नेकपा सबैभन्दा नयाँ हो, गणतन्त्रको वाहक हो : प्रचण्ड (भिडियो)
काठमाडौं । देशको राजनीतिमा नयाँ र पुरानो दल भन्ने भाष्य स्थापित छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि जनता समाजवादी पार्टी, नेपाललगायत दललाई पुराना भन्न थालिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीलगायतले आफूलाई नयाँ भन्ने गरेका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मत माग्दा अब पुरानालाई नभई नयाँलाई दिनु भन्ने गरेको सुनिन्छ । यस्तोमा कांग्रेस, एमाले, नेकपालगायत दलहरूले प्रतिवाद गर्ने गरेका छन् ।
मंगलबार मात्रै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ कुनै विचार, सिद्धान्त र राजनीतिक मुद्दा नभएको बताए । नयाँ त पुरानाको विरोध गर्नु मात्रै भएको भन्दै कटाक्ष गरे । तर, नाम, विचार र आन्दोलनको दृष्टिले भने नेकपा नयाँ भएको तर्क गरे ।
‘पार्टी त हाम्रो सबैभन्दा नयाँ पार्टी भयो, नेपाली कम्युनिस्ट पार्टी । यो भन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन । नामकै दृष्टिले पनि पहिलोपटक नेपाली कम्युनिस्ट पार्टी भनेर हामीले नेपाली भाषा व्याकरणको दृष्टिकोणले सबै खालका पुच्छर हटाएर नयाँ भयौँ, गठन भएको पनि कात्तिक १९ गते सबैभन्दा नयाँ पार्टी भयो । विचारको हिसाबले भन्दा पनि यो पार्टीको भन्दा नयाँ विचार अरु कसैको पनि छैन । संघीय लोकतान्त्रिक गणतन्त्रको वाहक पार्टी ।’
उनले नेकपाभन्दा नयाँ विचार अर्को दलको नभएको बताए । तर, सामाजिक सञ्जालका माध्यमबाट एउटा भाष्य बनाउन खोजेको भन्दै असन्तुष्टि पोखे ।
‘नयाँ भनेको विचार होइन, नयाँ भनेको मान्यता होइन, सिद्धान्त होइन, राजनीतिक मुद्दा होइन । नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको छ ।’
राजनीति, इतिहास र सामाजिक क्रान्तिको विज्ञानमा निर्णायक कुरा राजनीतिक विचार र मुद्दा नै भएको प्रचण्डले दाबी गरे ।
