रास्वपा उम्मेदवार हेमराज थापाले सार्वजनिक गरे बाजुरा परिवर्तनका ८ एजेण्डा
काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बाजुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हेमराज थापाले चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।
उनले जिल्लाकाे स्वास्थ्य, पर्यटन, कृषि, शिक्षा, महिला सशक्तिकरण, सञ्चार, सडकलगायत क्षेत्रमा पाँच वर्षभित्र गर्न सकिने कार्यहरुलाई एजेण्डामा समावेश गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा प्रत्येक वडामा हेल्थ पोष्ट स्थापना तथा स्तरोन्नति, २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन, आधारभूत औषधि निःशुल्क उपलब्धता र गर्भवती महिला तथा बालबालिकाका लागि पोषणयुक्त खाघ वितरण गर्ने उनकाे एजेण्डा छ ।
बडिमालिका मन्दिर, बुडीगन्दा ताल र राणिशेगजस्ता धार्मिक तथा प्राकृतिक स्थलहरूको प्रचार प्रसार गर्दै ट्रेकिङ, बन्जी, घोडा-खच्चर यात्रा, स्थानीय होटल-लज र युवा गाइडर तयार गरेर रोजगारी सिर्जना गरी पर्यटन प्रवर्द्धन गर्ने बताए ।
कृषि क्षेत्रमा स्थानीय हावापानीअनुसार उन्नत र जैविक खेती प्रवर्द्धन गर्दै कृषक सहकारी मार्फत कलस्टर फार्मिङ विस्तार गर्ने, सिचाई सुविधा र कृषि पूर्वाधार विकार गर्ने, हिमाली क्षेत्रमा स्याउ, ओखर, आलु, फापर र कोदोजस्ता उच्च मूल्यका फलफूल तथा अन्नबालीको उत्पादन, प्रशोधन र बजारीकरणलाई प्राथमिकता दिने. जडीबुटी प्रशोधन तथा निर्यात प्रोत्साहन गर्ने, पशुपालनमार्फत मासु तथा दुग्धजन्य उत्पादन गर्ने पनि एजेण्डामा उल्लेख गरेका छन् ।
प्रत्येक वडामा भौगोलिक अवस्थाअनुसार विद्यालय स्थापना तथा स्तरोन्नति, आवासीय र डिजिटल शिक्षाको व्यवस्था, समावेशी कोटा प्रणालीमार्फत सबै विद्यार्थीलाई समान अक्सर छात्रवृत्ति विस्तार र दक्ष शिक्षकसहित गुणस्तरीय शिक्षण सुनिश्चित गरी समग्र शैक्षिक सफलता हासिल गर्ने भनिएकाे छ ।
महिला सशक्तिकरणका लागि स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, सहकारी र क्लस्टर खेतीमा महिला नेतृत्व, सीप तथा स्वास्थ्य, सचेतना विस्तार, कुरीति अन्त्य अभियान र कृषि पशुपालन आधुनिकीकरणमार्फत बजार पहुँच सुनिश्चित गर्दै महिला उद्यमशीलताबाट सामाजिक-आर्थिक रुपान्तरण गर्ने उनकाे एजेण्डापत्रमा उल्लेख छ ।
सञ्चार क्षेत्र सुदृढीकरणका लागि मोबाइल टावरहरुमा सोलार प्रणाली सुधार गरी राष्ट्रिय प्रसारणा लाइनसँग जोडेर स्थायीत्त्व दिने, सबै वडामा बलियो फाेर्जी नेटवर्क विस्तार गर्ने,
मुख्य राजमार्ग तथा दुर्गम बस्ती जोड़ने पक्की सडक विस्तार, नदी र खोलामा फलामे पुल निर्माण, पहिरो रोकथामका लागि आधुनिक प्रविधि रिटेनिङ वाल, ड्रेनेज प्रणाली प्रयोग गरी दिगो सुरक्षित र सर्वसुलभ पूर्वाधार विकास गर्ने बताए ।

