`

गण्डकीमा चुनावको तयारी तीव्र,१४ हजारभन्दा बढी कर्मचारी खटिने

Nepal One HD १३ फागुन २०८२ ८:०७
राजनीति

गण्डकी। मतदानको दिन आउन ९ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो ।

प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुगिसकेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा जुटेको कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपाने बताउनुभयो ।

मतदान कार्य सञ्चालनका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कर्मचारी व्यवस्थापन र खटनपटनको काम भइरहेको उहाँको भनाइ छ । कतिपय जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भइसकेको छ भने केही जिल्लामा सुरू गर्ने तयारी छ ।

जिल्ला निर्वाचन कार्यालय, बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बुधबार र बिहीबार उक्त तालिम सञ्चालन गरिने बताउनुभयो । तालिम पश्चात यही फागुन १८ गते कर्मचारी सम्बन्धित मतदानस्थलमा पुग्ने उहाँको भनाइ छ । गण्डकीमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन् ।

“बागलुङमा चुनावको करिब ९० प्रतिशत तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “अब मतदानस्थल केन्द्रित तयारी अगाडि बढ्छ ।” अहिले प्रदेशका प्रत्येक वडामा एक जना स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा सञ्चालन भइरहेको छ । मतदान गर्ने सही तरिका सिकाइ बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा दिने गरेको हो ।

चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन हरेक जिल्लामा एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरिएको छ । निर्वाचन सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

सम्बन्धित जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषणसहित आवश्यक रणनीति तयार गरेको छ । “मतदानस्थलको नियमित अनुगमन भइरहेको छ, सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको छ”, उहाँले भन्नुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको सहायक प्रजिअ बरालले बताउनुभयो ।

एकीकृत निर्वाचन सुरक्षा योजना बमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिनेछ । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ ।

गण्डकी प्रदेशका एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् । मतदाताको सङ्ख्या १८ लाख ७० हजार ६५ रहेको छ । गण्डकीमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । अहिलेको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । यहाँ १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *