सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेले नै जलाएः सभापति लामिछाने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाउनुभएको छ ।
उहाँले आज यहाँ आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भन्नुभयो, “सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए ।”
आफूहरू जनतालाई सुशासनको प्रत्याभूति गराउन आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीलाई यसपटक हेर्नुस् परिवर्तन नभए तपाईँहरूको पार्टीमा समाहित हुन्छौँ ।” पाँच वर्ष रास्वपालाई काम गर्ने अवसर दिनसमेत उहाँले मतदातालाई आग्रह गर्नुभयो । जेनजीको भावनालाई आत्मसात् गर्दै परिवर्तनको पक्षमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
त्यसैगरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले नेपालको उत्पादनलाई प्रयोग गर्ने प्रचलन बढाउन आवश्यक रहेको बताउनुभयो । अहिले कृषि र पर्यटन क्षेत्रमा समस्या रहेकाले उहाँले आगामी दिनमा यी समस्याहरूको समाधान गर्न आफूहरूलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।
चितवनले सिङ्गो देशलाई पर्यटन व्यवसाय कसरी गर्ने भनेर सिकाइ रहेको बताउँदै उहाँले चितवनले बदलेको देशलाई सबैले मिलेर सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो घरमा खाने गरेको खानेकुरा पर्यटकलाई बेचेर पर्यटन व्यवसायमात्रै गरेका छैनन्, नेपाललाई विश्वमा चिनाएका छन् । चितवनवासीबाट सिङ्गो देशले सिक्नुपर्छ ।”
किसानले उत्पादन गरेको दूध, तरकारी सडकमा बगाउनुको एउटै कारण तिनै नेताको सिन्डिकेटका कारण भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा जनतालाई भयबाट मुक्त गर्दै आशाको राजनीतिबाट माथि उठाउन आएको बताउनुभयो ।
कार्यक्रममा रास्वपाका नेताहरू सोविता गौतम, हरि ढकाल, गण्डकी प्रदेश अध्यक्ष राजन गौतम, केन्द्रीय समस्य राजन गौतमलगायतले सम्बोधन गरेका थिए ।
