सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न
काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित ३२औँ समूहको तालिममा सर्वाेत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान गर्नुभएको छ ।
कलेजमा आज आयोजित दीक्षान्त समारोहमा उहाँले प्रथम हुने सेनानी दीपेन्द्रविक्रम केसी सर्वाेत्कृष्ट तथा भारतीय सेनाका मेजर अनमोल चौधरीलाई सर्वोत्कृष्ट अन्तरराष्ट्रिय शिक्षार्थी अधिकृतको पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा प्रधानसेनापति सिग्देलले कलेजको वार्षिक प्रकाशन शिवपुरी जर्नलको २७औँ संस्करण विमोचन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही कार्यक्रममा ‘मास्टर इन स्टाटेजिक स्टडिज’मा कार्यक्रमतर्फ प्रथम भएका भारतीय सेनाका मेजर चौधरीलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा दीपक आचार्यले पुरस्कार प्रदान गर्नुभयो ।
‘कमाण्डान्ट पेपर’तर्फ प्रथम भएका सेनानी सञ्जय सिलवाल र सहसेनानी विनोदकुमार गुरागाईंलाई शिक्षाधिकृत उपरथी भुवन खत्रीले पुरस्कार प्रदान गर्नुभयो । उक्त तालिम नेपाली सेनाका ८१, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका एक/एक तथा मित्रराष्ट्र बङ्गलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका गरी सात विदेशीसहित ९१ जना अधिकृतले पूरा गरेका सेनाले जनाएको छ ।
सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट हालसम्म नेपाली सेनाका एक हजार ३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रहरूका १३२ शिक्षार्थी अधिकृत प्रशिक्षित भएका छन् ।
