काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन्द्र शाह (बालेन)ले पूर्वी नेपालको कृषि, उत्पादन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।
मङ्गलबार सुनसरीकाे इटहरीमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले स्थानीय उत्पादनले स्थानीय बजार नपाइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे।
उनले भने, ‘पाँचथर, इलामलगायत पूर्वी पहाडमा उत्पादन भएका तरकारीहरू यहीँ मुनि तराईकाे झापा, सुनसरी, विराटनगरमा खान पाइएको छैन, यो दुःखको कुरा हो। यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’
धान उत्पादनको सम्भावनाबारे बोल्दै शाहले पूर्वी तराईका तीन-चार जिल्लाले पूर्ण क्षमतामा उत्पादन गरे देशभरलाई पुग्ने दाबी गरे। ‘पूर्वी तराईका तीनवटा, चारवटा जिल्लाको फुल पोटेन्सियलमा धान उत्पादन गर्ने हो भने देश भरिलाई खान पुग्छ,’ उनले भने, ‘तर विडम्बना, यही खान पुगेको छैन।’
उनले पूर्व क्षेत्रको आर्थिक सम्भावना औंल्याउँदै पर्यटन, कृषि र उत्पादनलाई आयआर्जनको आधार बनाउन सकिने बताए। ‘हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, उब्जाउ गरेर पनि पैसा कमाउन सकिन्छ, उत्पादन गरेर पनि पैसा कमाउन सकिन्छ,’ उनले भने, ‘यो तीनवटै काम गरेर देखाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले।’
धार्मिक तथा सांस्कृतिक आस्थाका केन्द्रहरूको संरक्षण र प्रवर्द्धनमा पनि जोड दिँदै उनले सबै नेपालीले साझा रूपमा आस्था राख्न सक्ने वातावरण बनाउनुपर्ने बताए।
