अमेरिकासँग आणविक सम्झौतामा हुने अनुमान इरानले गर्याे खारेज
काठमाडौं । इरानले अमेरिकासँग अप्रत्यक्ष आणविक वार्तामा अन्तरिम (अस्थायी) सम्झौता गर्ने सम्भावनाबारे फैलिएका हल्ला र अड्कललाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।
इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्ता अड्कलहरूको कुनै आधार नभएको बताए । उनले भने, ‘अन्तरिम सम्झौताबारेका अड्कलहरू निराधार छन् । कुनै पनि वार्ताको विवरण वार्ताको टेबलमा नै छलफल हुन्छ ।’
उनले दुवै पक्षले सद्भावना देखाएमा आगामी दुई–तीन दिनभित्र अर्को चरणको वार्ता गर्न सकिने आशा रहेको बताए । इरान कुटनीतिक वार्ताबाट अघि बढ्न प्रतिवद्ध रहेको तर आफ्ना वैधानिक अधिकारहरूबाट कहिल्यै पछि नहट्ने उनको जोड थियो ।
अमेरिका र इरानबीच अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरण बिहीबार जेनेभामा हुने अपेक्षा गरिएको छ ।
यसैबीच पश्चिम एसिया क्षेत्रमा अमेरिकी सैन्य शक्ति बढाइएको छ । इरानले कुटनीतिमार्फत समाधान खोज्ने तर दबाबमा नआउने अडान दोहोर्याएको छ ।
सिन्ह्वा
