहेको समेत बताए ।
उनका अनुसार राजनीतिक लबिङ र प्रभावका आधारमा व्यवसाय चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । अब उद्योगी व्यवसायीहरु नविनता र सिर्जनशील बन्न जरुरी छ । व्यवसायीहरूले अब प्रोफेसनलिज्म अपनाउनुपर्छ र नवप्रवर्तनमा ध्यान दिनुपर्छ । ‘सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नुपर्नेछ, ठूलाठूला कुरा आउने गरेका छन्, ति पूरा पनि गर्नुपर्ला तर सामान्य सार्वजनिक सेवा प्रवाह सुधार गर्न नसकिरहेको अवस्था छ,’उपाध्यक्ष श्रेष्ठले भने,’जस्तै ड्राइभिङ लाइसेन्स, पासपोर्ट, राष्ट्रिय परिचयपत्रमा हेर्ने हो भने त्यहाँ लाइन हुने गरेको छ । त्यहाँ सार्वजनिक सेवा लिन लामो लाइन बस्नुपर्ने, झन्झटिलो व्यवस्थाका कारण लामोलाइन बस्नुपर्ने अवस्था छ ।’
उनले भदौ २३ र २४ बाट पाठ सिकेर संचार क्षेत्र पनि धेरै जिम्मेवार हुन जरुरी रहेको बताए। श्रेष्ठका अनुसार अहिले धेरै असन्तोष आउनेमा संचारमाध्यम पनि जिम्मेवार छन् । नेपालमा केही नभएको जस्तो भाष्य संचारमध्यमले गराइरहेको श्रेष्ठको भनाइ छ ।
