‘निर्णायक मधेश’ले नै देशको भविश्य तय गर्ने उपेन्द्र यादवकाे दाबी
सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशले नै देशको भविष्य तय गर्ने दाबी गरेका छन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलो अभियानको क्रममा मतदाताहरुलाई सम्बोधन गर्दै राज्यले विगतझैँ मधेशलाई उपेक्षा गरेर समृद्ध देश बन्न नसक्ने बताए।
‘मधेश केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,’ अध्यक्ष यादवले भने, ‘अबको निर्णायक शक्ति मधेश हो र देशको भविष्य पनि मधेशले नै तय गर्नेछ।’
मधेश आन्दोलन, बलिदान र त्यागको स्मरण गर्दै उनले मधेश बलियो भयो भने मात्रै संघीयता बलियो हुने र देश पनि सुरक्षितसँगै समृद्ध हुने बताए।
जसपा नेपालले नै विभेद, उत्पीडन र पहिचानका सवाललाई गाउँगाउँदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएको जिकिर गरेका उनले बालेनलाई लक्षित गर्दै भने, ‘मधेशमाथिको ऐतिहासिक अन्याय र संरचनागत विभेद नस्वीकार्ने र नबुझ्नेहरू मधेशको हितैषी हुनै सक्दैनन्।’
विगतको संघर्षलाई केवल इतिहास नभई भविष्यको आधार भएको भन्दै उनले मधेशलाई उपेक्षा गरेर विकास र समृद्धिको सपना केवल खोक्रो नारा मात्र हुने बताए।
‘जसको एजेन्डामा मधेशको समस्या र उत्पीडनको सवाल स्पष्ट छैन, उसले मधेशको नेतृत्व कसरी गर्छ ? नयाँ दलहरूप्रति संकेत गर्दै उनले भने, ‘केही शक्तिहरूको ध्यान केवल मधेशको भोटमा मात्रै केन्द्रित छ तर मधेशले सदियौँदेखि भोग्दै आएको गरिबी, अशिक्षा, बेरोजगारी र राज्यको विभेदप्रति उनीहरूमा कुनै संवेदनशीलता छैन।’
अध्यक्ष यादवले यो चुनाव प्रतिनिधि छान्ने प्रक्रिया मात्रै नभई मधेशको सम्मान, अधिकार र भविष्य जोगाउने महत्वपूर्ण निर्णायक अवसर भएको बताउँदै मतदातालाई सचेत, एकताबद्ध र दृढ भएर मधेशको अस्तित्व र स्वाभिमानको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
यो निर्वाचनबाट जसपा नेपाल एउटा निर्णायक शक्तिको रुपमा उदाउने अध्यक्ष यादवको दाबी छ।
